युगसम्बाद साप्ताहिक

वाम सरकारको बाटो छेक्ने प्रयास जारी
Tuesday, 01.09.2018, 01:24pm (GMT5.5)

काठमाडौं ।  मौसमी ठण्डीले सिङ्गो मुलुक जति चिसिँदैगएको छ राजनीतिक मौसम भने उत्तिकै बढी तात्तिँदैगएको छ ।   जनादेश बमोजिमको नयाँ सरकार बन्न नदिन भित्र–बाहिर दुवैतिरबाट अनेक प्रपञ्च चलिरहे पनि वामगठबन्धन टुट्ने सम्भावना देखिएको छैन । नेकपा एमाले र माओवादी केन्द्रबीच अन्तर्विरोध चर्काएर बहुमतको दिगो सरकार बन्न नदिन गरिएको प्रयास अन्ततः विफल हुने विश्वास बढिरहेको छ । भावी प्रधानमन्त्रीका रूपमा चर्चित एमाले अध्यक्ष के.पी.ओली र माओवादी अध्यक्ष प्रचण्डको नियमित परामर्श र पार्टी एकताको सुनिश्चितताले बाह्यशक्तिको ब्यूहरचना सफल नहुने प्रष्ट सन्देश दिइरहे पनि राष्ट्रिय सभाको निर्वाचन नगरी सरकार बन्न नदिने र समानुपातिकको नतिजा पनि रोकिराख्ने सुनियोजित गतिविधिभित्र लुकेको नियत के हो भन्ने कुरा छर्लङ्गै भैसकेको छ । वाम गठबन्धन टुटाउन र बहुमतको स्थिर सरकार बन्न नदिन भारतीय राजदुतको असङ्गतिपूर्ण बढ्दो चलखेल र कांग्रेस र राष्ट्रिय जनता पार्टीका नेताहरूले सार्वजनिक गरेका धारणाहरूबीचको अन्तर्सम्बन्ध छताछुल्ल भैरहेको छ । वामगठबन्धन टुटाउनकै लागि कुन कुन सम्वैधानिक अङ्गहरू कुन बेला कसरी उपयोग हुने हुन् भन्ने आशङ्का पनि घनीभूत हुँदैगएको छ । जनताको मनोविज्ञान बाहिर गएर स्थिरता, शान्ति र विकासको आधार बन्नसक्ने अवस्थामा पुगेको वाम बहुमतको सरकार बन्न नदिन जति नै षडयन्त्र चले पनि अन्ततः त्यो सफल नहुने विश्वास आमजनताले राखेका छन् । नयाँ सरकार बन्न बिलम्व त भैरहेको छ तर वाम बहुमतको सरकारको बाटो छेक्ने  षडयन्त्रमूलक गैरराजनीतिक प्रयास विफल पार्न गठबन्धनको शीर्ष नेतृत्वपंक्ति प्रतिबद्ध रहेको कुरामा सन्देह गर्नुपर्ने अवस्था नै नरहेको राजनीतिक सूत्रहरू बताउँछन् ।
विश्लेषकहरू भन्दछन्– संवैधानिक अस्पटता र प्रक्रियागत जटिलताका कुरा अगाडि तस्र्याएर जनमतले निर्देश गरेको बाटोमा अबरोध खडा गर्ने राजनीति बेइमानी र षडयन्त्रले अहिले अन्योलपूर्ण अवस्था सिर्जित भएको छ । मत परिणाम सार्वजनिक भैसकेपछि पनि यो वा त्यो कारण देखाएर नतिजा प्रकाशन रोक्ने र प्रक्रियागत बिलम्बका लागि अनेक क्षिद्र खोज्ने जुन काम भैरहेको छ त्यो नै बाह्यशक्तिको सुनियोजित षडयन्त्रको उपज हो भन्ने आम बुझाइ छ । जति समय लम्ब्याउन सक्यो उत्ति नै वामगठबन्धन तोड्न सकिने र बहुमतको सरकार बन्न नदिनका लागि खेल्न सकिने आशा राखेर चालिएको कदमले जनमत निर्देशित राजनीतिक बाटोको निकास रोक्ने निहित उद्देश्य राखेको छ । सत्ताका लागि विगतमा थुप्रै पटक असङ्गतिपूर्ण गठबन्धन र सहकार्यको शृङ्खला चलेको भए पनि यस पटक एमाले र माओवादीबीच भएको गठबन्धन पार्टी एकीकरण र बहुमतको वाम सरकार निर्माणतिर लक्षित भएकाले त्यसलाई सङ्गतिपूर्ण सहकार्य ठानेर नै मतदाता आकर्षित भएको देखिन्छ । निर्वाचनमा वामगठबन्धनको पक्षमा बहुमत आउन नदिन प्रक्षेपण गरिएका खेलहरू परिणामतः निष्प्रभावी सिद्ध भैसकेपछि जनमत निर्दे्शित सरकार बन्न नदिन ठूलो कसरत भैरहेको जगजाहेर छ । प्रक्रियागत जटिलताको जटिलताको अत्तो थापेर जतिसुकै बिलम्व गरे पनि अहिलेको काम चलाउ सरकारको आयु नरहेको प्रष्टै छ । नेपालको वर्तमान सत्ता राजनीतिको धरातल कति भास्सिएको छ र जनमतको उपेक्षा गरेर लोकतन्त्रको कति उपहास गरिएको छ भन्ने कुरा कसैको षडयन्त्रले ढाक्नसक्ने अवस्था नै छैन । एमाले र माओवादीबीच पार्टी एकीकरण र पूर्ण बहुमतको वाम सरकार अब सुनिश्चित रहेको आम विश्वास जागृत भैसकेको छ ।
नेपालको आन्तरिक राजनीतिक व्यवस्थापनका लागि प्रदेश राजधानीको मुद्दालाई जटिल बनाउन र जनमतलाई विभाजित गरी देशव्यापी रूपमा आन्दोलन चलाउने अर्को प्रायोजित खेल पनि सुरू भैरहेको छ । नेपालले संघीय संरचना आर्थिक कारणले पनि धान्न नसक्ने पर्याप्त सङ्केत भैरहेको बेलामा प्रदेश राजधानीको विवाद खडा गरेर नियोजित रूपमा राजनीतिक बितण्डा मच्चाउने षडयन्त्रको बीजारोपण पनि भैरहेको छ । प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकमा कुन दलको स्थान कति छ र राष्ट्रियसभामा कुन दलको उपस्थिति कति रहने भन्ने पनि प्रष्ट भैसकेको छ । सरकारको नेतृत्व हाँकिरहेको नेपाली कांग्रेसले संघीय संसद र प्रादेशिक संसदमा प्रतिपक्षमा बसेर रचनात्मक भूमिका निर्वाह बाहेकको अर्को कुनै भूमिका रहन नसक्ने प्रष्ट हुँदाहुँदै पनि वाम एकतामा भाँजो हाल्न र बहुमतको सरकार बन्न नदिन बाह्यशक्तिको गोटी बन्न अग्रसर बन्नुले राजनीतिक विसङ्गतिको अर्को पाटो उघारेको छ । डेढ महिना यता  नयाँ सरकार बन्न नसक्ने र त्यस  अगाडि निर्वाचन आयोगदेखि लिएर अन्य संवैधानिक निकायहरूलाई पनि प्रयोग गरे नियोजित अस्थिरताका लागि ठूलै चाल चल्न सक्नेसम्मको आशङ्का राजनीतिक विश्लेषकहरूले गर्न थालेका छन् ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com