युगसम्बाद साप्ताहिक

अपराधको बिरोध गर्दा पनि गोली खानुपर्ने ?
Tuesday, 08.28.2018, 01:23pm (GMT5.5)

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याले अहिले सिंगो देश तातेको छ । सरकारले हत्या भएकी पन्तको परिवार र आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएकाको परिवारलाई १० लाख रुपैयाँ राहतको घोषणा गरेको छ । प्रहरी अनुसन्धान फितलो भयो भन्दै त्यहाँका प्रहरी प्रमुखलाई निलम्बित गरेको छ । प्रहरीले वास्तविक अपराधीलाई बचाउन खोजेको आरोप लगाउँदै स्थानीयले गरेको आन्दोलन हिंसात्मक भयो । प्रहरीको गोली लागेर एकजना बालकको मृत्यु भयो । 
कञ्चनपुर घटनालाई लिएर सत्तापक्षका नेताहरूले कांग्रेसले राजनीतिकरण गरेको आरोप लगाए । अपराधीलाई कारबाही गर्न माग गर्नु कांग्रेसी हुनु हो र ? यदि घटनालाई कांग्रेसले नै उचालेको रहेछ भने सरकारले किन पीडितहरूलाई १० लाखका दरले क्षतिपूर्ति दियो ? किन उच्चस्तरीय छानबिन समिति बनायो । सिडिओ र प्रहरी प्रमुखकको किन सरुवा ग¥यो अनि प्रहरी प्रमुखलाई किन निलम्बित ग¥यो ? 
यी प्रश्नहरूले विगतदेखिको एउटा प्रवृत्तिलाई निरन्तरता दिएको छ त्यो भनेको सरकारहरू भीडमा गोली नचलेसम्म सुन्दैन र देख्दैन । कञ्चनपुरमा त्यही भयो । त्यहाँ कुनै राजनीतिक दलको बिरोध प्रदर्शन हैन बालिका बलात्कारीलाई कारबाहीको माग गरिएको थियो ।
बलात्कार महिलाका लागि जीवनको सबभन्दा कठीन क्षण हो । बलात्कारपछिको उसको जीवन लगभग तहसनहस नै हुन्छ । बलात्कार गर्ने पुरुषको तुलनामा अपराधको शिकार हुने महिला समाजमा घृणाको पात्र बन्ने गरेका छन् । बलात्कारी पहुँचवाला भयो भने अझ उसलाई जोगाउने काम हुन्छ । 
बलात्कार हिंस्रक भावनाको उपज हो । केही वर्षअघि सार्वजनिक भएको एक अध्ययन प्रतिवदेन अनुसार जलवायु परिवर्तनले मानिसमा हिंसाको भावना बढाइरहेको छ र त्यो हिंसामा बलात्कार पनि पर्दछ । हत्याभन्दा जघन्य अपराध मानिने बलात्कार अस्वस्थ मानसिकताको उपज मात्र हो । यसको मतलब मानसिक सन्तुलन ठीक नभएको भन्ने हैन । मानिस पागल नहुँदा पनि मन–मस्तिष्कमा विकार भरिंदा हिंस्रक बन्छ, बलात्कारी बन्छ । यस्तो अहिलेको शदीमा मात्र हैन आदिकालदेखि नै हुँदैआएको छ । फरक के भने प्राचीन समयमा भन्दा आधुनिककालमा यस्ता घटनाहरू निकै बढ्दै गएका छन् । 
खासमा बलात्कार एक अपराध मात्र नभएर बिकार वा रोग हो । आजभोलि नाबालकले बलात्कार गरेका घटना सुनिन्छ । पिण्ड खाने बेलाका वृद्धले नाबालिका बलात्कार गरेका पनि सुनिन्छन् । नातीले हजुरआमा बलात्कार गरेका घटना अनि हजुबाले नातिनी बलात्कार गरेको घटना पनि नेपालमै सुनिन्छ । यो सब एक प्रकारको रोगका कारणले हो जसलाई मानसिक विकार भनिन्छ । समाजशास्त्रीहरू बलात्कारलाई एक जघन्य अपराध मात्र होइन कि एक अस्वस्थ समाजका उपजका रुपमा लिनुपर्ने बताउँछन् । त्यो त्यस्तो समाज हो जहाँ महिलामाथि डर धाक देखाउने तथा महिलालाई अनादर अनि खेलौना मात्र सम्झने  गरिन्छ ।
मानसिक विचलन, महिलालाई तुच्छ ठान्ने प्रचलन (अब्सेसन) तथा व्यक्तित्व विकारहरूका कारण पनि मानिसले बलात्कार गर्छन् । तीमध्ये पुरुषमा हुने पुरुषत्वको अहं पनि एक प्रमुख कारण हो । अर्कोतिर सूचना प्रविधिको विकासले हरेकको हातहातमा पुगेको मोबाइल फोनका कारण मानिसले अनेक किसिमका अश्लील चलचित्र तथा चित्रहरूका कारण पनि यौन दुव्र्यवहार बढेको छ । कम उमेरका व्यक्तिहरूले गर्ने बलात्कारमा यो एउटा प्रमुख कारण मानिएको छ । 
प्रायः बलात्कारीको उमेर १६ वर्षदेखि २५ वर्षको बीचमा हुन्छ । आजभोलि बालक र वृद्धहरू पनि यसमा संलगन पाइन्छन्, तर त्यो संख्या न्यून मात्र छ । अर्को तथ्य के पनि हो भने प्रायः बलात्कारीहरू अविवाहित हुन्छन् । तर एक अध्ययनका अनुसार बलात्कारीमध्ये आधा संख्या विवाहित पुरुषहरूको हुने गरेको छ । यसै गरी युवावर्गमा यो प्रवृत्ति बढी देखिए तापनि ४० देखि ५० वर्ष, कतिपय अवस्थामा ६०, ७० वर्षका व्यक्तिमा पनि अनुकूल परिस्थिति हुँदा यस्तो घटना भएको देखिन्छ ।
अधिकांश बलात्कारी निम्न सामाजिक, आर्थिक स्तर भएका हुन्छन् । यिनीहरूको आय, शिक्षा र बुद्धि सामान्यभन्दा कम हुन्छ । बलात्कारीहरू प्रायः समाजविरोधी व्यक्तित्वका धनी हुन्छन् भने कतिपय अपराधी मनोविकृतिद्वारा पनि पीडित हुन्छन् । मद्यपान गर्ने तथा नशालु पदार्थको सेवन गर्ने व्यक्तिले पनि बलात्कार गरेको देखिन्छ । 
विश्वमा सबभन्दा बढी बलात्कार हुने देश
बलात्कार नहुने देश कुनै पनि छैन । तर विश्वमा सर्वाधिक बलात्कारका घटना घट्ने देशमा पहिलो नम्बरमा आउँछ दक्षिण अफ्रिका । त्यहाँ वर्षमा करिब ५ लाख महिलाहरू बलात्कारको सिकार बनिने गरेको अनुशन्धानले देखाएको छ । जहाँ ९ मध्ये केवल १ मात्र बलात्कारको घटना रेकर्डमा दर्ता हुने गर्छ । मेडिकल रिसर्ज काउन्सिलद्धारा जारी रिपोर्टका अनुसार दक्षिण अफ्रिकाका ४० प्रतिशत महिला आफ्नो पुरै जीवनमा बलात्कारको शिकार हुने गर्छन् ।
अझ खास कुरा त केछ भने त्यहाँ महिलामात्र नभएर पुरुष पनि पुरुषबाटै बलात्कारको शिकार हुने गर्छन् । रिपोर्टका अनुसार त्यहाँका ४ प्रतिशत पुरुषलाई अर्को पुरुषसँग सम्बन्ध राख्न दबाब दिइन्छ । यसबाहेक त्यहाँका ४१ प्रतिशत बालबालिका बलात्कारको शिकार हुन्छन् । जसमध्ये ५० प्रतिशत १८ वर्षभन्दा पहिले नै बलात्कारमा परिसकेका हुन्छन् ।
सबैभन्दा बढी बलात्कार हुने दोस्रो देशमा पर्दछ स्वीडेन । त्यहाँका ४ मध्ये १ महिला बलात्कारको शिकार हुने गर्छन् भने अमेरिका तेस्रो नम्बरमा पर्दछ । जर्ज मेसन युनिभर्सिटीको सेक्शुअल असाल्ट स्टेटिस्टिकका अनुसार ३ मा १ अमेरिकी महिला आफ्नो पुरै जीवनमा यौन शोषण झेल्ने गर्छन् ।
चौथो मुलुक हो बेलायत । त्यहाँ अनौठो के छ भने महिला मात्र हैन पुरुष पनि बलात्कृत हुन्छन् । तर बलात्कार गर्ने महिलाका लागि यसमा कुनै सजायको व्यवस्था छैन । यहाँ हरेक वर्ष ७३ हजार महिला र १२ हजार पुरुष बलात्कारको शिकार हुने गर्छन् ।
बलात्कारमा पाँचौं नम्बरमा परे पनि भारत सबभन्दा बदनाम देश हो । यहाँ बलात्कारमा पर्नेमा १८ देखि ३० वर्षीया महिला रहेका छन् । ३ मध्ये एक १८ वर्ष भन्दा कम उमेर र १० मा एक १४ वर्षभन्दा कम उमेर भएका यसको शिकार हुन्छन् ।
रोकथामको उपाय
बलात्कार समाजिक तथा कानुनी रूपमै एक जघन्य अपराध हो । त्यसैले संसारभरि नै बढ्दै गएका बलात्कारका घटनाहरू रोकथाम गर्न हरेक देशले कुनै न कुनै उपायहरू अपनाएका छन् । नेपालमा यस विषयमा नयाँ कानुन लागू भएको छ । तर निर्मला पन्त बलात्कार र हत्या प्रकरणपछि बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग जवर्जस्त रुपमा उठेको छ ।
कतिपय देशमा त बलात्कारीलाई निकै कठोर सजाय र मृत्युदण्डसमेत दिने व्यवस्था छ । नेपालमा पनि बलात्कारको प्रकृति हेरेर बलात्कारीलाई जेलसजायको दण्ड दिइन्छ भने सामाजिक रूपमा पनि बलात्कारीलाई कुट्ने, पिट्ने तथा यदाकदा सामाजिक रूपमा पनि बहिष्कार गर्ने गरिन्छ ।
हुन त दण्डसजाय बलात्कारको एक मात्र समाधान होइन । तर पनि दण्ड सजायले केही हदसम्म भए पनि बलात्कारका घटना न्यूनीकरण गर्न सक्षम रहेको देखिन्छ । बलात्कारमा प्रायः पुरुष नै विशेष रूपले अपराधी देखिन्छन् । त्यो किनभने समाजका घटेका अधिकांश बलात्कारका घटना पुरुषद्वारा नै गरिएको देखिन्छ । त्यसैले, यौन दुव्र्यवहारको न्यूनीकरण गर्न सबैभन्दा पहिला पुरुषमा महिलालाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन हुन जरुरी छ । यसका लागि नागरिक शिक्षा, समाजिक शिक्षा तथा यौन शिक्षा र मनोवैज्ञानिक परामर्श महत्वपूर्ण हुन्छ ।
अर्को महत्वपूर्ण पाटो आयआर्जनको अवसर, सुलभ शिक्षा र स्वास्थ्य तथा स्वस्थ वातावरण बलात्कार मात्र हैन कुनै पनि प्रकृतिको घटना कम गर्ने प्रमुख आधार हुन् । एउटा सभ्य समाजका लागि त्यो समाज स्वस्थ, सुखी र सम्पन्न हुनुपर्छ । यस्तो वातावरण बनाउनेतिर ध्यान नदिएर कानुन मात्रै कडा बनाउँदै जाँदा घटनाहरूमा कमी आउँदैन ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com