युगसम्बाद साप्ताहिक

लेनिन दिवसमा पार्टी एकता घोषणा !
Thursday, 04.12.2018, 11:27am (GMT5.5)

काठमाडौं । गत दशैंमा निर्वाचन अघि नै पार्टी एकता गरेर जाने सम्झौता गरेका नेकपा एमाले र माओवादी केन्द्रबीच अझै पनि एकताका विषयमा विवाद रहेका छन् । दुबै पार्टीका शीर्षस्थ नेताहरुको समायोजनको विषय र एक अर्काको अस्तित्व स्वीकार्ने कि नस्वीकार्ने भन्ने कुराले एकतामा ढिलाई भैरहेको छ । एकताको हैसियत समानताका आधारमा हुने कि चुनावी परिणाममा भन्ने विवाद छ । यो विवादले भने निकै अप्ठ्यारो स्थिति निम्त्याइरहेको छ । एकता बिरोधीरुले खेल्ने मौका पाएका छन् ।
पार्टी एकताका लागि दुवै दलबीच तीनवटा विषय टुंगो लाग्न बाँकी छ । पार्टीको दस्तावेज र विधानमा ‘जनयुद्ध’ शब्द राख्ने कि नराख्ने, चुनाव चिह्न ‘सूर्य’ नै राख्ने कि परिवर्तन गर्ने, एकीकृत पार्टीको केन्द्रीय समितिमा एमाले र माओवादी पक्षबाट कतिकति जना सम्मिलित गराउने भन्ने विवाद बाँकी छ  । कार्यदलस्तरमा यी विषय मिल्न नसकेपछि एकता संयोजन समितिबाटै टुंगो लगाउने गरी प्रतिवेदन तयार गरिएको हो ।
माओवादीले आफ्नो पार्टी युद्धको पृष्ठभूमिबाट आएकाले कम्युनिस्ट आन्दोलनको उपलब्धिका रूपमा ‘जनयुद्ध’ लाई स्विकार्नुपर्ने र त्यो शब्द राख्नुपर्ने अडान लिएको छ । एमालेले भने ‘जनयुद्ध’ भन्दा बृहत् अर्थ राख्ने भन्दै ‘जनक्रान्ति’ राख्न उपयुक्त हुने धारणा अघि सारेको छ । यसमा सहमति नजुटेपछि विधानसम्बन्धी प्रतिवेदनमा ‘जनयुद्ध र जनक्रान्ति’ भन्ने दुवै शब्द प्रयोग गरिएको छ । कम्युनिस्ट आन्दोलनमा भएका शान्तिपूर्ण र हिंसात्मक दुवै खालका संघर्षबाटै अहिलेको उपलब्धि भएको हो भन्नेमा दुवै दल सहमत छन् । तर ‘जनयुद्ध’ भन्ने शब्द प्रयोग गर्दा विगतमा माओवादीले गरेका सबै गल्तीको स्वामित्व आफूले पनि लिनुपर्ने भय एमाले नेताहरूको छ । त्यसैले उनीहरूले जनयुद्धको ठाउँमा जनक्रान्ति राख्न चाहेका हुन् ।
अर्कोतिर चुनाव चिह्न पनि ‘सूर्य’ नै राख्नुपर्ने एमालेको अडान छ । संसदीय चुनावहरूमा पटकपटक प्रयोग भएको सूर्य चिहन जनमानसमा भिजिसकेकाले यसको विकल्पमा जान नहुने एमाले नेताहरूको अडान छ  । चुनावका लागि चिह्न सजिलो आवश्यक पर्ने उनीहरूको धारणा छ । तर माओवादीले सूर्य चिह्न राख्दा आफ्नो पार्टीको अस्तित्व नजोडिने भएकाले त्यसलाई परिमार्जन गर्नुपर्ने धारणा राखेको छ । सूर्यभित्र माओवादीले प्रयोग गर्दै आएको गोलाकारभित्रको हँसिया–हथौडा राखेर परिमार्जन गर्नुपर्ने धारणा माओवादीको छ । तर कम्युनिस्ट पार्टीको झन्डामै हँसिया–हथौडा हुने भएकाले चुनाव चिह्नमा त्यो राख्नु आवश्यक नरहेको तर्क एमालेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा चुनावकै क्रममा पनि दुई दल सूर्य चिह्न लिएर लड्ने मनस्थितिमा पुगेका थिए । पार्टीे केन्द्रीय समितिमा कुन दलबाट कति जना राख्ने भन्नेमा बढी विवाद छ । एकीकृत पार्टीको केन्द्रीय समिति २ सय ९९ सदस्यीय हुने तय भइसकेको छ । अर्कोतिर दुवैको हैसियत समान हैसियत देखिनुपर्ने माओवादीको दाबी छ । तर चुनावी परिणामले माओवादीको आकार सानो भएकाले बराबरी हैसियत हुन नसक्ने एमालेको दाबी छ  । विगतमा भएको आपसी भागबन्डाकै मापदण्डमा एकता हुनुपर्ने र केन्द्रीय समिति गठन हुनुपर्ने एमाले नेताहरूको भनाइ छ । दुवै दलबीच चुनावअघि उम्मेदवारी तय गर्ने बेलामा ६० र ४० प्रतिशतको भागबन्डा भएको थियो । परिणाम भने ७० र ३० को अनुपातमा आयो । चुनावी परिणाममा माओवादीको आकार अझै खस्किएपछि एमालेले नयाँ मापदण्डमा जोड दिएको हो । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा माओवादीको परिणाम खस्किएपछि राष्ट्रिय सभाको चुनावका क्रममा ६७ र ३३ प्रतिशत अनुपातमा एमाले र माओवादीले उम्मेदवार तय गरेका थिए । त्यहीअनुसार राष्ट्रिय सभाको परिणाम पनि आएको थियो । अहिले एकीकृत पार्टीको केन्द्रीय समितिमा भने बराबरी हैसियतको कुरा माओवादी पक्षबाट आएपछि यो विषय कार्यदलले टुंगो लगाउन सकेन । 
तैपनि एकता संयोजन समितिले कम्युनिस्ट पार्टी स्थापना दिवस (अप्रिल २२) वैशाख ९ को अवसर पारेर पार्टी एकताको औपचारिक घोषणा गर्ने गरी अन्तिम तयारी गर्न एमाले र माओवादी केन्द्रलाई निर्देशन दिएको छ । समितिको गत बिहीबार बसेको बैठकले दुवै दललाई वैशाख ९ मै एकता घोषणा गर्ने तयारी अघि बढाउन भनेको हो ।
नेपालमा लेनिनको जन्मजयन्ती अप्रिल २२ को अवसर पारेर २००६ साल वैशाखमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो  । त्यसयता विभिन्न कालखण्डमा चिराचिरा परेको कम्युनिस्ट पार्टीका मूलधार एकताबद्ध भएको सन्देश दिन एकता घोषणाका लागि अप्रिल २२ नै उपयुक्त हुने दुवै दलले ठहर गरेका हुन्  । एकताको प्राविधिक तयारी गर्न गठित समितिले पनि अप्रिल २२ लाई नै उपयुक्त भनी सिफारिस गरेको थियो । समितिका सदस्य एवं माओवादी नेता नारायणकाजी श्रेष्ठले दुवै कार्यदलले दिएको सुझाव अनुसार वैशाख ९ गते नै घोषणा गर्ने गरी आ–आफ्ना दलका तर्फबाट तयारी बढाउन भनिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार कार्यदलले तयार गरेका दुवै प्रतिवेदन सकारात्मक रहेकाले त्यही आधारमा एकता गर्न सकिने निष्कर्ष समितिको छ । दुवै दलबीच एकताका विषयमा मिल्न बाँकी विषयलाई अबको केही दिनभित्रै टुंगो लगाउने समझदारी भएको छ  । अबको केही दिनमै एकता संयोजन समितिको बैठक बस्ने छ ।
‘यिनै विषयका कारण अब एकता नै रोकिने वा भाँडिने भन्ने हुँदैन,’ एमालेका एक शीर्ष नेताले भने, ‘एकता वैशाख ९ मै हुन्छ ।’ यही कारण एकता नभाँडिने विश्वासअनुसार नै एमालेले पार्टीको पोलिटब्युरो र केन्द्रीय समिति बैठक वैशाख ६ र ७ गतेलाई बोलाइसकेको छ । एकतासम्बन्धी सबै प्रस्तावमाथि छलफल र अनुमोदन गर्ने गरी बैठक बोलाइएको हो । एकता संयोजन समितिबाट दस्ताबेज पारित भएपछि माओवादीले पनि आफ्नो दलबाट अनुमोदन गराउनेछ । त्यसपछि वैशाख ९ मा संयुक्त भेला गरेर पार्टी एकताको औपचारिक घोषणा गरिनेछ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com