युगसम्बाद साप्ताहिक

हामी हाम्रो निर्णय आफैं गर्न सक्छौं ः प्रधानमन्त्री ओली
Tuesday, 06.12.2018, 03:17pm (GMT5.5)

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीेले “मुलुक कहिल्यै पनि उपनिवेश नबनेको, स्वाधीन राष्ट्रको रुपमा रहेकाले सबै देशसँग बराबरीमा रहेर आफ्नो निर्णय आफैं गर्नसक्छौं भन्नुभएको छ । 
शनिबार विराटनगरस्थित प्रदेश नं १ का प्रदेशसभाको वैठकमा पहिलोपल्ट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
त्यस क्रममा उहाँले प्रदेशहरुलाई योजनाका लागि बजेटको व्यवस्था सङ्घीय सरकारले ऋण लिएर भएपनि उपलब्ध गराउने उल्लेख गर्दै प्रदेशका जनताको अपेक्षा पूरा गर्न र भरोसाहरु कायम राख्न सफल रहन प्रदेशका सभासदलाई शुभकामना व्यक्त गर्नुभएको छ । 
उहाँले हिजो हामीले राजनीतिक र सामाजिक समानताका लागि लडाइँ लड्यौं, अब देशमा सुशासन, जनताको भलाइ र सामाजिक सम्पन्नता, आर्थिक विकासतर्फ केन्द्रीत हुनुपर्ने विषयमा जोड दिनुभयो ।
जनताले सुशासन र विकास चाहेकाले अब हाम्रो कार्यदिशा, सुशासन र विकासको बाटोमा क्रियाशील हुनुपर्ने प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “संविधानले व्यवस्था गरेका हकअधिकार, सामाजिक न्याय र समानताको प्रश्नलाई व्यावहारिक रुपमा कार्यान्वयन गरी आर्थिक सम्बृद्धि र सुशासनतर्फ केन्द्रीत हुनु पर्दछ ।”
मुलुक गरीब हुनुको मुख्य कारणतर्फ संकेत गर्नुहुँदै प्रधानमन्त्री ओलीले विगतमा जनताको सेवक होइन, शासक सम्झेको, राष्ट्र र जनताको सम्पत्तिलाई पारिवारिक सम्पति ठानेको कारण मुलुक गरीब भएको र अब त्यस प्रणालीलाई परिवर्तन गरी जनपक्षीय प्रणाली जनताले ल्याएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले जनतामा परिवर्तनको अनुभूति हुनुपर्ने, जनप्रतिनिधिलाई जनताको सेवकको रुपमा काम गर्नुपर्ने, विकास कसरी गर्ने, जनताको नजिक बस्ने र दृढ निश्चयका साथ देश बनाउने सङ्कल्पका साथ अगाडि बढ्न सुझाव दिनुभयो ।
“म भ्रष्टाचार गर्दिन्, भ्रष्टाचार गर्नेको अनुहार पनि हेर्दिन । मैले त्यसैगरी, मन्त्रिपरिषद् र कर्मचारतन्त्रलाई पनि स्वच्छ रुपमा काम गर्न निर्देश गरेको छु ।” हामी जनप्रतिनिधिप्रति जनताको सम्मान र विश्वास रहेकाले गरिबीमुनि रहेका जनतालाई परिवर्तनको अनुभूति गराउनतर्फ अग्रसर हुनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले सरकार समझदारीका साथ चलेको र समझदारीमै नीति तथा कार्यक्रम पारित भएकामा प्रतिपक्षलाई धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले आधारभूत समझदारी, स्थायित्व, शान्ति र विकास र लोकतन्त्रलगायतका विषयमा मिलेर अगाडि बढ्न आग्रह गर्नुभयो ।
आफ्नो भारत भ्रमणपछि भारतसँग राम्रो सम्बन्ध बनेको, भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि सम्बन्ध थप राम्रो भएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल–भारतको राम्रो सम्बन्धको विकासको क्रममा विरानगरस्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालय हटेको, सीमानामा बाधिएका बाँधका कारण डुबान क्षेत्रको सर्भे, सीमा समस्याका साथै सन् १९५० को सन्धिको अद्यावधिक गर्नका लागि विज्ञहरु काम गरिरहेका छन् ।”
निकट समयमा हुन लागेको चीन भ्रमणको सम्बन्धमा उहाँले नेपालको हितलाई कायम राख्ने विषयमा ढुक्क रहन आग्रह गर्नुहुँदै चीनले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक 
अखण्डतालाई सम्मान गरेको स्पष्ट पार्नुभयो ।वीरगञ्ज–काठमाडौं रेलमार्ग निर्माणका लागि सर्भे शुरु भई एक वर्षमा पूरा भएपछि पाँच वर्षमा रेल सेवा सञ्चालन हुने विश्वास व्यक्त गर्दे उहाँले केरुङ–काठमाडाँै, काठमाडौंँ–पोखरा रेलमार्गको निर्माणका साथै तीन वर्षमा काठमाडौँमा मोनो रेल चल्ने आवश्वासन पनि दिनुभयो । 
कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने विषयमा प्रधानमन्त्री ओलीले विभिन्न नदीहरुलाई मिलाउने, डाइभर्सन निर्माण गर्ने, आधुनिक प्रविधिद्वारा सिँचाइ र सुनकोशी–कमला नदीमा डाइभर्सनबाट प्रदेश नं–२ मा पनि सिँचाइको सुविधा उपलब्ध गराउने जानकारी गराउनुभयो ।
जनतालाई आतङ्कित पार्नेहरुलाई सचेत गराउँदै प्रधानमन्त्री ओलीले हिंसाको कुरा गर्ने, चन्दा असुली र कानुन नमान्नेलाई त्यस्ता हिंसालगायतका कार्यमा नलाग्न, देशको सार्वभौंम, अखण्डतालाई मान्न आग्रह गर्दै यस्ता प्रवृत्ति नत्यागेमा कानुनबमोजिम कारवाही हुने बताउनुभयो ।  
प्रदेशलाई सबल बनाउन खुल्ला दिलले सहयोग गर्ने प्रतिबद्धता प्रकट गर्नुहुँदै प्रधानमन्त्री ओलीले प्रदेशको मुहार फेर्ने प्रदेशसभाको काँधमा रहेकाले अब ‘सम्बृद्ध नेपाल, सुखी नेपाली’ बनाउन आह्वान गर्नुभयो ।
प्रदेश नं १ सर्वाधिक सुन्दर र सर्वाधिक सम्बृद्ध रहेको प्रसङ्ग उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले भौंगोलिक विविधताको रुपमा संसारको उच्च शिखर सगरमाथाका साथै समुद्र सतहदेखि ७८ फिटमात्र उचाइमा अवस्थित केचनाकवलका साथै कृषि, जडिबुटी, ऊर्जालगायत विकासका आधारहरु रहेको उल्लेख गर्नुभयो ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com