युगसम्बाद साप्ताहिक

जटिल सम्बन्धका कसिला गाँठाहरू फुकाउने कसरत
Tuesday, 03.27.2018, 12:20pm (GMT5.5)

प्रधानमन्त्री ओली भारत भ्रमणको तयारीमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सन्निकट भारत भ्रमण अहिले सर्वाधिक चासो र राजनीतिक बहसको विषय बन्न थालेको छ । औपचारिक घोषणा हुन अझै बाँकी छ तापनि उहाँले चैत्र २३ देखि २५ गतेसम्म भारतको औपचारिक भ्रमण गर्नुहुने निश्चित जस्तै भएको छ ।  संघीय संसदमा तीन चौथाई बहुमत प्राप्त बलियो तथा स्थायी सरकारको नेतृत्व हाक्ने सक्षम प्रधानमन्त्रीका रूपमा ओलीलाई हरिएको छ भने वैदेशिक हस्तक्षेप विरूद्धका उहाँका पछिल्ला सन्देशहरूले उहाँको निख्खर देशभक्तिको भावनालाई थप उजागर गरेको आम बुझाइ छ । भारत भ्रमणपूर्व नेकपा एमाले र माओवादी केन्द्रबीच पूर्व घोषित पार्टी एकताको कार्यभार पूरा गरेर मात्र भारत भ्रमणमा जाने तयारीले उहाँ दुई दलीय गठबन्धनको बहुमतीय सरकारका रूपमा नभै एकल पार्टी बहुमतको दह्रो सरकारको हैसियतमा भारतको अगाडि उपस्थित हुने चाहनामा हुनुहुन्छ भन्ने प्रष्ट सन्देश प्रवाहित भएको छ । परिवर्तित सन्दर्भमा नेपाल र भारतबीच उच्च समझदारीपूर्ण सम्बन्ध विकासको अपरिहार्यता सर्वत्र अनुभूत भैरहे पनि दुई देशबीच समाधानको प्रतिक्षामा रहेका अनगिन्ती समस्याहरू छन् । असमान सन्धिको रुपमा चित्रित हुँदैआएको सन् १९५० को सन्धिको पुनरावलोक वा प्रतिस्थापनदेखि लिएर खुला सिमानाबाट उत्पन्न समस्या, ६ दर्जनभन्दा बढी ठाउँमा देखिएको सीमा अतिक्रमणको समस्या, सीमा क्षेत्रमा अनधिकृत रूपमा बनेका तटबन्धहरू र तीबाट उत्पन्न भएको डुवान र विस्थापनको समस्यादेखि लिएर दुई देशबीचको व्यापारमा चरम घाटा वृद्धि एवं नेपालको उत्पादनलाई भारत प्रवेशमा उत्पन्न भैरहेका अवरोधहरू टड्कारो रुपमा देखिएका समस्या हुन् । यी समस्याका अतिरिक्त वर्तमान संविधान जारी हुँदादेखि असन्तुष्टि जाहेर गर्दै संविधान संशोधनका लागि बढाइएको दवावदेखि लिएर सुरक्षा मामिलाप्रतिको निरन्तरको चासो र जलस्रोतको उपयोग सन्दर्भ र भारतको परम्परागत धारणा पनि सम्बोधन गर्नैपर्ने उत्तिकै महत्वपूर्ण पक्षका रूपमा रहेका छन् ।
राजनीतिक संवाद सूत्रहरूका अनुसार एमाले र माओवादी केन्द्रका बीच चैत्र २१–२२ गतेभित्रै पार्टी एकताको काम टुंग्याउने गरी आन्तरिक रूपमा जोडदार कसरत भैरहेको छ । दुवै दलको शीर्ष नेतृत्वपंक्ति उच्च राजनीतिक समझदारी र सहमतिकै बाटोमा रहेको देखिएकाले निर्धारित समयभित्रै पार्टी एकीकरण हुने विश्वास जागृत भएको छ । समायोजनको समस्याको पनि निदान भैसकेको, सैद्धान्तिक र वैचारिक धारमा पनि सहमतीय धारणा बनिसकेको छ । संगठनात्मक स्वरुपको निर्धारणमा पनि खासै समस्या देखिएको छैन । पार्टी एकताको सन्देश लिएर भारत जाँदा  राष्ट्रिय आकांक्षा र अडान प्रस्तुत गर्न पनि प्रधानमन्त्रीज्यूलाई ठूलो बल मिल्ने छ । विगतमा सरकार गिराउने र बनाउने हैसियत देखाउँदै रणनीतिक स्वार्थपूर्तिका लागि चर्को दवाव दिनेगरेको भारतका लागि अहिले निश्चय नै त्यो अवसर प्राप्त नहुने भएकाले नेपाललाई आफ्नो राष्ट्रिय आकांक्षा प्रस्तुत गर्न र टड्कारो रूपमा देखिएका समस्याबारे खुलेर कुरा राख्ने अवसर मिल्ने देखिएको छ । २०७२ सालमा भारतले नेपाललाई ठूलो सकसमा पार्ने र आफ्नो मार्गनिर्देशनमा चल्नैपर्ने बाध्यात्मक स्थिति सिर्जना गर्ने ध्येय राखेर चर्को नाकाबन्दी गर्दाको स्थितिमा पनि आफ्नो सत्तालाई दाउमा राखेर प्रधानमन्त्री ओलीले जुन राष्ट्रिय धारणा र अडान प्रस्तुत गर्नुभएको थियो त्यसकै पुरस्कार निर्वाचनमा जनताले दिएको वास्तविकतालाई आत्मसात गरेर नै उहाँले नेपालको राष्ट्रिय धारणा दह्रो र प्रष्ट रुपमा प्रस्तुत गर्नुहुने अपेक्षा गरिएको छ । प्रधानमन्त्रीको कार्यालय र परराष्ट्र मन्त्रालयले द्विपक्षीय सम्बन्धका बहुआयामिक मुद्दाहरूलाई खुल्ला रूपमा प्रस्तुत गर्ने र विद्यमान चौतर्फी  समस्याहरूको निराकरणका निम्ति प्रष्ट दृष्टिकोण बनाउनै आवश्यक तयारी गर्नु अपरिहार्य छ ।  
प्रधानमन्त्री ओलीको भ्रमण सन्दर्भलाई लिएर भारतीय अधिकारीहरूले पनि आफ्नो धारणा सार्वजनिक गर्न थालेका छन् । विदेश राज्यमन्त्री जनरल भी.के. सिंह, प्रवक्ता रविश कुमार र नेपाल मामिला हेर्ने सुधाकर जलेलाले एकसाथ नेपालका सञ्चारकर्मीसंग नेपालको नयाँ सरकारसंग काम गर्न चाहेको र नेपालको विकास र स्थायित्व नै भारतको चाहना रहेको औपचारिक कथन दोहो¥याउँदै नेपालमा भारतको उच्चतम सुरक्षा चासो नरहेकोदेखि लिएर नेपाल भारत सम्बन्धमा चीनलाई अनावश्यक रुपमा जोडिएको र त्यो यथार्थपरक नभएको जुन धारणा सार्वजनिक गर्नुभएको छ त्यो निक्कै अर्थपूर्ण छ । भारतका सञ्चार माध्यमले बाह्य सम्बन्धसित सरोकार भएका कुनै पनि विषयमा साउथ ब्लकको धारणा र आशयविनाका कुनै सामग्री प्रस्तुत गर्दैनन् भन्ने मान्यता स्थापित भएको मानिन्छ तापनि विदेश राज्यमन्त्री सिंहले भारतीय सञ्चार माध्यमले नेपाल चीनतिर ढल्किएको प्रचार गरेकोमा असन्तुष्टि जाहेर गर्नुलाई पनि उत्तिकै अर्थपूर्ण मानिएको छ । भारतले नेपाललाई आफ्नो प्रभाव क्षेत्रबाट उम्कन नदिन र चीनसित बहुआयामिक सम्बन्ध विस्तारको बाटो छेक्न सामदानदण्डभेदको कुटनीतिक चाल चलिरहेको टिप्पणी हुँदैआएको पृष्ठभूमिमा पछिल्लो चरणमा व्यक्त भैरहेका धारणा र व्यवहार कति वस्तुपरक र स्वाभाविक छ भन्ने कुराको पारखगर्न लामै समयको प्रतिक्षा गर्नुपर्ने निश्चित छ तापनि विगतका तीता प्रकरणहरू विर्साउने कसरतमा भारत लागेको आभास अहिलेको अवस्थाले दिएको विश्लेषकहरूको टिप्पणी छ । परिवर्तित राष्ट्रिय–अन्तर्राष्ट्रिय सन्दर्भमा नेपाल भारत दुवै देशले सार्वभौमिक समानता र सहअस्तित्वको भावनालाई आत्मसात गर्दै यथास्थितिवादी धारणा र मान्यतामा प्रत्यक्ष अनुभूत हुनेगरी परिवर्तन गर्नसकेमात्र द्विपक्षीय सम्बन्धले समयसापेक्ष गति लिने अपेक्षा गर्नसकिन्छ । प्रधानमन्त्री ओलीले युरोपेली संघको निर्वाचन पर्यवेक्षण प्रतिवेदनको प्रसंगमा वैदेशिक हस्तक्षेपविरुद्ध कडा रुपमा प्रस्तुत गर्नुभएको विचारले नेपाल कसैको पनि हैकम नुहने दृढ मानसिकतामा रहेको  प्रष्ट सन्देश प्रवाह गरेको छ । नेपाल अब कसैबाट पनि हेपिने अवस्थामा नरहेको बोध भएको छ । भारतले पनि यो अवस्थालाई मनन गरिसकेको हुनुपर्छ भन्ने विश्लेषकहरूको अभिमत छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com