युगसम्बाद साप्ताहिक

यही हो भारतको सदासयता र सहयोग !
Wednesday, 05.30.2018, 04:44pm (GMT5.5)

काठमाडौं । नेपालको विकास र समृद्धि चाहने भन्ने भारतले यसका लागि के कति काम गरेको छ र के कस्ता अबरोध खडा गरेको छ भन्ने उदाहरण एक होइन अनेक छन् । ठूलादेखि साना आयोजनासम्म जिम्मा लिएर काम नगर्ने भारतको प्रवृत्तिले सम्बन्धका एतिहासिक दृष्टान्तलाई खिल्ली उडाएको छ । यसै कारण नेपाल र भारतबीचको सम्बन्ध जनस्तरमा अनि धार्मिक सांस्कृतिक रूपमा जति निकट छ राजनीतिक रूपमा त्यस्तो छैन । नेपाल भारतबाट अनेक पक्षबाट प्रताडित छ । भारतले नेपालसंगको सम्बन्धलाई शब्दमा मात्र व्यापकता दिएको छ ।
भारतले नेपालको जलविद्युत क्षेत्रमा मात्र ७ हजार मेगावाट क्षमताका आयोजना ओगटेर राखेको छ । त्यस्तै भारतले प्रतिबद्धता जनाएका ठूलादेखि साना साना आयोजना समेत वषौंसम्म सम्पन्न गरेको छैन । भारतले नाकाबन्दी लगाएकै छैन भन्दै ६ महिना नाकाबन्दी ग¥यो । सीमा मिचेकै छैन भन्दै मिचिरहन्छ । सीमाक्षेत्रमा बाँध बाँधेर नेपाली भूमि डुबानमा पारिरहन्छ । नेपाल र नेपालीको विकास एकमात्र चाहना भन्दै नेपाली उत्पादन निर्यातमा अनेक अबरोध लगाउँछ । जल आयोजनाहरू ओगटेर बस्छ । 
गर्नुपर्ने केही नगर्ने भारतले नगर्नुपर्ने जति सबै चुपचाप गरिरहन्छ । भूकम्पपछि भारतले दिने भनेको अनुदान ऋण सहयोग अहिलेसम्म दिएको छैन । पुनःनिर्माण गर्ने भनेर जिम्मा लिएका पूर्वाधारको अहिलेसम्म काम भएको छैन । यस्तै गर्नुपर्ने काम नगरेको पछिल्लो उदाहरण छ रामेछापका एक दर्जन विद्यालयको पुनःनिर्माण । 
रामेछाप जिल्लामा भूकम्पले सबभन्दा बढी क्षति पु¥याएका केही विद्यालयको पुनःनिर्माण भारतीय दतावासले जिम्मा लिए पनि अहिलेसम्म काम नै सुरू भएको छैन । यसले गर्दा रामेछापमा शिक्षा क्षेत्र प्रभावित भएको छ । भूकम्पले रामेछापका ४ सय १९ वटा विद्यालयमा क्षति पुर्याएको थियो । तीमध्ये सबैभन्दा बढी क्षति भएका जटेश्वर मावि चचुरे, त्रिपुरेश्वर मावि दुरागाउँ, निलकण्ठेश्वर मावि कठजोर, जनकल्याण मावि च्यास्कु, कृष्णपुरी मावि खनियापानी र खाँडादेवी मावि चोप्राङका भवन निर्माणको जिम्मा भरतीय दूतावासले लिएको थियो ।
यसैगरी श्रीकृष्ण मावि टिमु, अन्तर्रा्ष्ट्रिय युवा मावि पुणिघ्याङ लखनपुर, पशुपति मावि नागशिवा र जनजागृति मावि वेतालीको भवन निर्माण जिम्मा पनि भारतीय दूतावासले लिएको थियो । अन्य विभिन्न दातृ संस्था र नेपाल सरकारबाट निर्माणको जिम्मा लिएका विद्यालय भवनहरू धमाधम बने पनि भारतीय दूतावासले जिम्मा लिएका कुनै पनि भवनको काम सुरू भएको छैन । विद्यालय भवन निर्माण सुरू नहुँदा विद्यार्थीहरूलाई अस्थायी टहरोमा नै पठन पाठन गर्नुपर्ने वाध्यता रहेको छ ।
जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका इकाई प्रमुख हेमन्त बुढाथोकी निर्माणको जिम्मा लिएका भवनको काम सुरू गर्न पटक पटक ताकेता गर्दा पनि काम सुरू नभएको बताउनुहुन्छ । जिल्लामा ३ सय भन्दा बढी विद्यालय निर्माण चलिरहेको भए पनि भारतीय दूतावासको सहयोगमा निर्माण हुने भनिएका विद्यालयहरूको भने कुनै काम सुरू नभएको उहाँ बताउनुहुन्छ ।
नागरिक समाजका अगुवा गोपाल श्रेष्ठ ती विद्यालयहरूमा अरूलाई पनि काम गर्न नदिने र भारतीय दूतावासले पनि काम सुरू नगरेपछि समस्या भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ यस विषयमा विद्यालय व्यवस्थापन समिति, नागरिक समाज र राज्यको निकाय बसेर गर्ने वा नगर्ने अन्तिम टुंगो लगाई अघि बढ्नुपर्ने  बेला भैसकेको छ । भारतले नगरे अरूले गर्छ, तर विद्यालय जस्तो सम्वेदनशील ठाउँमा ओगटेर बस्नु भएन ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com