युगसम्बाद साप्ताहिक

मोदी भ्रमणले ल्याएको तरङ्ग
Tuesday, 05.15.2018, 09:30am (GMT5.5)

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बैशाख २८-२९ गते  नेपालमा भएको  धार्मिक-राजनीतिक भ्रमणको उपलब्धि र यसबाट आन्तरिक राजनीति एवं कुटनीतिक क्षेत्रमा पर्नसक्ने प्रभाव वारे बौद्धिक राजनीतिक क्षेत्रमा गम्भिर चासो बढेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले  संसदमा नै कुटनीतिक त्रुटि भएको स्वीकार गर्नुभएको यो भ्रमणका सन्दर्भमा देखिएका दृश्य र विन्तिबिसाउका प्रकरणले राजनीतिक क्षेत्रमा नयाँ तरङ्ग ल्याएको छ । जबरजस्त हिन्दीमय बनाइएको जनकपुरमा देखिएको ताझाम र २ नं.प्रदेशका मुख्यमन्त्रीको राष्ट्रिय मर्यादा विपरीतको कथनका अन्तर्निहित कारण गम्भिर चासोका विषय बनेका छन् । मोदी भ्रमणकै बेला सत्तारुढ भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले  नेपालको अखण्डभूमि   जनकपुरलाई भारतमा विलय गर्नुपर्ने भन्दै  दुई देशबीचको सम्बन्ध धमिल्याउन गरेको  बकबास पनि उत्तिकै निन्दा र चर्चाको विषय भएको छ ।   पार्टी एकीकरणको सङ्घारमा रहेका सत्तासाझेदार दल नेकपा एमाले र माओवादीबीच दूरी बढेको आभास दिने गरी छताछुल्ल हुनथालेको असन्तुष्टिले पनि दुई तिहाइ बहुमतको स्थीर सरकारको आधार कतै खल्बलिँदै त गएको छैन भन्ने आशङ्का उब्जाएको छ । नेपालको आन्तरिक राजनीतिमा देखिनेभन्दा नदेखिने तत्वको प्रभाव रहनेगरेको तीतो यथार्थ अभिलेखमा छ । 

मोदी भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई धेरै उच्चाइमा पुर्याएको र असमझदारीको कुनै कसर बाँकी नराखी आत्मीयता प्रदर्शित भएको धुवाँधार प्रचार भैरहेको छ ।यस्तै प्रचार प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि पनि भएको थियो । भारतले विगतमा शएका सम्झौता र समझदारीको कार्यान्वयनमा बिलम्ब गर्दैआएको तीतो यथार्थकै कारण नयाँ सम्झौता गर्नेतिर भन्दा पहिले कबोल गरेका बाचा पूरा गर्न नेपालले जोडदिने नीति यस पटक पनि दोहोरिएको छ । भारतले प्रपञ्च नरचेको भए र नेकपा एमालेका तत्कालिन महा सचिव माधव नेपालले पत्रै लेखेर नरोकेको भए २०५५ सालभित्रै बनिसक्ने अवस्थामा पुगेको अरूण-३ अन्ततः भारतकै हातमा पुगेको तथ्य एकातिर छ भने भारतले लामो समय ओगटे पछि बल्ल ९०० मेघावाटको यो योजना निर्माणका लागि मोदी र ओलीबाट एकसाथ शिलान्यास भएको छ । असमझदारी कतै नरहेको खैंजेरी जति नै बजाए पनि नेपाल राष्ट्र बैंकमा थन्किएको भारू वारे ओलीको दिल्ली भ्रमणले जस्तै मोदीको नेपाल भ्रमणले पनि कुनै निकास निकालेन । नेपाली व्यावशायीहरूको अरबौं लगानी भएर तेसै थन्किएका ग्यास बुलेट वारे पनि कुनै निर्क्योल भएको देखिएन । सीमा अतिक्रमणको बेग अझै नथामिएका प्रकरण यथास्थानमै छन् । डुबानको समस्याको कुनै निदान छैन । एकातिर व्यापार घाटाको चरम गति अर्कातिर सीमित उत्पादनको चीया ,अदुवा र अन्य वस्तुको भारत निर्यातमा अवरोधको निरन्तरताले समस्याको चूरो नगलेको देखाइरहेको छ । रेलमार्ग र जलमार्गको सपनाले वर्तमानको पीडा न्यूनीकरण हुने कुनै आधार छैन । यस्ता टिप्पणीहरू छ्याप्छ्याप्ती छन् ।

नेपाल र भारतका बीच तीन बर्ष अगाडि हिउँको जुन पहाड खना भएको थियो त्यो पग्लिएको छ तापनि दुबै देशका प्रधानमन्त्रीहरूले शब्द शब्दमा व्यक्त गरेजस्तो उच्चाइमा पुगेको आमअनुभूति हुने व्यवहार प्रदर्शित हुन बाँकी नै छ ।  भारतीय प्रधानमन्त्री नेपाल आउँदा नेपालले सुरक्षा दिनैनसक्ने आभास दिने गरी भारतीय सुरक्षाकर्मी नै चाहिने बोध गराउने जुन कसरत भयो त्यो कुनै नेपालीजनलाई पचेको छैन । नेपाली सेना र प्रहरीको सुरक्षा प्रबन्ध गर्ने क्षमतामा नेपाली जनता सधैं विश्वस्त छन् । भारतीय सञ्चारकर्मीलाई जहाँ पनि प्रवेश खुला गर्ने र नेपाली सञ्चारकर्मीलाई निषेध गर्ने कुरु पनि त्यत्तिकै अपाच्य छ । नेपालको आन्तरिक मामिलामा अब भारतले दखल नदिने समझदारी विकास भएको जुन सकारात्मक सन्देश प्रवाहित भएको छ त्यो अनुभूत हुन लामै समय कुर्नुपर्छ । भारतले नेपालमा स्थायित्व र विकास  साच्चै नै  चाहेको हो कि नेपाललाई आफ्नो विशेष प्रभाव क्षेत्र कायम गर्ने उद्देश्य राखेर रणनीतिक परिवर्तन गरेको हो भन्ने कुरा पनि राजनीतिक बौद्धिक क्षेत्रमा गहन बहसको विषय बनेको छ । जनअपेक्षा र परिवर्तित विश्वसन्दर्भ अनुरूप नेपालको अर्को छिमेकी चीनसित विकासको क्रममा रहेको बहुआयामिक सम्बन्ध भारतलाई अप्रीतिकर रहेको जनाउ त्यहाँका सञ्चार माध्यमले निर्देशित रूपमा दिइरहेका र चीनको प्रभाव विस्तार हुन नदिने आकाङ्क्षा जाहेर हुँदैआएको पृष्ठभूमिमा मोदी भ्रमणको प्रभाव यसमा कति रहने हो भन्नेतिर पनि आम चासो बढिरहेको छ । चीनसित हस्ताक्षर र समझदारी भएका अनि कार्यान्वयनको ब्यग्र प्रतिक्षामा रहेका   योजना -आयोजनाहरूको लामो सूची छ । भारत र चीनसित समान हैसियतको सम्बन्ध विस्तारको नेपाली जनचाहनालाई मूर्त रूप दिन अब ओली सरकारले कस्तो कसरत गर्छ भन्ने कुतुहलता पनि उत्तिकै जागृत छ । प्रधानमन्त्री ओलीले संसदमा नै निकट भविष्यमै चीन भ्रमण गर्ने जानकारी दिनु भएकाले यतातिर पनि जनचासो बढ्नथालेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com