युगसम्बाद साप्ताहिक

राष्ट्रियसभामा बाम गठबन्धनको ४३ सिट
Tuesday, 01.09.2018, 01:22pm (GMT5.5)

काठमाडौं । स्थानीय निकाय, प्रदेशसभा र प्रतिनिधिसभामा सबभन्दा ठूलो दल बनेको नेकपा एमाले राष्ट्रियसभामा पनि ३० सिटसहित सबभन्दा ठूलो दल बन्नेछ । माओवादी केन्द्र र एमालेबीच एकताभयो नै मुलुकको तीनवटै निकायमा बाम गठबन्धनको झण्डै दुई तिहाई हुनेछ । निर्वाचनको पछिल्लो चरण माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा बाम गठबन्धन दुई तिहाई संख्या हुने प्रारम्भिक अनुमान छ । कुल ५६ सदस्यमध्ये एकल संक्रमणीय मत प्रणालीका आधारमा वाम गठबन्धनले ४३ र नेपाली कांग्रेसले ५ तथा संघीय समाजवादी फोरम र राजपाले पनि तालमेल कायम राखे ८ सिट र एकल उम्मेदवारी दिए ४–४ सिट जित्न सक्ने देखिन्छ ।
प्रदेशसभा र स्थानीय तहको नतिजाको मतभारका आधारमा एमाले ३० र माओवादीले १३ सिट जित्ने देखिन्छ । राष्ट्रियसभा निर्वाचनको ‘इलेक्टोरल कलेज’मा प्रत्येक प्रदेशबाट को को र कति मतदाता हुने भन्ने प्रष्ट भइसकेको छ । राष्ट्रियसभा निर्वाचन अध्यादेशले प्रत्येक मतदाताको मतभार तोकेको छ । जस अनुसार स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ हुने ब्यवस्था छ । एकल संक्रमणीय मत प्रणालीका आधारमा निर्वाचन गर्न एकभन्दा बढी सदस्य निर्वाचन हुने क्लस्टर वा निर्वाचन क्षेत्र चाहिन्छ । 
यस अनुसार प्रत्येक प्रदेशबाट ८ जना निर्वाचित हुने ब्यवस्थामध्ये दलित तर्फ १ जना र अपाङ्गता भएका वा लोपोन्मुख समुदाय मध्येबाट १ जना मात्र सदस्य बन्ने हुँदा यी दुवै सिटमा एकल संक्रमणीय प्रणाली लागू हुन सक्दैन । जतिजना उम्मेदवार भए पनि सबैभन्दा बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछन् । 
खुलातर्फ निर्वा्चित हुने ३ सदस्य र महिलातर्फ निर्वाचित हुने ३ सदस्य भएकाले यी दुवैलाई छुट्टा छुट्टै क्लस्टर मानी एकल संक्रमणीय मत प्रणालीद्वारा निर्वाचन हुनेछ । यसरी हेर्दा प्रदेश १ मा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २७४ मतदाता छन् । उनीहरूको जम्मा मतभार ४६१० हुन आउँछ । त्यसै गरी प्रदेशसभाका ९३ सदस्यको मतभार ४४६४ हुन्छ । यसरी हुन आउने जम्मा मतभार ९०७४ लाई ३ ले भाग गरी आउने अंकमा २ थपेर निर्वाचित हुन चाहिने आवश्यक न्युनतम मत हिसाव गरिन्छ । यस कारण प्रदेश १ मा खुलातर्फ निर्वा्चित हुने ३ जनाले कम्तिमा ३०२६ मत ल्याउनु पर्छ भने महिलातर्फ पनि त्यति नै मत ल्याउनुपर्छ । 
प्रदेश १ मा एमाले एक्लैको जम्मा मतसंख्या ४९३२ छ । कांग्रेसको २१३२ छ भने माओवादीको १०४४ छ । संघीय समाजवादी फोरमको १८२ मत छ भने अन्यको २८८ छ । एमाले र माओवादीले आपसी तालमेल गरेको अवस्थामा यो प्रदेशबाट उनीहरू बाहेक अरू कसैले पनि सिट पाउने सम्भावना छैन । प्रदेश १ का ८ वटै सिट वाम गठबन्धनको पक्षमा जाने देखिन्छ । 
प्रदेश २ मा जम्मा मतसंख्या १००३२ छ र यहाँबाट राष्ट्रियसभा सदस्यमा निर्वा्चित हुन न्युनतम मत ३३४६ ल्याउनु पर्छ । यो प्रदेशमा कुनै पनि दलको एक्लै न्युनतम मत छैन । एमालेको १६५६, कांग्रेसको २४६०, माओवादीको १२८४ छ भने संघीय फोरमको २३१९ र राजपाको २०६४ छ । फोरम र राजपाले आपसी तालमेल गरी एक अर्कालाई प्राथमिकतासाथ मत दिएमा यो प्रदेशमा ८ वटै सिट उनीहरूले नै जित्ने देखिन्छ । 
प्रदेश ३ मा जम्मा मत संख्या ९५२८ छ । यहाँबाट राष्ट्रियसभामा सदस्य निर्वाचित हुन न्युनतम मत ३१७८ ल्याउनुपर्छ । यो प्रदेशमा एमालेको ५०८८, कांग्रेसको २२६८, माओवादीको १७१६ मत छ । यहाँ वाम गठबन्धन कायम रहंदा ८ वटै सिट गठबन्धनको पक्षमा जाने पक्का छ । साझा विवेकशील र स्वतन्त्र समेत गरी ४९२ मतसंख्या रहे पनि यसको भूमिका निर्णायक नहुने देखिएको छ । 
प्रदेश नं ४ मा जम्मा मतसंख्या ५९४० छ । यसमध्ये एमालेको २५२०, कांग्रेसको २३०४, माओवादीको ७५६ छ भने अन्यको ३६० मत छ । ७ प्रदेश मध्ये १ सिट जित्न आवश्यक पर्ने न्युनतम मतसंख्या कांग्रेसले यस प्रदेशमा कटाएको छ । यस आधारमा खुलातर्फ १ र महिलातर्फ १ सिट कांग्रेसले यस प्रदेशबाट जित्ने सम्भावना छ । न्युनतम मतसंख्या १९८२ ल्याउँदा १ सिट जित्न यो प्रदेशमा पर्याप्त हुन्छ । वाम गठबन्धन कायम रहेको अवस्थामा यस प्रदेशबाट बाँकी ६ सिट गठबन्धनले जित्नेछ । 
प्रदेश ५ मा जम्मा मतसंख्या ८१०० छ । यस प्रदेशमा न्युनतम १ सिट जित्न २७०२ मत चाहिन्छ । यहाँ एमालेको ३५१६, कांग्रेसको २१७२, माओवादीको १६४४, फोरमको ३४८, राजपाको ४८ र अन्यको ३७२ मत छ । वाम गठबन्धन भएको अवस्थामा यस प्रदेशका सवै सिट गठबन्धनले जित्ने देखिन्छ । 
प्रदेश ६ मा जम्मा मतसंख्या ५१२४ छ । एकल संक्रमणीय चुनावमा १ सिट जित्न चाहिने न्युनतम मत १७१० हुन आउँछ । यहाँ एमालेको १९३२, कांग्रेसको १५००, माओवादीको १५७२, फोरमको ४८ र अन्यको ७२ मत छ । गठबन्धन कायम रहंदा यस प्रदेशका सवै सिट एमाले र माओवादीले जित्नेछन् । तर, कांग्रेसको पनि १५०० मत रहेको अवस्थामा केहि मत तलमाथि वा बदर भए उसले पनि १ सिट जित्नसक्ने सम्भावना छ । 
प्रदेश ७ मा पनि कांग्रेसले १ सिट जित्न चाहिने न्युनतम मत संख्या कटाएको छ । यस आधारमा यस प्रदेशबाट उसले खुला र महिला तर्फका १–१ सिट जित्ने सम्भावना छ । जम्मा ५७१२ मतसंख्या रहेको यस प्रदेशमा १ सिट जित्न चाहिने न्युनतम मतसंख्या १९०४ हो । यसमध्ये एमालेको २६०४, कांग्रेसको १९८०, माओवादीको १०३२ र राजपाको ९६ मत छ । वाम गठबन्धन कायम रहंदा यस प्रदेशका बाँकी ६ सिट एमाले र माओवादीले बाँडेर लिनेछन् । लोकतान्त्रिक फोरमले जितेका स्थानीय तहको सम्पूर्ण मतभार कांग्रेसमै हिसाव गरिएको छ । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com