काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टनका टन सुन बाहिरएको छ’ भन्दा सबैलेहावादारी गफ माने । तर, जब साँढे ३३ किलो सुन हराएको र सनम शाक्यको हत्या प्रकरणको छानबिन थालियो तब नेपालमा सुन तस्करीको जालो कति मजबुत रहेछे भन्ने खुल्यो । शाक्यको हत्या काण्ड सुन तस्करीसंग जोडिएको र यसमा उच्च प्रहरी अधिकृतहरुको संलग्नता रहेको अहिलेसम्मको अनुसन्धानले खुलेको छ । २९ जनाबिरुद्ध मुद्दा दायरभएको छ । सुन तस्करीको छानबिन प्रहरीलाई दिंदा सत्य तथ्य बाहिर नआउने देखेर गृहमन्त्रालयभित्रैबाट छानबिन थालियो अनि लहरो तान्दाा पहरो थर्कन थाल्यो । अनुसन्धानका क्रममा पछिल्लो साढे ४ वर्षमा झण्डै ३८ क्वीन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको छ ।
अनुसन्धानका क्रममा विभिन्न स्थानबाट बरामद गरेको रजिष्टरमा ४२१ पटक विभिन्न परिणाममा सुन तस्करी भएको खुलेको हो । टोलीले चूडामणि उप्रेती ‘गोरे’ समूहले पछिल्लो चार वर्षमा मात्र कवि ३८ क्वीन्टल सुन तस्करी गरेको पनि पत्ता लगायो रयो सबै सुन दुबई र बैंककबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाटै आउने गरेको थियो । समितिले बरामद गरेको रिजष्ट्रारमा सुन ल्याउने व्यक्तिको नाम, परिणाम, ल्याएको व्यक्तिको नाम र भरियाको नाम समेत उल्लेख भएको छ ।
उनीहरुले सुन तस्करीका लागि तत्कालीन विमानस्थल प्रहरीको सिङ्गो सेटसँगै सेटिङ मिलाएर भेटिएको छ । गोरे समूहले प्रहरीसँग सेटिङ मिलाउन कुल २ करोड २० लाख ७७ हजार रुपैयाँ प्रहरीलाई बुझाएको लेजर समेत फेला परेको छ । प्रहरीलाई बुझाएको रकमको विस्तृत विवरण समूहले एउटा डायरीमै उल्लेख गरेको छ ।
गोरेले प्रहरी अधिकारीहरुलाई मामा भनेर सम्बोधन गरेका छन् । र, तत्कालिन प्रहरी नायब महानिरीक्षक गोविन्दप्रसाद निरौला, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्री, प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायव उपरीक्षक सञ्जय राउत, प्रहरी जवान विष्णुबहादुर खड्का र प्रहरी हवल्दार अम्बरबहादुर थापा मगरले पैसा लिएको अभिलेख भेटिएको छ । त्यसरी तत्कालीन डीआईजी निरौलाले ३ पटक गरेर १७ लाख रुपैयाँ, एसएसपी श्याम खत्रीले १६ पटकमा १ करोड १२ लाख ९२ हजार रुपैयाँ, एसपी विकासराज खनालले दुई पटक गरेर ५० लाख रुपैयाँ र डिएसपी सञ्जयबहादुर राउतले ६ पटकमा १५ लाख रुपैयाँ गोरेबाट लिएको खुलेको छ ।
साढे ३३ केजी सुन तस्करी र तस्करीमा संलग्न सनम शाक्यको हत्याको अनुसन्धान अझै जारी छ । तस्करीमा प्रहरीका उच्च अधिकारी संलग्न रहेको पुष्टि भैसकेको छ । अहिलेसम्म वरिष्ठ प्रहरी अधिकारीदेखि २९ जना पक्राउ परेका छन् ।
यस प्रकरणमा ७ प्रहरी अधिकारी, पक्राउ परेका २९ जनासहित अन्य फरार अभियुक्तसहित ६२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा बुधबार मुद्दा दर्ता भएर बयान सकिएको छ । उनीहरुमाथि संगठित अपराध र ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा चलाइएको छ ।
विराटनगर–३, पोखरिया कन्या मार्गमा त्यस स्कोर्पियो गाडीको डिकीमा सनमको शव फेला परेको थियो । त्यसवेला पक्राउ परेका टेकराज मल्ल, कृष्ण भन्ने नरेन्द्र कार्की र मोहन काफ्लेले मोरङ प्रहरी समक्ष आफूहरु आफैं पनि पीडित भएको बयान दिएपछि महाशाखाको अनुसन्धानमाथि प्रश्न उठेको थियो ।
कसरी हुन्छ सुन तस्करी ?
सुन तस्करी जति भैरहेको छ पक्राउ भने कमै मात्र पर्ने गरेको र यसमा तीन तहको ‘सेटिङ’ रहने गरेको खुलासा पूर्वएआईजी विज्ञानराज शर्माले गर्नुभएको छ । शर्माले विमानस्थलम बिभिन्न घेरा हुने र तस्करले पहिलो चरणमा भन्सार कार्यालयका कर्मचारीसँग ‘सेटिङ’ मिलाउँछन् । एयरलाइन्सका कर्मचारीसँग पनि ‘सेटिङ’ हुन्छ । तेस्रो घरामा मात्र प्रहरीसँग सेटिङ हुने खुलासा गर्नुभएको छ ।
शर्मा भन्नुहुन्छ–अध्यागमनका कर्मचारी र गुप्चरसँग पनि मिलेमतो हुन्छ । विमानस्थलमा खटिएका गुप्तचरसँग भने तस्करको सोझो सम्पर्क हुँदैन । भन्सार र अध्यागमनका कर्मचारीमार्फत् गुप्तचरका कर्मचारीसँग मिलेमतो हुन्छ । यसरी सबै संयन्त्र कब्जामा लिएपछि तस्करीको योजना सफल हुन्छ । त्यसैले छानबिन सबै संयन्त्रमाथि हुनुपर्ने हो ।
सुन पठाउनुअघि विमानस्थलका सबै संयन्त्रमा मान्छे फिट गरिएका हुन्छन् । सबै मान्छे आआफ्नो ठाउँमा रहेको पक्का भएको खबरपछि मात्रै तस्करले जहाजमार्फत् सामग्री पठाउँछ । यस क्रममा उसले तस्करीका सामग्री प्याक गरिएको, लगेको फोटो भाइबर, इमो वा फेसबुकमार्फत् भन्सार र एयरलाइन्सका कर्मचारीकहाँ आइपुग्छ । एयरलाइन्सका कर्मचारीमार्फत् सर्कुलेट हुँदै सम्बन्धित जहाजको लोडर उसम्म पुग्छ । सोही फोटोको आधारमा तस्करको सामग्री पहिचान हुन्छ । लोडरले अन्यसँगै तस्कर सामग्रीलाई गाडीमा लोड गरेर भन्सार चेकजाँच कक्षमा लैजान्छ ।
सामान्यतः जहाजबाट आएका सम्पूर्ण सामग्री एक्सरे मेसिनमा एकएक गर्दै चेकजाँच गरिन्छ । तर, तस्करीका सामान सकेसम्म एक्सरे मेसिनमा राखिन्न । राखिहाले पनि चेकजाँच गर्नेले नदेखेझैं गरिदिन्छ । किनकी, त्यो लगेजको फोटो जाँच गर्ने कर्मचारीसम्म पुगिसकेको हुन्छ । तस्करीको सामान सुन हो भने रातारात सीमा कटाइन्छ ।