युगसम्बाद साप्ताहिक

प्रधानमन्त्री ओली भारत भ्रमणबाट सन्तुष्ट : सम्बन्ध सुधारमा परिणामको प्रतिक्षा
Thursday, 04.12.2018, 11:29am (GMT5.5)

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली भारतको तीन दिने राजकीय भ्रमण पूरा गरी गत आइतवार स्वदेश फर्केपछि यसको उपलब्धि र नेपाल भारत सम्बन्धको भावी दिशावारे बौद्धिक राजनीतिक वृत्तमा गम्भिर बहस सुरू भएको छ । २०७२ सालको क्रुर नाकाबन्दी र संविधान संशोधनका लागि चर्को दवाव प्रवाहका कारण चिस्सिएको नेपाल भारत सम्बन्धलाई परिवर्तित सन्दर्भमा अहस्तक्षेप, पारस्परिक सद्भाव, विश्वास र सहयोग विस्तारका आधारमा पुनः परिभाषित गरी न्यानो बनाउने दुवै देशको चाहनालाई यो भ्रमणले मूर्त रूप दिएको विश्वास दुवै देशका प्रधानमन्त्रीले प्रकट गरेको देखिन्छ । भारतसंग सम्बन्ध चिसिँदा नेपालको सत्ताले अनेक झमेला बेहोर्नुपर्ने तीतो यथार्थबोध गर्नुभएका प्रधानमन्त्री ओलीका लागि यो भ्रमण विश्वासको नयाँ वातावरण सिर्जना गर्ने अवसरमा परिणत भएको छ भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि पनि नेपालसंग बिग्रिएको सम्बन्ध सुधार गर्ने मौका मिलेको आम बुझाइ छ । आआफ्नो देशमा लोकप्रिय मानिएका दुई देशका शक्तिशाली प्रधानमन्त्रीहरूबीचको एकल संवाद र सामूहिक रुपमा छलफल गरिएका विषयले कार्यान्वयनको क्रममा कुन दिशा र कस्तो गति लिने हो भन्नेतिर नै अहिले आम नेपालीको ध्यान केन्द्रित छ । भारतले आफ्नो पूर्वधारणालाई बदलेर नेपालको परिवर्तित राजनीतिक अवस्थालाई स्वागत गरेको बुझाइ भ्रमण दलका सदस्यहरू रहेको पाइएको छ भने रातो गलैंचा बिच्छ्याएर गरिएको स्वागतबाट सत्ता सुरक्षामा कुनै खतरा नभएको आभास प्रधानमन्त्री ओलीले पाउनुभएको विश्वास पनि गरिएको छ । पूर्व सहमति र सम्झौताहरूदेखि लिएर यो चरणमा विकसित भएको समझदारी र सम्झौताको द्रूत कार्यान्वयन कसरी हुने हो भन्नेतिर आम चासो बढेको छ ।
प्रधानमन्त्री ओलीको यस पटकको भ्रमणले नेपालको आन्तरिक मामिलालाई अन्य मुलुकमा छलफलको विषय नबाउने धारणालाई स्थापित गरेको अनुभूत गराएको छ । सहमति र सम्झौता गर्दै जाने तर कार्यान्वयमा भने कुनै चासो नराखी आयोजनाहरू ओगटिमात्र रहने भारतको प्रवृतिमाथि पनि यस पटक गहन प्रश्न उठेको देखिएको छ । भारतले विगतमा वैदेशिक सम्बन्ध परिचालनमा समान धारणा बनाएर सहकार्य गर्न गर्दैआएको जिकिरको पनि यस पटक कुनै गुञ्जाइस देखिएन । यसबाट नेपालले आत्मनिर्णयको अधिकार सुरक्षित गर्ने क्षमता बढाएको आभास पनि भएको छ । तर तराईको चौथाइ भाग डुवाउने गरी निर्मित भएका तटबन्धहरूबाट सिर्जित मानवीय समस्या, सीमा क्षेत्रमा भैरहेको अतिक्रमणदेखि लिएर नोटबन्दीको शिकार भएर राष्ट्र बैंकमा थन्किएका एक हजार र पाँच सय भारूकाबारे परिणामदायी कुरा नहुनुलाई आश्चर्यको विषय मानिएको छ । भारतले जे भन्छ त्यो गर्दैन र जे गर्छ त्यो नभनिकन बलात् गर्छ भन्ने धारणा नेपालभित्र सधैं जमेको छ । महाकाली एकीकृत सन्धि गर्दा छ महिनाभित्र तयार गर्ने र तत्काल निर्माण सुरु गर्ने भनिएको पञ्चेश्वर आयोजना २२ हिउँद वितिसक्दा पनि यथास्थितिमै छ । लगानी स्रोतको व्यवस्था भैसकेर पनि निर्माणको चरणमा जानबाट रोकिएको अरूण–३, अन्ततः दश वर्ष अघि भारतकै हातमा पुगेर पनि अझै थन्किएर बसेको छ भने माथिल्लो कर्णालीको पनि हालत उस्तै छ । अहिले जलमार्ग, रेलमार्ग र कृषिमा आधुनिकीकरणका लागि भएको समझदारीले नयाँ सपना देखाएको भए पनि भरविश्वासको स्थिति सिर्जना हुन बाँकी नै छ । प्रधानमन्त्री ओलीको यस पटकको भ्रमणलाई विशेष महत्व दिएका भारतीय सञ्चार माध्यमहरूले जलमार्ग र रेलमार्गको नयाँ प्रकरणलाई चीनलाई दिएको चुनौतीको रुपमा उल्लेख गरेर के सन्देश दिन खोजिएको हो बुझिनसक्नु छ । नेपाल  र भारतबीचको सम्बन्ध सुधारमा अब शंका नगर्न आग्रह गरिए पनि धम्क्याउने र पट्याउने रणनीति विफल भएपछि फकाउने र पट्याउने रणनीति अख्तियार भएको निष्कर्षसमेत कतिपय विश्लेषकहरूले निकालेका छन् ।
आफ्ना छिमेकी मित्रदेशसंग समानताका आधारमा असल सम्बन्ध स्थापित गर्ने र तटस्थ परराष्ट्रनीति अवलम्बन गर्ने नेपालको घोषित नीति छ । भारतसितको सम्बन्धलाई प्रथम प्राथमिकतामा राखेर प्रधानमन्त्री बन्नासाथ सर्वप्रथम भारतकै भ्रमण गर्ने प्रचलनलाई प्रधानमन्त्री ओलीले पनि निरन्तरता दिनुभएको छ । नेपालको स्थिरता र विकासमा भारतको सहयोगको अपेक्षालाई कसैले पनि अन्यथा ठानेका पनि छैनन् । सम्पन्न भारत भ्रमणले नेपालको अर्को छिमेकी मित्रदेश चीनसितको विस्तारोन्मुख सम्बन्धलाई कति प्रभावित पार्ने हो भन्नेतिर पनि अहिले चासो बढिरहेको छ । चिनीया लगानीको बिजुली भारतले नकिन्ने भनेर प्रधानमन्त्री ओलीको भारत भ्रमणकै बेला भारतीय सञ्चार माध्यमबाट भएको धुवाधार प्रचारको निहितार्थ के हो भन्ने गम्भीर प्रश्न पनि खडा भएको छ । प्रधानमन्त्री ओलीले दुई वर्ष अगाडि चीनसंग गर्नुभएको व्यापार र पारवहन सम्झौता र विकसित समझदारीका आधारमा लगानी विस्तारको बढ्दो सम्भावना भारतका लागि जति नै अरुचिकर रहेको प्रतीत भए पनि नेपालका लागि अपरिहार्य आवश्यकता हो । चिनिया रेल काठमाडौं, पोखरा र लुम्बिनी ल्याउने प्रस्तावले झक्झक्याएकै कारण भारतले रक्सौल–काठमाडौं रेलविस्तारको प्रस्ताव अगाडि सारेको बुझ्न कठिन छैन । नेपालले कुटनीतिक चातुर्य र क्षमता देखाएर दुवै छिमेकी देशसित समव्यवहार गरी आन्तरिक विकासका निम्ति सहकार्यको दरिलो संस्कार बसाल्नु नेपालको दूरगामी हितमा छ । आफ्नो राष्ट्रिय धारणा र चाहनालाई सुष्पस्ट र दरिलो ढंगले राख्नसक्ने क्षमतावान व्यक्तित्वको छवि बनाउनुभएका प्रधानमन्त्री ओलीले दुवै छिमेकीसंग सन्तुलित सम्बन्ध कायम गर्न अब कस्तो कदम चाल्नुहुन्छ भन्ने कुतुहलता जागृत भैरहेको छ । एक छिमेकीसंगको बहुआयामिक सम्बन्ध विस्तारमा अर्को छिमेकी बाधक नबन्ने परिस्थितिको सिर्जना गर्नु जति नै चुनौतीपूर्ण भए पनि त्यसको अर्को विकल्प छैन । प्रधानमन्त्री ओलीको भारत भ्रमणको दीर्घकालीन असर कुन कुन क्षेत्रमा कसरी देखिंदै जाने हो भन्नेबारे सवैतिर चासो र जिज्ञाशा बढिरहेको छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com