युगसम्बाद साप्ताहिक

तेल तस्करी रोक्न सरकारी संयन्त्र असफल- नेविसंघको मूल्यवृद्धि बिरुद्ध प्रदर्शन
Tuesday, 06.12.2018, 03:23pm (GMT5.5)

काठमाडौं । नेपाल आयल निगमले पछिल्लोपटक  पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि यसको बिरोधमा नेपाल विद्यार्थीसंगले बिरोध प्रदर्शन गरिरहेको छ । नेपाली कांग्रेसले संसदमा महंगी लगायतका विषयमा सशक्त भूमिका खेल्न नसकेको भए पनि भातृ संगठनलाई सडकमा उतारेर आफूलाई सक्रिय गराइरहेको छ । यसबीचमा उसले असारको पहिलो साता ७७ वटै जिल्लाका सभापतिहरुलाई भेला गरेर भावी रणनीति बनाउने तयारी गरिरहेको छ । 
केही वर्षयता अन्तर्राष्ट्रिय मूल्य अनुसार मूल्य समायोजन गर्दैआएको आयल निगमले तोकेकोा मूल्य भारतकोभन्दा अझै सस्तो छ । यसले गर्दा नेपालबाट भारततर्फ तेल तस्करी भैरहेको छ ।
नेपालमाभन्दा भारतमा डिजेल र पेट्रोलमा १८ देखि २० रुपैयाँसम्म महंगो छ । यसले गर्दा सीमावर्ती क्षेत्रबाट भारततर्फ दैनिक ५ लाख लिटरसम्म तस्करी भैरहेको जानकार सूत्रहरु बताउँछन् । तस्करी रोक्न सरकारी संयन्त्र पूर्णरुपमा विफल देखिएको छ ।
तराईका जिल्लाहरुबाट भारततर्फ तेल तस्करी हुन थालेको छ । यसलाई रोक्न आयल निगमले गृह मन्त्रालयलाई गुहारेको छ । तर, गृह प्रशासनको सक्रियता देखिएको छैन । पछिल्लो मूल्यवृद्धिपछि पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । यो पटक मूल्य बढाउँदा अझै पनि निगमलाई महिनामा १८ करोड ६२ लाख घाटा छ । निगमलाई अहिले ग्यासमा प्रतिसिलिन्डर १३९ रुपैयाँ घाटा छ ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पछिल्लो समयमा लगातार वृद्धि भइरहेको छ । निगमले प्रत्येक १५–१५ दिनमा आउने नयाँ मूल्य सूचीका आधारमा मूल्य समायोजन गरेको हो ।
भारतका प्रान्तपिच्छे मूल्य फरक छ र त्यसैले नेपालकोभन्दा त्यहाँ २० देखि ३० रुपैयाँसम्म महंगो रहेको हुँदा नेपालबाट भारत तेल तस्करी गर्न गिरोह नै सक्रय भएको पाइएको छ । यस्तो गतिविधि नियन्त्रण गर्न गृह मन्त्रालयलाई नेपाल आयल निगमले आग्रह गरेको छ । तर अहिलेसम्म तस्करी रोक्न सकिएको छैन । भारतीय सवारीसाधनहरु नेपाल छिरेर तेल भरेर जाने मात्र हैनन, साइकल, मोटरसाकलमा जर्किनमा भरेर लाने गरेका छन् ।
यसको खुलासा भारतीय संचार माध्यमहरुले नै गरिरहेका छन् । यतिबेला सीमा क्षेत्रबाट भारतीय सवारीहरु गाडीमा तेल भर्न नेपाल आउने क्रम बढेको छ । जसका कारण भारतीय सीमा क्षेत्रका पम्पको कारोबार ५० प्रतिशत घटेको छ । ड्रम र ग्यालेन ल्याएर तेल भरेर भारतका बजारमा बिक्री गर्ने समूह नै सक्रिय छन् । अहिले नेपालमा भारतको रक्सौल आसपासको बजारमा भन्दा पेट्रोल लिटरमा २५ रुपैयाँ र डिजेल २७ रुपैयाँ सस्तो छ । पूर्वी सीमा क्षेत्रमा भारत र नेपालको तेलको मूल्यअन्तर ३० रुपैयाँ पुगेको निगमका बोर्ड सदस्य अरविन्द अग्रवालले जानकारी दिनुभएको छ ।
नेपालबाट भारततर्फ तेल तस्करी मौलाएको छ । नेपालबाट लगिने तेल भारतीय बजारमा कालोबजारी गरेर बिक्री गरिँदैछ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशिल भट्टराई नेपालमा पछिल्लो समयमा डिजेलको माग अस्वभाविक रुपमा बढिरहेको बताउँदै तराईका पेट्रोल पम्पहरुमा तेलको माग अप्रत्याशित दरमा बढेकाले त्यसमाथि नियन्त्रण गर्न आवश्यक देखिएको बताउनुभएको छ ।
अहिले ताईमा १० प्रतिशतसम्म डिजेलको आयात बढेको छ । मागअनुसार भारतबाटै नै तेल ल्याउनुपर्ने भएकाले अहिले बढ्दै गएको दरले चुनौती थप्दै गएको उहाँको भनाइ छ । भारतीय आयल कर्पोरेशनले शुक्रबार पठाएको नयाँ मूल्यअनुसार निगमलाई महिनामा पेट्रोलियम पदार्थमा १ अर्ब १० करोड घाटा हुने अवस्था आएको निर्देशक भट्टराईले बताउनुभयो ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com