काठमाडौं । लामो समयदेखि एकता प्रक्रियामा रहेका नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता अलमलमा परेको छ । नेताहरुले कुनै हालतमा एकता हुने र एकताबाट पछि हट्न नसकिने दावी गरे पनि अन्योल बढिरहेको छ । विभिन्न कार्यक्रमहरुमा एमाले र माओवादीका शीर्ष नेताहरुले एकता चाँडै हुने बताइरहेका छन् । तर, एकता अप्ठ्यारो मोडमा पुगेको छ । एकता प्रक्रिया दुई पार्टी अध्यक्षमै पुगेर अड्किएको छ ।
यसअघि एकता घोषणा मितिसमेत तय गरेका दुई दलबीच पछिल्ला दिन एकता प्रक्रिया अप्ठ्यारो मोडमा पुगेर अड्किएको छ । विवादित विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पटकपटक छलफल भए पनि त्यसले ठोस निष्कर्ष निकाल्न सकेको छैन । दुई नेताले विवादित विषयको गाँठो फुकाउनासाथ दुई पार्टीबीच जुनसुकै बेला एकता हुनसक्ने स्थिति भए पनि दुई नेतामै विवादित विषयमा कुरो बाझिएको अवस्थामा एकता प्रक्रिया लम्बिने मात्र नभएर भाँडिनसमेत सक्ने अवस्था रहेको नेताहरु स्वीकार गरेका छन् ।
माओवादी नेताहरुले दुई अध्यक्षको मात्र एकता भएर नहुने बताइरहँदा एमालेका शीर्ष तहका नेताहरुले पनि एकीकृत पार्टीमा आफ्नो भूमिका के हुने भन्दै एकता प्रक्रियालाई लम्ब्याइरहेका छन् । यसका अनेक कारण छन् । ओली र प्रचण्डले पार्टीको एकीकरणलाई सार्थक टुङ्गोमा पु¥याएरै छाड्न कृतसंकल्प जस्तो देखिए पनि ती दुई वामपन्थी नेताले आआफ्ना पार्टीलाई साँच्चै नै आपसमा विलय गराउन चाहेका हुन् कि दुवैजनाका कुनै गोप्य अभीष्ट र योजना छन् भन्ने प्रश्न समेत उठाउन थालिएको छ । तर, यो सतही आशंका मात्र हुनसक्ने धेरैको मूल्यांकन छ । मूलरूपमासमस्याको चुरो दुई पार्टीको आकार र शक्तिमा भएको ठूलो असमानता नै हो जसले पार्टी एकीकरणलाई यतिका दिन बितिसक्दा पनि टुंगोमा पुग्न दिइरहेको छैन ।
तर, अब निकै ढिला भैसकेको छ । एकता गर्ने भनेको विगत पाँच महिनामा पार्टी एकीकरणका सन्दर्भमा व्यक्त गरेको भनिएको चासो र चिन्ताले कुनै नतिजा दिएको छैन । यसभित्र पनि अनेक कारण छन् । दशैंको बीचमा दुई पार्टीबीच एकता गर्ने र एउटै गबठन्धनमा चुनावमा जाने सम्झौता भए पनि पछि केन्द्र र प्रदेशको निर्वाचनपपछि एकता हुने, त्यसपछि सरकार गठनछि, त्ययसपछि प्रधानमन्त्रीको भारत भ्रमणपछि, त्यसपछि लेनिन दिवसका दिन एकता घोषणा हुने बताएका नेताहरु अब एकताको मिति तोक्नसक्ने अवस्थामा छैनन् । यति हुँदाहुँदै पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मे ५ तारिख अर्थात बैशाख २२ गते दुई दलहरुबीच एकता हुनसक्ने बताउनुभयो त्यो पनि हावादारी सावित भएको छ ।
एकताका लागि माओवादीले १० वर्षसम्म गरेको सशस्त्र संघर्षलाई कसरी सम्बोधन गर्ने, चुनाव चिन्ह के राख्ने र एकीकृत दलको संगठनात्मक संरचनामा दुबै दलको अनुपात के हुने जस्ता विषयमा सहमति हुन बाँकी रहेको बताउने गरिएको छ । तर कतिपयले चाहिं एकता महाधिवेशनपछि पार्टी र सरकार प्रमुखको जिम्मेवारीबारे प्रचण्डले अहिले नै सुनिश्चितता खोजेकाले सहमतिमा ढिलाई भइरहेको ठान्दछन् । एकताको अड्को नेताहरुको सम्भावित हैसियत नै रहेको धेरैको बुझाई छ । यदि नेताहरुले आआफ्नो हैसियत खोजेकै कारण एकता प्रक्रिया अलमलमा परेको र यसबाटै एकतामा अबरोध आउने हो भने यो इतिहासकै सबैभन्दा ठूलो र गम्भीर भूल हुने राजनीतिक विश्लेषकहरुले बताइरहेका छन ।
अहिले बाम गठबन्धनले पाएको मतको सम्मानका लागि पनि पार्टी एकताको विकल्प छैन । जनताले ओली र प्रचण्डको अनुहार हेरेर भोट दिएका हैनन् । दुई पार्टी एक भएर बहुमतको सरकार बन्छ, देशमा सुशासन र स्थिरता कायम हुन्छ, समृद्धिको ढोका खुल्छ भनेर हो । यदि पार्टी एकीकरण नभएर दलहरु पुनः सत्ता संघर्षमा लागिपरे भने यसले भावी निर्वाचनपछि वामपन्थी दलको हैसियत कहाँ पुग्ने हो कसैले अनुमान नगर्न सक्दैनन् ।