युगसम्बाद साप्ताहिक

जनअपेक्षा विपरीत राजनीतिक वातावरण धुमिल बन्दै- पार्टी एकतामा शंकाको कालो बादल
Tuesday, 04.24.2018, 01:24pm (GMT5.5)

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा विशेष चासोको विषय बनेको छ । निकट भविष्यमै पार्टी एकीकरणको प्रत्याभूति दिँदै एउटै घोषणापत्र लिएर चुनावी गठबन्धन गरी प्रतिस्पर्धामा उत्रिएका साझा उम्मेदवारहरूलाई संघीय संसद र प्रदेशसभाहरूमा दुईतिहाइको नजिक पु¥याउन जनताले जुन अभिमत दिए त्यसको सम्मान पार्टी एकता भए मात्र हुनसक्छ भन्ने आमधारणा छ । दुवै दलका प्रतिनिधिहरू सम्मिलित कार्यदलको लामो कसरत र दुवै दलका शीर्ष नेताहरूबीच निरन्तर चलिरहेको वार्तापछि पनि एकताले मूर्तरूप नलिनु र  दुवै दलका नेताहरूले बारम्बार पार्टी एकताको कुनै विकल्प नभएको सन्देश निरन्तर जारी गर्दा पनि एकताका निम्ति तोकिएको समयसमेत घर्किँदै जानुले अन्तर्निहित कारण रहस्यमय बन्दैगएको छ । पार्टी एकीकरणका लागि पहिल्यै नै तोकिएको दिन अस्ति बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवश र लेनिन जयन्तिका अवसरमा आयोजित विशेष कार्यक्रममा पनि दुवै दलका शीर्ष नेताहरूले पार्टी एकता भएरै छोड्ने जिकिर गरे पनि बीजारोपित शंकाको कालो बादलले राजनीतिक वातावरणलाई धुमिल बनाइरहेको छ । माओवादीले निर्वाचनमा प्राप्त जनमतलाई आधार नबनाई समान प्रतिनिधित्वका आधारमा एकीकरण हुनुपर्नेदेखि लिएर पार्टी अध्यक्ष क. प्रचण्डको कार्यकारी हैसियत निर्धारण र महाधिवेशनपछि कार्यकारी अध्यक्षको सुनिश्चितता खोजिरहेको सतह चर्चामा आए पनि पार्टी एकता हुन नदिन बाह्य निर्देशनमा नै ठूलो चलखेल भैरहेको आशंका फैलिएको छ । माओवादीकै एक केन्द्रिय नेता मणि थापाले त भारतले नै दुई पार्टीबीच एकता हुन नदिन अदृश्य चलखेल गरिरहेको खुलाशा गर्नुभएको छ । पार्टी विधानमा जनयुद्धको उल्लेख र निर्वाचन चिन्हबारे सतहमा आएका कुरा देखावटी मात्र हुन् र भित्री कुरा त नेताहरूको समायोजनको समस्यादेखि लिएर बाह्यशक्तिकै चलखेल अन्तर्निहित कारण रहेको राजनीतिक सूत्रहरूको कथन छ ।
नेपाली जनताको यतिखेरको चाहना र अभिमत भनेको सत्ता साझेदार ठूला दुई वाम दलबीचको एकता र त्यसको बलमा स्थायी सरकारको सुनिश्चितता तथा विकास र समृद्धिको मार्ग अवलम्वनका लागि कुनै व्यवधान खडा नहोस् भन्ने नै हो । तर नेपालको आन्तरिक राजनीतिक व्यवस्थापन र मार्गनिर्देशमा आफ्नो स्वामित्व स्थापित गर्न चाहने र नेपालको आत्मनिर्णयको अधिकारलाई कुण्ठित गरिरहन चाहने बाह्यशक्तिको घनचक्करमा परेर नेपालले लामो कालदेखि जुन दुर्नियति भोगिरहेको छ त्यसबाट पार पाउन अझै सहज देखिएको छैन । राष्ट्रिय आकांक्षा र नेपाली जनताको अभिमतलाई उपेक्षा गर्दै अनपेक्षित मुद्दाहरू उठाएर दुवै वामदलका नेताहरूले एकता नगरी ङ्यारङुर मात्रै गरिरहने हो भने नेपालभित्र अन्तर्विरोध चर्काएर नियन्त्रित अस्थिरता कायम गरिरहने र प्रभुत्व विस्तारको रूग्ण अभिलाशा पूरा गर्न चाहने बाहिरी शक्तिलाई कुत्सित मनोकांक्षा तृप्तिका लागि थप अवसर मिल्ने निश्चित छ । स्थानीय तह, प्रदेशसभा र संघीय संसदको निर्वाचन परिणामले जगाएको आशा र प्रखर राष्ट्रियधार निर्माणको अवसरलाई जोगाइराख्न राजनीतिक निष्ठा र इमानको ठूलो आवश्यकता छ । आफू र आफ्नो वरिपरि घुन्नेहरूको स्वार्थवृत्तमा मात्र केन्द्रित रहेर राजनीतिक शाख जोगाउन खोज्नेहरूले नेपालको राजनीतिलाई नै प्रदुषित र कलङ्कित पारेका अनेक घटना इतिहासको पानामा अङ्कित छन् । अब यस्तो कहिल्यै नहोस् भन्ने देशभक्त नेपालीहरूको चाहना छ । यो वा त्यो कारण देखाएर पार्टी एकतामा बिलम्ब हुँदा अनिष्टको सङ्केत मडारिन थालेको छ । अहिलेको सन्दर्भले दुवै दलका शीर्ष नेताहरूको निष्ठा, इमान, विवेक, संयम र जनताप्रतिको जवाफदेहितालाई अग्निपरीक्षाको घडीमा उतारेको छ ।
जानकार सूत्रहरू भन्दछन्– वाम बहुमतको वर्तमान सरकार चीनको प्रभावमा जाने हो कि भन्ने चिन्ताले भारतको एउटा ठूलो हिस्सा र पश्चिमा लगानीका गैरसरकारी संस्थाहरूको दिमाग खाइरहेको छ । एमाले र माओवादीबीचको एकता नेपालमा राजनीतिक स्थिरताका निम्ति अपरिहार्य रहेको बोध अत्यधिक नेपाली जनताले गरिरहे पनि एकता अभियानलाई विफल पार्ने प्रयासहरू अझै भैरहेका छन् । नेपालका सचेत नागरिकहरूले प्रत्यक्ष अनुभव गरेको यो तथ्यलाई चिनिया बुद्धिजीवी र पूर्व कुटनीतिज्ञहरूले समेत इङ्गित गरेको प्रसङ्ग परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको हालैको चीन भ्रमणका अवसरमा उजागर भएको छ ।  नेपालस्थित चिनिया कुटनीतिक नियोगमा सात वर्ष कार्यरतरहेका पूर्व कुटनीतिज्ञ तथा बुद्धिजीवी छङ सिचोङले “कतिपय गैससले नेपाली समाज विभाजित गर्ने र चीनसितको सम्बन्धमा आँच पुग्ने गतिविधि गरेको” खुलाशा गरेपछि नयाँ तरङ्ग पैदा भएको छ । नेपालका कतिपय बुद्धिजीवीले पनि कथं एमाले र माओवादीबीच एकता भएन भने  पुनः अस्थिरताको शृङ्खला सुरू हुने र मुलुक ठूलो सङ्कटको भूमरीमा हेलिने आशङ्का प्रकट गरेका छन् । राजनीति अस्थिरता र आर्थिक अराजकताले थिलोथिलो भएको मुलुकले अब त उज्यालो बाटो पहिल्यायो भनी आशा र विश्वास जागृत भएको बेला एमाले माओवादीबीचको एकतामा बिलम्ब हुँदा जन्मिएको आशङ्काले देशव्यापी रूपमा ठूलो चिन्ताको लहर उठाएको पर्यवेक्षकहरूको निष्कर्ष छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com