युगसम्बाद साप्ताहिक

पार्टी एकीकरण नभए स्थायित्व असम्भव
Tuesday, 12.26.2017, 11:32am (GMT5.5)

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा स्पष्ट बहुमत हाँसिल गरे पनि यी दुई दलबीच एकता नभएमा केन्द्रीय संसद् प्रतिनिधिसभामा कुनै पनि राजनीतिक दलको बहुमत नपुग्ने देखिएको छ । यदि दुई दलबीच एकीकरण भएन भने त्यसले राजनीतिक स्थिरतामा ठूलो प्रश्नचिन्ह खडा गर्नेछ । २०५१ सालदेखिको वर्षको एउटा सरकार बन्ने प्रवृत्ति कायमै रहने देखिएको छ ।
अहिले दुबै पार्टीका शीर्षस्थ नेताहरु एकता भएरै छाड्ने र अबरोधहरु आइरहे पनि त्यसलाई चिर्न सफल हुने दावी गरिरहँदा सरकार आधा आधा अवधि चलाउने विषयले समेत यसमा शंका उत्पन्न गरेको छ । मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कूल २७५ सदस्यीय प्रतिनिधिसभाका लागि निर्वाचन भएको थियो । निर्वाचन अयोगको तथ्यांकअनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक निर्वाचन प्रणाली तर्फको मत परिणाम हेर्दा कुनै पनि दलको स्पष्ट बहुमत छैन । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको कूल १६५ निर्वाचन क्षेत्रमध्ये नेकपा (एमाले) ८०, नेकपा (माओवादी केन्द्र) ३६, नेपाली काँग्रेस २३, राष्ट्रिय जनता पार्टी नेपाल ११ र संघीय समाजवादी फोरम नेपाल १०, नयाँ शक्ति पार्टी नेपाल एक, नेपाल मजदुर किसान पार्टी एक, राष्ट्रिय जनमोर्चा एक र राष्ट्रिय प्रजातन्त्र पार्टी एक तथा स्वतन्त्रले एक स्थानमा विजयी भएका छन् ।
ती राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेका मतका आधारमा एमालेले ४१, नेकाले ४०, माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले छ÷छ सिट पाउने प्रारम्भिक मत परिणामले देखाएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले आयोगले शिघ्र समानुपातिकतर्फको मत परिणामका आधारमा दलले प्राप्त गर्ने सिट संख्या बाडफाँड गरी सार्वजनिक गर्ने जानकारी दिनुभयो ।
दुवै प्रणालीतर्फका परिणामअनुसार प्रतिनिधिसभामा एमाले १२१ सिटसहित सबैभन्दा ठूलो दल बन्नेछ । नेका ६३ सिटसहित दोस्रो ठूलो दल बन्नेछ । त्यस्तै माओवादी केन्द्रले ५३, राजपा नेपालले १७ र संघीय समाजवादी फोरमले १६ सिट प्राप्त गर्ने देखिएको छ ।
संविधानअनुसार कूल २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सदस्य संख्या आवश्यक पर्छ । प्रतिनिधिसभामा तीमध्ये १६५ प्रत्यक्ष र ११० समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन भएको थियो । कुनै एक दलको बहुमत नभएका कारण अब सरकार गठन गर्न कम्तीमा दुई दलको गठबन्धन आवश्यक पर्नेछ ।
संवैधानिक कानूनका ज्ञाता डा भीमार्जुन आचार्य कुनै एकदलको बहुमत नआउनुलाई समानुपातिक निर्वाचन प्रणालीसँगै निर्वाचनमा गठबन्धन हुनु मुख्य कारकतत्व देख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “कुनै एक दलको बहुमत नआएसम्म संविधानअनुसार राजनीतिक स्थायित्वको सम्भावना छैन ।”
निर्वाचनमा प्रत्यक्षतर्फ एमाले बहुमतको नजिक पुगे पनि समानुपातिक प्रणालीतर्फको मत परिणामले बहुमत प्राप्त गर्न सकेन । विसं २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा पनि तत्कालीन माओवादी पार्टीले प्रत्यक्षतर्फ झण्डै बहुमत ल्याए पनि समानुपातिकतर्फ भने बहुमत पुग्न सकेन । 
यसो त नेपालमा विस २०१५ देखि हालसम्म मुलुकमा सात आमनिर्वाचन सम्पन्न भए तर ती सबै निर्वाचनमा नेकाबाहेक कुनै पनि दलले दुई तिहाई र बहुमत प्राप्त गर्न सकेका छैनन् । नेपालमा निर्वाचनको इतिहास हेर्ने हो भने २००७ सालमा प्रजातन्त्रको स्थापनापछि बालिग मताधिकारका आधारमा सर्वप्रथम विसं २०१५ फागुन ७ गते पहिलो संसदीय निर्वाचन भएको थियो ।
कूल १०९ निर्वाचन क्षेत्रमा भएको चुनावमा नेकाले ७४ स्थानमा विजयी भई दुईतिहाइ बहुमत प्राप्त गरेको थियो । त्यस्तै नेपाल राष्ट्रवादी गोर्खा परिषद्ले १९, संयुक्त प्रजातन्त्र पार्टी नेपालले पाँच, नेपाल कम्युनिष्ट पार्टीले चार, नेपाल प्रजापरिषद् (घन कोदालो) ले दुई, नेपाल प्रजा परिषद् (हलो) ले एक र स्वतन्त्रले चार स्थानमा विजय हासिल गरेका थिए ।
विसं २०४६ चैत २६ गते प्रजातन्त्रको पुनःस्थापनापछि २०४८ सालमा प्रतिनिधिसभा निर्वाचन भयो । २०५ सदस्यीय प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेसले ११० स्थानमा विजय हासिल गरी बहुमत प्राप्त ग¥यो । त्यस्तै एमाले ६९, संयुक्त जनमोर्चा नेपाल नौ, नेपाल सद्भावना पार्टी छ, राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) तीन, नेपाल मजदुर किसान पार्टी दुई, नेकपा (प्रजातन्त्रवादी) दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) एक र स्वतन्त्रले तीन स्थानमा विजय हासिल गरेका थिए ।
अहिले बाम गठबन्धनले झण्डै दुई तिहाईको नजिक पुगे पनि पार्टी एकता नभएमा सरकार फेरबदलको खेल जारी रहनेछ । दुई दलबीच एकता भयो भने त्यो बहुमतका सामु अन्य कुनै दलको उपस्थिति सरकार गठनका लागि असम्भव हुन्छ । तर, सरकार गठनसंगै दुई दलबीच एकता नभएमा कुनै पनि बेला देशी–विदेशी शक्तिको खेलले अस्थिरता सिर्जना गर्ने खेल जारी राख्नेछन् ।

‘पछाडिफर्कने पुल भत्काउने हो’
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि विभिन्न अबरोध आउनसक्ने भएकाले अब पछाडि फर्कने पुल नै भत्काउने बताउनुभएको छ । अध्यक्ष प्रचण्डले चितवनमा वाम बुद्धिजिवीहरुले आइतबार आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा बोल्दै एमाले र माओवादीको पार्टी एकताबाट पछि हट्ने ठाउँ नै नभएको भन्दै सो कुरा बताउनुभएको हो ।
अब एकता प्रक्रियामा पछाडि फर्किने ठाउँ राखेर अघि नबढेको बताउँदै भन्नुभयो मैले र केपी ओली कमरेडले जानीबुझी पुल बाँकी राख्यौं भने फर्किने खतरा हुन्छ, पुल नै भत्काइदिउँ भनेर एकतामा एकै चोटी हामफालेको हो ।
उहाँले एमाले र माओवादी दुबै पार्टीको नेतृत्वले एकता प्रक्रियाबाट पछि हट्ने कल्पना नगरेको दोहो¥याउँदै संगठनको व्यवस्थापन मिलाउनेमा जटिलता हुन पनि सक्छ तर, यसका विभिन्न विकल्प सोचिसकेका छौं र ती विकल्प पछि हट्ने नभएको बताउनुभयो । उहाँले अहिले वाम गठबन्धन र पार्टी एकतामा दरार ल्याउने प्रयास हुनु कुनै अनौठो नभएको बताउँदै प्वाल पार्न पाइन्छ कि भनेर अन्तिम करसत हुनु अनौठो हैन । 
केही दिन यता दुबै पार्टीका केही नेताहरुले पार्टी एकीकरणका विषयमा दिएका अभिव्यक्तिले बाम ठबन्धन टुट्न लागेको विश्लेषण हुन थालेको छ । यस्तोमा अध्यक्ष प्रचण्ण्डले दुई पार्टी एकतालाई जनताले अनुमोदन गरिसकेको बताउँदै एकताको सहमति निकै गह्रुंगो भएकाले यसलाई तोड्न अर्को पक्षले गर्ने कसरत हास्यास्पद मात्र हो । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com