युगसम्बाद साप्ताहिक

मातृभूमिको माया यसरी दर्शाए डा. देवकोटाले
Tuesday, 06.12.2018, 03:23pm (GMT5.5)

काठमाडौं । कसैलाई थाहा थिएन, हजारौंको ज्यान बचाउने डा. उपेन्द्र देवकोटा उपचार नै नहुने रोगको शिकार हुनेछन् भनेर । यी डाक्टर केवल डाक्टर मात्र हैनन्, महान चिन्तक पनि हुन् । समाजसेवी हुन्, देशभक्त हुन् । नत्र बेलायतको सुविधासम्पन्न उपचार छोडेर क्यान्सरले छटपटिन स्वदेश फर्कने थिएनन्, कति कठिन समयमा पनि आफ्नो जन्मघर जाने चाहना देखाउने थिएनन् । अनि आफूले सानोमा पानी पिएको धाराको पानी पिउने रहर राख्ने थिएनन् ।
मृत्युको निकट पुगे पनि देवकोटालाई देशको चिन्ताले सताउन छाडेन । उहाँलाई भेट्न जाने हरकोहीलाई देशभक्तिको मार्ग अपनाउन सुझाव दिए, नेताहरुले राष्ट्रिय एकता कायम गर्न सुझाव दिए, युवा विद्यार्थीहरुलाई विदेशमा शिक्षा लिए पनि स्वदेश फर्केर मातृभूमिको सेवा गर्न प्रेरित गरिरहे ।
हुन पनि डा. देवकोटा बेलायतको अथाह सम्भावना र अवसर छाडेर स्वदेश फर्के । उनले व्यक्तिगत स्वार्थ मात्र हेरेको भए, आज अर्कै परिस्थिति हुनसक्थ्यो, तर विदेशको अवसरलाई लत्याउने देवकोटा देशभक्तिको नमूना पेश गरे । हो, कमजोरी जसको पनि हुन्छ, डा. देवकोटामा पनि मानवीय कमजोरी थिए होलान्, तर, ती कमजोरीका अगाडि उनको योगदान सगरमाथाको चुचुरो झैं उत्तुंग ठडिएको छ । 
रामायणमा भगवान श्रीरामले भनेका छन् “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी”, अर्थात् जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा प्यारो हुन्छ । यस्तै सन्देश दिएका छन् डा. उपेन्द्र देवकोटाले । 
जीवनको अन्तिम क्षणसम्म पनि जननी जन्मभूमिश्च स्वर्गादपि गरियसीको मान्यतामा अडिग डा. देवकोटा जीवनको ऊर्जाशील समयमा पनि देशलाई नै रोजेर स्वदेश फर्के र न्यूरो सर्जनमा क्रान्ति ल्याए । देशभक्ति थिएन भने बेलायतको आवासीय भिसा त्यागेर नेपाल आउने थिएनन् । अनि बिरामी भएर बेलायत पुगेपछि त्यही वा विश्वका उच्चतम् सुविधायुक्त अस्पतालका शैयामा सुस्ताउन सक्थे । झिनो भए पनि जीवनरक्षाको आशा बोकेर थप उपचारका लागि भौतारिन सक्थे । बाँच्नका लागि मरिहत्ते गर्नुभन्दा छोटिँदै गएको जीवनका आखिरी पललाई सार्थक बनाउन आफ्नै मुलुक फर्किने निधो गरे । देश फर्के अनि छटपटिन लागे जन्मथलोको मोहले । 
शनिबार डा. देवकोटाको यो चाहना पूरा गरियो । बेलायतमा हुँदा नै नेपाल फर्केपछि एकपटक जन्मथलो गोरखाको बोहोरागाउँ पुग्ने इच्छा थियो, डाक्टर देवकोटाको । तर गम्भीर स्वास्थ्य अवस्थाका कारण भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने अवस्थाका उनको इच्छा अनुसार जन्मथलो पु¥याउनु कठिन काम थियो । तर, शुक्रबार राति स्वास्थ्य अवस्थाका बारेमा सामाजिक सञ्जालहरुमा भ्रमपूर्ण खबर फैलिएको भोलिपल्टै शनिबार हेलिकप्टरबाट जन्मगाउँ पु¥याइयो ।
डा. देवकोटाको अनुहार हेर्न हजारौंको भी थियो । हेलिकप्टर अवतरण गर्ने ठाउँमा डेढ घण्टाअघिदेखि आफन्त र शुभेच्छुकहरु जम्मा भएका थिए । शुरुमा आएको अल्टिच्युड एयरको हेलिकप्टरमा डाक्टर देवकोटाका तीनजना छोरीहरु मेधा, मञ्जरी र वसुधा तथा न्युरो अस्पतालका एक चिकित्सक थिए भने नेपाली सेनाको नाइन एन एआरआई कलसाइनको भिभिआईपी हेलिकप्टरमा देवकोटा, उहाँकी पत्नी डाक्टर मधु दिक्षित र केही चिकित्सक थिए ।
हेलिप्याड छपक्कै छोप्ने गरी जम्मा भएका शुभचिन्तकको भीड प्रहरीको सहयोगमा पन्छाउँदैस्ट्रेचरमा ६ जनाले बोकेर झण्डै २० मिनेट तल रहेको उनको पुख्र्यौली घरसम्म पु¥याइएको थियो । त्यसअघि नै घरमा छरछिमेक आफन्तजन र शुभचिन्तक जम्मा भैसकेका थिए । देवकोटाको मुख्य धोको भने परम्परागत सिस्नेधाराको पानी खाने थियो । दुई छोरीहरु मञ्जरी र वसुधाले ५–७ मिनेट परेको सिस्नेधाराबाट बोतलमा पानी ल्याए, पत्नी मधुले गिलासमा राखेर खुवाइदिइन ।
पानी पिइसकेपछि देवकोटाको मुहारमा छुट्टै चमक देखिएको काठमाण्डौंबाट आएका चिकित्सक डाक्टर सञ्जय कार्कीले बताए । “सरको इच्छा पूरा भएको छ, हामीले उहाँको मुहारमा चमक देखिएको छ, म घर आइपुगेको छु, आँगनमा थुप्रै मान्छे जम्मा भएका छन् भन्ने उहाँलाई थाहा छ”, कार्कीले पछिल्लो स्वास्थ्य अवस्थाबारे भन्नुभयो, ‘सबैलाई थाहा छ, उहाँको अवस्था चाहिँ गम्भिर नै छ ।’
एकघण्टा आरामपछि देवकोटालाई जसरी घरसम्म ल्याइएको थियो, उसै गरी हेलिकप्टरसम्म लगियो । फर्कने क्रममा घर नजिकैको जयन्तीदेवी मन्दिरको टिका लगाइयो । आफन्त र सयौं शुभेच्छुकको उपस्थितिका विच पतिको पुख्र्यौली थलो पुग्ने इच्छा पूरा गर्न पाएकोमा पत्नी डाक्टर मधु दिक्षितले पनि सन्तोष ब्यक्त गरिन् ।
“बेलायतमा हुँदा पनि गोरखा जाने भन्नुहुन्थ्यो, जटिल अवस्थाका कारण ल्याउन सकेका थिएनौं, आज ल्याइयो, उहाँको इच्छा पूरा भएको छ” मधुले भन्नुभयो ।
डा. देवकोटाले देश र देशबासीका लागि जेजस्तो गरे, त्यो इमान्दार ढंगले गरे ।  देशभक्तिलाई जसरी उजागर गरे, राजनीतिक क्षेत्रमा जसरी चासो देखाइरह– स्थापित राजनीति नेताका लागि समेत ठूलो पाठ हो । उहाँको देशभक्ति, धर्म, संस्कृतिप्रतिको आस्था र सम्मान सबैका लागि प्रेरणादायी रहेको छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com