युगसम्बाद साप्ताहिक

परराष्ट्रनीतिमा असन्तुलन र विचलनको खतरा
Tuesday, 09.04.2018, 12:45pm (GMT5.5)


काठमाडौं । बिमस्टेकमा आबद्ध सात राष्ट्रहरूको चौथो शिखर सम्मेलन सकेर १८ बुँदे काठमाडौं घोषणापत्र जारी गरेपछि छवटा देशका सरकार प्रमुखहरू नेपालबाट बिदा भैसकेका छन् । यता भदौ २५ देखि ३१ गतेसम्म सातै देशका सैनिक प्रमुखको सहभागितामा भारतको पुनामा गरिने भएको सैनिक अभ्यासको विषयलाई लिएर राजनीतिक कुटनीतिक क्षेत्रमा गम्भीर बहसको नयाँ अध्याय सुरू भएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्कलाई ओझेलमा पार्ने गरी भारतले नयाँ रणनीतिक खेल सुरू गरेको आभास भैरहेको बेलामा सैनिक अभ्यासको प्रस्ताव घुसाएर भारतले बिमस्टेकलाई सैनिक सुरक्षाको  आयाम दिने पहल गरी सैनिक अभ्यासका नाममा युद्धको खेल सुरू गरी सैनिक गठबन्धन निर्माणको दीर्घकालीन योजनालाई अगाडि बढाएको आशङ्कापूर्ण चर्चा व्याप्त भैरहेको छ । आणविक शक्तिसम्पन्न छिमेकी सार्क सदस्य राष्ट्र पाकिस्तानलाई चुनौति दिने र ऊसंग निकट सम्बन्ध रहेको विश्वकै दोस्रो शक्तिराष्ट्र चीनलाई पनि चिढाउने गरी हुनलागेको  भारतीय शक्ति प्रदर्शनको सैनिक अभ्यासमा भागलिने सहमति जनाएर नेपालले असंलग्न परराष्ट्र नीतिमा नै विचलन ल्याएको कडा टिप्पणी हुन थालेको छ । यो प्रकरणले दुई तिहाइ बहुमतको सरकार हाँकिरहेको नेकपाभित्रै ठूलो कम्पन्न ल्याएको कुरा शीर्षपङ्क्तिका नेतारूबाट जाहेर प्रतिक्रियाले नै पुष्टिगरेको विश्लेषकहरूले इङ्गित गरेका छन् ।
विश्लेषकहरूका दृष्टिमा– बिमस्टेकको शिखर सम्मेलन नेपालमा हुनु र सफलतासाथ सम्पन्न हुनु खुशीको कुरा हो । सहभागी राष्ट्र थाइल्याण्डले समेत उपक्षेत्रीय संगठनका रुपमा उल्लेख गरेको बडापत्रसमेत बनिनसकेको यो संस्थालाई भारतले क्षेत्रीय समूहका रुपमा बढवा दिनुपर्छ भन्ने विचार भारतका कुटनीतिज्ञबाटै प्रक्षेपित भैसकेको छ ।  बिमस्टेक सार्कको बिकल्प होइन भन्ने प्रष्ट धारणा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन अवसरमै प्रष्ट पार्नुभएको र बिमस्टेकको अबको अध्यक्ष श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पनि सार्कलाई गतिशिल बनाउने प्रतिबद्धता व्यक्तगर्नुभएको ताजा प्रसङ्ग छ । तर भारतका कुटनीतिक सूत्र भने सार्कलाई ‘मृतप्रायः’ घोषित गर्दै भारतको पहलमा बिमस्टेकलाई नै बढवा दिनुपर्ने किटान गर्न पछिपरेका छैनन् । सार्क, आसियान, युरोपेली युनियन जस्ता कुनै पनि क्षेत्रीय सङ्गठनहरू सैनिक अभ्यासको बाटोमा छैनन् भने स्वतन्त्र व्यापार विस्तारदेखि लिएर क्षेत्रीय विकासको सार्थक प्रयासतिर नै लक्षित भएको देखिन्छ । तर बिमस्टेकको शिखर सम्मेलनमा भारतले सैनिक अभ्यासको विषय प्रवेश गराउनु र नेपालले पनि वैदेशिक सम्बन्ध परिचालनमा प्रतिकूल असर पर्नेतिर ख्यालै नगरी यसभित्रको रणनीतिक स्वार्थको पछिलाग्नु गम्भिर आपत्तिको विषय भएको छ । नेपालका नयाँ सेनापतिले राष्ट्रपतिबाट शपथ  लिएको भोलिपल्टै भारतीय रणनीतिको सैनिक अभ्यासमा सामेल हुनजानुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना अवश्य नै अरूचिकर र बिडम्बनापूर्ण छ । असंलग्न परराष्ट्रनीति विपरीतको यस्तो बाटोमा अगाडि नबढ्न नेपालले यसमा पुनर्विचार गर्नु बाहेक अर्को बिकल्प छैन ।
राजनीतिक सूत्रहरू भन्दछन्– भारतको रूचीमा हुनलागेको संयुक्त सैनिक अभ्यासको प्रकरणले सत्तारूढ दलभित्र ठूलै कलबली मच्चिन थालेको छ । नीतिगत विचलनको यो विषयमा सरकारले पार्टीभित्र कुनै छलफल नगरेकोमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष भीम रावलले यो कार्य घोषित नीति र उद्देश्य विपरीत भएको भन्दै कडा प्रतिक्रिया दिएर असन्तुष्टि जाहेर गरेका छन् भने अर्का अग्रपंक्तिका नेता नारायणकाजी श्रेष्ठको असन्तुष्टि पनि सतह चर्चामा आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेकको शिखर सम्मेलनमा सम्बोधन गरिरहेको बेला भारतले कोशीको बहाव पश्चिमतिर ठेल्ने गरी  सप्तरीका दुई लाख वासिन्दालाई डुवानमा पारेर विस्थापित गराउन लागेको र नेपालगञ्जदेखि तराईका बिभिन्न भागमा भारतीय संरचनाबाट हजारौं वासिन्दा विस्थापित हुने गरी दुवानको समस्या चर्किरहेको खवर सार्वजनिक भएको जगजाहेर छ । भारतसित राम्रो समझदारी विकसित भएको र रोटीबेटीको सम्बन्ध भएको दुई देशबीच कुनै समस्या नरहेको सन्देश प्रधानमन्त्रीबाट नै प्रवाहित भैरहेको पृष्ठभूमिमा तराईका लाखौं जनता विस्थापित हुने यो मानवीय समस्याको उजागर ठूलो व्यङ्गका रुपमा उजागर भएको छ । यो विषयले दुई देशका प्रधानमन्त्रीको भेटमा कुनै प्राथमिकता नपाउनु चरम आश्चर्यको विषय मानिएको छ । के गर्दा मोदी खुशी हुन्छन् र के गर्दा रिसाउँछन् भन्ने ख्यालले नै यस्तो अन्यमनस्क स्थिति सिर्जना भएको निष्कर्षमा विश्लेषकहरू पुगेका छन् ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com