युगसम्बाद साप्ताहिक

ओलीले मोदीलाई दिएको त्यो जवाफ
Tuesday, 04.03.2018, 01:48pm (GMT5.5)

काठमाडौं । प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले भारतको राजकीय भ्रमण गर्दै हुनुहुन्छ । यो भ्रमण नेपालका लागि भन्दा पनि भारतका लागि बढी महत्वपूर्ण रहेको मानिएको छ । ओली प्रधानमन्त्रीमा निर्वाचित हुनासाथ भारतीय विदेशमन्त्री नेपाल आएर बधाई दिएको सन्दर्भ अनि त्यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाम गठबन्धनको स्पष्ट शहुमतत भएपछि भावी प्रधानमन्त्री भनेर दुईपटक फोन गरेर बाधाई दिनुका साथै सहकार्य गर्न उत्सुक रहेको सन्देश प्रवाह गरेपछि भारतको नेपालप्रतिको दृष्टिकोणमा केही परिवर्तन आएको संकेतका रूपमा हेरिएको छ ।
प्रधानमन्त्री ओलीले २३ देखि २५ चैतसम्म भारतको तीनदिने राजकीय भ्रमण गर्दै हुनुहुन्छ । यसअघिको भन्दा फरक ढंगले हुँदैछ शक्तिशाली प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण । संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दी र भारतले संविधानप्रति देखाएको कटुता अनि नेपालको संविधान बिरूद्ध मोदीले विश्वभर फैलाउन खोजेको भ्रम अन्ततः त्यसै तोडिएको थियो । भारत नाकाबन्दी हटाउन बाध्य भएको थियो । ओलीले जसरी भारतको दवाव र निर्देशन लत्याएर चीनसंग व्यापार तथा पारवहन सन्धि गर्नुभो, तब भारत झस्किएको हो । त्यतिबेला मोदीले ओलीलाई अरू नेतालाई जस्तै गलाउने शैलीमा कुरा गर्न खोजे पनि ओलीले मोदीसंग चर्काचर्की नै गर्नुपरेको थियो ।
नाकाबन्दीकाबीच दिल्ली पुग्दा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच संविधान र मधेशवादीका विषयमा चर्काचर्की जस्तै परेको थियो । एउटा घटना ८ फागुन २०७२ मा हैदरावाद हाउसमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नेपालको संविधानका विषयमा कुराकानी सुरू भयो । उक्त वैठकमा सहभागी कूटनीतिज्ञका अनुसार प्रधानमन्त्री ओलीले ‘नेपालको संविधान समावेशी छ, लोकतान्त्रिक छ । कार्यान्वयनका क्रममा कमीकमजोरी देखिएछन् भने सच्याउँदै जाउँला’ भन्नुभएको थियो ।
तर, मोदीले विदेश मन्त्रालयका अधिकारीले दिएको नोट हेर्दै ‘प्रधानमन्त्री ओली, क्रिकेट मैदानभित्रबाट सबै कुरा सामान्य देखिन्छ, तर टेलिभिजनमा लाइभ हेर्नेहरूलाई कहाँ–कहाँ कमजोरी छ भन्ने थाहा हुन्छ । त्यस हिसाबले तपाईँको व्याख्या गलत छ । बेलैमा समस्याको समाधान गर्नुहोस् । यदि संविधान संशोधन भएन भने स्थायित्व प्राप्त हुने चाहना पूरा नहुनसक्छ’ भन्नुभएको थियो ।
त्यसपछि ओली गुजरातको भुजमा यादव समुदाय बाहुल्य गाउँमा पुगेर भाषण गर्दै यहाँका ६० प्रतिशत यादव हुनुहुन्छ भन्ने मैले सुनेको छु । हाम्रो टिममा पनि सांसद लालबाबु यादव हुनुहुन्छ । उहाँले संविधान बनाउनुभयो, संविधान जारी गर्ने राष्ट्रपति रामवरण यादव नै हुनुहुन्छ ।’ ओलीले त्यसोभन्दा लालबाबु यादवले उठेर हात हल्लाए । भुजको यादव समुदायले ताली बजायो । त्यतिबेला प्रधानमन्त्री ओलीले संविधानका बारेमा मोदीलाई लक्षित गरेर बोल्नुभएको थियो । अहिले भारतको परिस्थिति बदलिएको छ । प्रधानमन्त्री ओली आधारभुत अडानबाट बाहिर जानुभएको छैन । ओली होइन, परिस्थिति बदलिएको छ । बरू, प्रधानमन्त्री मोदीको अडानमा नरमपन छ ।
नेपालको राजनीतिक संक्रमण निर्वाचनमार्फत सम्पन्न भइसकेको र संसदमा दुइ तिहाई समर्थन पाएको शक्तिशाली सरकार रहेको अवस्थामा अब राजनीतिक कुरा हैन आर्थिक विकासका मुद्दामा मात्र छलफल गर्ने गरी कूटनीतिक तयारी थालिएको छ । यो विषय नेपाललेभन्दा पनि भारतले नै पहिला चासो देखाएको पनि समाचारमा उल्लेख छ । ‘भारतीय प्रधानमन्त्री मोदीले वाणिज्यमन्त्री मात्रिका यादब र भारतीय वाणिज्यमन्त्री सुरेश प्रभुसँग गत साताको संक्षिप्त कुराकानीमा राजनीतिक बिषय होइन, आर्थिक विकासका बिषयमा कुराकानी गर्ने इच्छा देखाउनुभएको छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com