काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरूष विश्वेश्वरप्रसाद कोइराला र वाम आन्दोलनका शिखर पुरूष पुष्पलाल श्रेष्ठको क्रमशः साउन ६ गते ३६ औं बिपी स्मृति दिवस र ७ गते ४० औं पुष्पलाल स्मृति दिवस मनाउने परम्पराको बिँडो यस पटक पनि नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टीले धाने । नेपालको समसामयिक राजनीतिमा सिद्धान्त, विचार, मूल्य, मान्यता र आदर्शको चर्को खडेरी परेको र दुवै नेताले आआफ्नो पार्टी स्थापना गरी अवलम्बन गरेको सिद्धान्त र विचारबाट दुवैतिरका वर्तमान नेताहरू पूर्णतः स्खलित भैसकेको आम बुझाइ रहेको भए पनि ती नेताको नाम जपेर राजनीतिक शाख जोगाउने प्रयास भने अहिले पनि जारी नै रहेको छ ।
शिक्षा र चिकित्सा सेवा जस्ता आमजनसरोकारका क्षेत्रलाई समेत निजीकरण र व्यापारीकरण गर्दै ‘बिपीको समाजवाद’को रटान गर्न नछोड्ने नेपाली कांग्रेस अहिले पथविचलनको चर्को पीडा भोगाइबाट छटपटिन थालेको बोध छ भने ‘समाजवाद’लाई आफ्नो गन्तव्य बनाएको नेपाल कम्युनिष्ट पार्टी पनि निजीकरण र व्यापारीकरणको विकार बहनकै भारीले थिचिएको छ ।
जननिर्वाचित पहिलो प्रधानमन्त्री बिपी कोइरालाले ८ वर्षको जेल जीवनपछिको ८ वर्षे भारत निर्वासन परित्याग गर्दै २०३३ साल पुस १६ गते दक्षिणबाट नेपालको राष्ट्रियतामाथि खतरा छ भन्दै वक्तव्य जारी गरी मेलमिलापको नीति लिएर नेपाल प्रवेश गरेको प्रसंग ऐतिहासिक दस्तावेजको अंग बनेको उल्लेख्य छ । प्रजातान्त्रिक शक्तिसंग सहकार्य गरी संसदीय व्यवस्थाको पुनर्थापन गर्दै गणतन्त्रसम्मको छलाङ् मार्ने पुष्पलालको विचारले उहाँको अवशानपछि मूर्त रूप लिएको प्रतीत भए पनि अहिलेको कम्युनिष्ट सरकारका नीति, कार्यक्रम र शासकीय शैली भिन्न स्वरूप र गतिमा रहेको आम बुझाइ छ ।