युगसम्बाद साप्ताहिक

देउवाले कसैलाई नछोड्ने
Tuesday, 02.20.2018, 11:02am (GMT5.5)

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व अरूलाई सुम्पिने त कुरै छोडौं संसदीय दलको नेतासमेत कसैलाई नछोड्ने हुनुभएको छ । सम्बद्ध सूत्रका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेता बन्न काठमाण्डौ– १बाट निर्वाचित नेता प्रकाशमान सिंहले रूची देखाए पनि देउवा स्वयं उम्मेदवार बन्ने तयारीमा रहनुभएको छ । राष्ट्रिय, प्रादेशिक र स्थानीय तहसमेतको निर्वाचनमा नेपाली कांग्रेसको लज्जाजनक पराजय भएपछि देउवाले पार्टी र सरकार सञ्चालनमा कुनै दक्षता नदेखाकाले नैतिकताका आधारमा तत्काल नेतृत्वबाट हट्नुपर्छ र संसदीय दलको नेतामा पनि अरूलाई नै बनाउनुपर्छ भन्ने आवाज उठिरहेको भए पनि नेता देउवामाथि त्यसको कुनै असर छैन । उहाँले समवयी प्रतिस्पर्धी नेताहरूको मात्र होइन पार्टीलाई वैचारिक र सांगठनिक रूपमा नयाँदिशा दिनुपर्छ भन्ने युवापुस्ताको आवाजलाई पनि कुनै महत्व दिनुभएको छैन । देउवाको एकल निर्णयले पार्टी चल्न नसक्ने भन्दै आवाज उठ्नथाले पनि कांग्रेसभित्र देउवामाथि अंकुश लगाउनसक्ने नैतिक धरातल भएको कुनै नेता देखिएका छैनन् । 
खवर सूत्रका अनुसार प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा देउवा पक्षमा अधिकांश उम्मेदवारले हारेका र १६५ मध्ये केवल २३ जनाले त्यसमा पनि धेरैजसो देउवाविरोधी पक्षकाले जित हाँसिल गरेका भए पनि समानुपातिकका ४० सदस्यमध्ये अधिकांश देउवा पक्षधर रहेकाले प्रकाशमान सिंहले प्रतिस्पर्धा गरे पनि देउवाले नै जित्ने आँकडाले देखाएको छ । देउवाले तिनै तहको निर्वाचन आफ्नै नेतृत्वको सरकारले सम्पन्न गरेको श्रेय लिनखोजे पनि निर्वाचनमा पार्टी धराशायी भएको र राज्यशक्तिको चरम दुरूपयोग गरेको आरोप कांग्रेसीहरुले नै लगाइरहेका छन् । 
निर्वाचनमा पराजय भएपछि पनि पदबाट राजिनामा नगरेको र प्रजातान्त्रिक मूल्य–मान्यतामा विचलन ल्याएकोदेखि लिएर राज्यकोषको लुटान जारी राखेको आम चर्चाको विषय छ । पार्टीको केन्द्रीय समिति र महासमितिको बैठक बोलाएर नेतृत्व परिवर्तनको मुद्दा चर्काउन चाहनेहरूको आवाजलाई पनि देउवाले उपेक्षा गर्दैआउनु भएको छ । देशको राजनीतिले  जति नै कोल्टो फैर्दैगए पनि घुमिफिरी पुनः प्रधानमन्त्री बन्ने ज्योतिषीले देखाएको सपनाको भरमा परेर पार्टी्भित्रका आफ्ना विरोधीहरूलाई पेलेर ठेगान लगाउने र कुनै पनि ठाउँमा कसैलाई नछोड्ने दह्रो मानसिकता उहाँले बनाउनुभएको बताइन्छ । देउवाको निरंकुश कार्यशैलीको विरोध गर्दै उहाँको विकल्प खोज्ने नेताहरूले अब कुन बाटो खोज्छन् त भन्ने जिज्ञाशा बढेर गएको छ । देउवा नै देउवाको विकल्प रहेका र उहाँका विरूद्ध कसैले पनि सिक्का जमाउन सक्ने अवस्था नरहेको दावी देउवा निकटस्थ  सूत्रहरूले गरेका छन् ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com