युगसम्बाद साप्ताहिक

ट्रम्प र किम शिखर वार्ता
Tuesday, 06.12.2018, 03:11pm (GMT5.5)

राजनीति भनेको सम्भावना हो र यसले जुनसुकै बेला जस्तोसुकै नतिजा दिनसक्छ भन्ने उदाहरण विश्वको महाशक्ति राष्ट्र अमेरिका र उसको  परम दुश्मन मुलुक उत्तर कोरियाले देखाएको छ । यी दुई मुलुकका राष्ट्राध्यक्षबीच आजबाट शिखर वार्ता हुँदैछ । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बहुप्रतिक्षित शिखर वार्तामा सहभागिता जनाउन सिंगापुरमा हुनुहुन्छ ।
उहाँहरूबीचको भेट उत्तर कोरियालाई आणविक हतियारबाट मुक्त गराउने बिषय प्रमुख मुद्दा हुनेछ जसलाई राष्ट्रपति ट्रम्पले शान्तिका लागि ‘एक पटकका लागि प्रयास’ भन्नुभएको छ । कोरियाली प्रायद्वीपमा लामो समयदेखि घोषणा गरिएको युद्धविरामलाई शान्ति प्रक्रियामा परिणत गर्नु पनि सम्मेलनको उद्देश्य रहनेछ ।
सम्मेलनका लागि कोरियाली नेता किम एअर चाइना ७४७ को उडानमार्फत सिङ्गापुर उत्रिनुभएको छ । “यदि सम्मेलन सफल भएमो दुई नेतालाई भेट गराउने  सिङ्गापुरका प्रयास ऐतिहासिक बन्नेछ,” किमले विमानस्थलबाट उत्रिएपछि सञ्चारकर्मीसँग गरेको संक्षिप्त कुराकानीमा बताउनुभयो ।
त्यसैगरी अमेरिकी राष्ट्रपति पनि औद्योगिक राष्ट्रहरूको समूह जी–७ को क्यानडामा भएको सम्मेलनमा सहभागी भै आइतबार नै सिङ्गापुर आइपुग्नुभएको छ । उहाँलाई स्वागत गर्न पुग्नुभएका सिङ्गापुरका अधिकारीसँगको कुराकानीमा ट्रम्पले सम्मेलनबारे धेरै राम्रो महशुस गरेको बताउनुभएको छ ।
दुई नेताको सुरक्षाका लागि सिङ्गापुरका अधिकारीले सम्मेलनस्थल र वरपरका क्षेत्रमा अत्यन्तै कडा सुरक्षाको प्रबन्ध गरेको बताएका छन् । शिखर सम्मेलन जुन १२ मा शुरु हुनेछ । यसैबीच सम्मेलनका लागि सिङ्गापुरमा हुने खर्च एक करोड ५० लाख अमेरिकी डलर हुने अनुमान गरिएको छ ।
खर्चबारे बोल्दै सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच हुने शिखरवार्ताका लागि उहाँको देशले खर्च एक करोड ५० लाख अमेरिकी डलर खर्च गर्ने बताउनुभयो । 
खर्चको आधा भाग दुई नेताको सुरक्षा प्रबन्धका लागि हुने बताइएको छ । उहाँले सिङ्गापुरले एउटा अन्तर्राष्ट्रिय शान्ति प्रयासका लागि उक्त खर्च बेहोर्नु उचित हुने बताउनुभएको छ । 
यस वार्ताले कोरियाली प्रायःद्धीप शान्ति स्थापना गर्ने र यसको विश्वमा नै सकारात्मक प्रभाव पार्ने विश्लेषण आएका छन् । यसैबीच सिङ्गापुरबाट प्राप्त समाचारअनुसार विश्वका कैयौँ देशका पत्रकार पनि सिङ्गापुरमा जम्मा भएका छन् । पत्रकारमध्ये सबैभन्दा धेरै अमेरिकी छन् । 
यो सानो शहरमा केही दिन अघिदेखि नै पत्रकारले होटल बुकिङ गरेका र ठूलो सङ्ख्याका फोटो पत्रकार पुगेका समाचार आइरहेका छन् । यस वार्तालाई विश्वमा नै बडो महत्वका साथ हेरिएको छ । कोरियाको विभाजनपछिको दुई कोरिया र अमेरिका कोरिया सम्बन्ध विकासमा सहयोग पुग्ने बताइएको छ । 
गत अप्रिल २७ मा दुई कोरियाबीच ऐतिहासिक भेटवार्ता भयो । उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीच भएको सो भेटवार्तापछि मङ्गलबारको शिखर वार्ताको वातावरण बनेको थियो । 
सो वार्तामा यी दुई देशबीच ऐतिहासिक सम्झौता पनि भयो । यसैले नै अमेरिका र उत्तर कोरियाबीच वार्ताको मार्ग प्रशस्त गरेको बताइएको छ । 
आणविक अस्त्र उत्पादन गर्न नपाइने र परीक्षणस्थल भत्काउनुपर्ने शर्त अमेरिकाले राखेको र ती शर्त पूरा गरेपछि सिङ्गापुर वार्ताको वातावरण सकारात्मकरुपमा निर्माण भएको अमेरिकीको भनाइ छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com