युगसम्बाद साप्ताहिक

खोतल्नुपर्ने दुई षड्यन्त्रात्मक हत्या काण्ड
Wednesday, 05.30.2018, 04:45pm (GMT5.5)

काठमाडौं । नेपालको राजनीतिमा रक्तपातको लामो शृङ्खला छ । कोतपर्व, भण्डारखाल पर्व जस्ता काण्डदेखि झापा विद्रोह, माओवादी विद्रोह जस्ता रक्तपातको चरण पार गरेर मुलुक गणतन्त्रमा प्रवेश गरेको एक दशक नाघिसकेको छ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रम २०४६ मा प्रजातन्त्र पुनःस्थापनापछि सुरू हुन्छ । यस अवधिमा ठूलठूला काण्ड मच्चिएका छन् । प्रजातन्त्र पुनःस्थापनासंगै एकाएक उदायीमान वाम नेता मदन भण्डारीको २०५० साल जेठ ३ गते रहस्यमय दुर्घटनामा मृत्यु भयो । भण्डारीसंगै तत्कालीन एमालेका संगठन विभाग प्रमुख जीवराज आश्रितको पनि मृत्यु भयो । त्यसको तथ्यसत्य अहिलेसम्म बाहिर आएको छैन । 
विश्व हल्लाउने अर्को हत्याकाण्ड २०५८ साल जेठ १९ गते शुक्रबार भयो । राजा वीरेन्द्रको वंशविनाश भयो दरबार हत्याकाण्डमा, त्यो पनि रहस्यमै रह्यो । नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको पालादेखि २४० वर्षको राजतन्त्रको इतिहासमा जनतामाझ अति लोकप्रिय राजाहरू निस्किए । जसमध्येमा पर्दछन स्व. वीरेन्द्र । वीरेन्द्रको वंशविनाश नेपालको राजनीतिका लागि अहिलेको अवस्था ल्याउने सूत्राधार त बन्यो तर, मुलुक बाह्य हस्तक्षेपको शिकार भयो । विदेशीको गुलाम भएर बस्नुभन्दा आफ्नै जनतालाई अधिकार दिएर चुपचाप बस्नु जाति भन्दै प्रजातन्त्र दिएका स्व. राजा वीरेन्द्र नेपाली जनतामाझ अत्यन्त लोकप्रिय थिए । त्यसैले अहिले पनि कुनै न कुनै सन्दर्भमा दरबार हत्याकाण्डको सम्झना आमरूपमा हुने गर्दछ । दरबार हत्याकाण्ड कसले रच्यो ? यसको उद्देश्य के थियो । धेरैको आआफ्नै तर्क छ । तर्क आआफ्नो आस्था अनुसार छ । वस्तुनिष्ठ तर्क वा विश्लेषण कसैको पनि छैन । राज्यले पनि यो घटनाको सत्यतत्थ पत्ता लगाउनुपर्ने दायित्व सम्झेको छैन ।
राजा वीरेन्द्रको सबैसंग मिल्ने स्वाभाव भए पनि राष्ट्रिय स्वाधीनताका पक्षमा दृढ थिए । भारतीय प्रभुत्ववादविरूद्ध प्रशंसायोग्य अडान लिएका कारण नेपाली जनताले गर्वका साथ लिने नाम हो । तर,  भारतीय संस्थापन पक्षलाई सन्तुलित बनाउने कूटनीतिक क्षमता भने देखाउन सकेनन् । तापनि राष्ट्रियताप्रतिको वीरेन्द्रको अडान इतिहासले सधैं सम्झनेछ । राजा वीरेन्द्रले भारतीय आक्रामकताको सामना गरेर नेपाललाई पटकपटक जागाएका छन् । वीरेन्द्र राजा बन्नेबित्तिकै महेन्द्रकालमा संरक्षण पाएका तिब्बती खम्पाहरू विरूद्ध सैन्य कारबाही गरे, जसबाट भारत–अमेरिका दुवै चिढिए । राजपरिवार र भारतको सत्तारूढ गान्धी परिवारबीच कहिल्यै विश्वासको सम्बन्ध रहेन ।
नारायणहिटी राजदबार र नयाँ दिल्लीबीचको तिक्ततापूर्ण सम्बन्धकाबीच तत्कालीन सरकारले २०४५ सालमा चीनबाट विमानभेदी अस्त्रहरू ल्याएपछि भारतले नाकाबन्दी नै लगाइदियो । यो नाकाबन्दी पञ्चायत विरोधी जनआन्दोलनको जग बन्यो र भारतले समर्थन ग¥यो । आन्दोलन मत्थर बनाउन दरबारलाई भुटानको हैसितमा रहने शर्तसहितको सम्झौताको मस्यौदा पठायो । त्यसमा हस्ताक्षर गरेको भए नेपाल भुटानको हैसियतमा पुग्थ्यो र आजसम्म राजतन्त्रको निरन्तरता हुनसक्थ्यो होला । तर, राजा वीरेन्द्रले त्यो काम गरेनन् । नेपाललाई भारतको अघोषित उपनिवेशष बन्नबाट राजा वीरेन्द्रले जोगाए, जनआन्दोलनको भावनाअनुरूप राष्ट्रिय शक्तिहरूसँगै सम्झौता गरेर बहुदलीय प्रजातन्त्रको घोषणा गरे ।
यी र यस्ता काम र अडानहरूका कारण राजा वीरेन्द्र नेपालीको मानसपटलमा सधैं चिरस्मरणीय रहेका छन् । तर प्रश्न यी राजाको परिवारकै वंश विनाश गर्ने को हो ? के छानबिन समितिले भनेजस्तै तत्कालीन दीपेन्द्रले नशाको सुरमा त्यो हत्याकाण्ड मच्चाएका थिए वा बाहिरी शक्तिको हात थियो ? यो रहस्य कुनै न कुनै दिन अवश्य सार्वजनिक होला ?
दरबारमा पारिवारिक भोज चलिरहेका बेला तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुनेगरी राजपरिवारका १० जनाको हत्या भएको थियो । हत्यामा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो ।
घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । यो घटनाको छानबिनन समितिले सबैको हत्या गरिसकेपछि तत्कालीन युवराज दीपेन्द्रले आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो र हत्याको कारण दीपेन्द्र र देवियानी राणाबीचको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न राजा वीरेन्द्र र रानी ऐश्वर्यको असहमति रहेको बताइन्छ । यो घटना जति रहस्यमय छ यसभित्र अनेक षड्यन्त्र लुकेको आशंका अहिले पनि कायमै छ । जवसम्म हत्याकाण्डको यथार्थ विवरण सार्वजनिक हुँदैनन तबसम्म यस्ता आशंका र तर्कहरू चलिनै रहनेछन् ।
दरबार हत्याकाण्डपछि राजधानीका सडकमा आगो बलेन, टायर बलेन । कारण जनता शोकमा डुबे । केही उत्तैजनक नारा भने लागे । तर, मदन–जीवराजको हत्या –दुर्घटना)पछि एमालेले आन्दोलन ग¥यो । एक दर्जनजतिको ज्यान गयो । एमाले आफैंले छानबिन समिति बनाएर दुर्घटना हैन हत्या भएको निष्कर्ष निकाल्यो । तर, त्यस लगत्तै एमालेकै सरकार बन्यो । त्यो विषय हरायो । एमाले पटकपटक सत्तामा पुग्यो तर पनि त्यो विषयको खोजी गर्ने चासो देखाएन ।
यसरी नै मदन भण्डारीको हत्या रहस्यको पोकोभित्र बन्द गरिएको छ । सो हत्याकाण्डका एकमात्र साक्षी अमर लामाको पनि हत्या भयो । मदन भण्डारी हत्याकाण्ड र दरबार हत्याकाण्ड रहस्यकै पोकोभित्र राखिएको छ । आज एमाले र माओवादीबीच मदन भण्डारीको हत्या (दुर्घटना) भएकै दिन पार्टी एकीकरण भएको छ र झण्डै दुई तिहाई बहुमतको सरकार बनेको छ । यो सरकारले मदन भण्डारी र दरबार हत्या काण्डको छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन सक्ला ?


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com