युगसम्बाद साप्ताहिक

बलात्कार पनि पूँजीवादको उपज
Tuesday, 10.02.2018, 12:44pm (GMT5.5)

काठमाडौं । यो सरकारले चाहे के गर्न सक्दैन भन्ने सबैले बुझेका छन् । तर सरकार एउटा अपराधी पत्ता लगाउन सक्दैन । कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लाग्न १२ वर्ष पनि लाग्नसक्छ भनेर प्रधानमन्त्रीले नै भन्नु लाजमर्दो विषय हो । सामाजिक अपराध विशेष गरी बलात्कार बढिरहेको छ । सरकारमा रहेकाहरु भने यसलाई नियन्त्रण गर्ने उपायको खोजी गर्नुको साटो अमूक पक्ष र सिद्धान्तलाई दोष दिएर आफ्नो असफलता ढाकछोप गर्न तल्लिन छन् ।
मुलुकमा शक्तिशाली सरकार छ तर नागरिक सुरक्षाका सवालमा सरकारको उपस्थिति न्यून जस्तै छ । आर्थिक विकास, समृद्धि अनि सुखका कुराभन्दा अहिले सुरक्षाको प्रश्न जसरी तेर्सिएको छ त्यसले जनमानसमा नैराश्यभाव र भरोसाहीन मानसिकता बढ्दैछ । नागरिक सुरक्षामा पनि बालबालिका तथा महिला सुरक्षा र उनीहरुको अस्मिता रक्षाको प्रश्न अझ बढी उठेको छ । सरकारको उद्देश्य के हो ? किन सानासाना कुरामा अल्झिरहेको छ भन्ने स्पष्ट छैन । दुई तिहाईको सरकारको काममा अबरोध पु¥याउनसक्ने हैसियत कसैको पनि छैन । सरकारमा रहेका केही मन्त्रीहरुले जसरी उत्साहजनक काम गरिरहेका छन् त्यस्तै काम सबैबाट हुनुपर्ने अपेक्षा विपरीत प्रमुख दायित्व लिएकाहरु घटनालाई अन्तै मोड्ने प्रयासमा छन् ।
बलात्कार र हत्याका घटना बढ्दै गएपछि गृहमन्त्री रामबहादुर थापाले बलात्कार बढ्नुमा पूँजीवाद कारण रहेको बताएर के संकेत गर्न खोजेको हो उहाँले नै जान्ने कुरा हो । यथार्थमा अहिले गृह प्रशासन निरीह सावित भएको छ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणले सरकारको हुर्मत लिएका छ । तर पनि अपराधी पत्ता लगाउन सकिएको छैन । उल्टै प्रधानमन्त्री नै अपराधी पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्छ भन्नुको अर्थ सरकारकै संरक्षणमा अपराधी रहेको भन्न कुनै गाह्रो छैन ।
कञ्चनपुरमा घटेको त्यो जघन्य अपराधको अझै पटाक्षप भएको छैन । गृहमन्त्रीका एकपछि अर्को अभिव्यक्तिले पीडित परिवारलाई थप पीडा दिइरहेको छ । व्यापक बिरोध भएपछि दोषी ठहर गरिएकाहरुको डिएनए परीक्षण स्वतन्त्र ढंगले हुनुपर्नेमा प्रहरी प्रयोगशालामा गरियो र रिपोर्ट मेल नखाएको आयो । यसले अरु शंका जन्माएको छ । गृहमन्त्री थापा प्रमाण लुकाउन प्रहरी नै संलग्न भएको बताउन थाल्नुभएको छ । उसो भए कारबाही गर्न केले रोक्यो त ?
सुरुदेखि नै प्रहरी अनुसन्धान पूर्णतः असफल पारिएको बलात्कार र हत्या काण्डमा आरोप लगाइएका निलम्बित एसपी डिल्लीराज बिष्ट, उनका छोरा किरण विष्ट र अर्काएकजना आयुष विष्टको डिएनए परीक्षण राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा नगरेर प्रहरीकै प्रयोगशालामा गरियो र रिपोर्ट आयो नेगेटिभ ।
बलात्कार र हत्याका घटनाका अपराधीलाई बचाउन अनेक तानाबाना बुन्दा अपराधीको मनोबल बढेको छ । निर्मला पन्त काण्डपछि सुदूरपश्चिममै आधा दर्जन बलात्कारका घटना घटिसके । देशभरि बलात्कारका घटना बढेका छन् । यो अति सम्वेदनशील विषयमाा पनि सरकारले कारबाहीलाई द्रुतता दिन नसक्नु घोर विडम्बनाको कुरा हो
बितेको पाँच महिनामा १४ सयभन्दा बढी बलात्कारजन्य घटना घटेको तथ्य सार्वजनिक हुनु राज्यका लागि लाजमर्दो विषय हो । यसैबाट थाहा हुन्छ सरकार निरीह छ अपराधीका अगाडि । नागरिक सुरक्षाको प्रत्याभूति दिने दायित्व राज्यको हो । अपराध नियन्त्रण तथा अनुसन्धानको जिम्मेवारीमा रहेको सुरक्षा निकाय नेपाल प्रहरी नै हो र यसको निष्पक्षता, दक्षता, लगनशिलता र कार्यतत्परताप्रति आमनागरिकले जति भरविश्वास गर्नसक्छन् उत्ति नै प्रहरीको छवि राम्रो बन्दछ । तर कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धान क्रममा सम्बद्ध प्रहरी अधिकृतहरूको सन्दिग्ध क्रियाकलाप र भूमिकाले   गम्भीर प्रश्न खडा गरेको छ । यसैको उपजका रुपमा बलात्कार बढेको छ ।
सामाजिक अपराध नियन्त्रणमा शिथिलता र असक्षमता देखिनु भनेको नागरिक सुरक्षामा राज्य कमजोर हुँदैगएको अशुभ लक्षण हो । अपराध अनुसन्धान र नियन्त्रण गर्ने निकायभित्रैबाट अपराधी र दोषीको संरक्षण हुने र उन्मुक्ति दिने प्रवृत्तिको जन्म हुनु र समयक्रममा मौलाउँदैजानु पछाडिका अन्तर्निहित कारणहरू सधैं दब्बिएका छन् । राजनीतिक झुकाव, लगाव, आस्था र संरक्षणका आधारमा  गहन जिम्मेदारीका पदहरू लिलामीमा पर्दैजानु र राजनीतिक संरक्षणमा नै दण्डहीनता मौलाउँदै जानु जटिल बन्दैगएको सुरक्षा समस्याको मूल जड हो ।
सुरक्षा निकायदेखि लिएर प्रत्येक जसो संवेदनशील निकायमा जिम्मेवारीबोधको कमी र जवाफदेहिताहीन प्रवृत्ति मौलाउँदै जानुले जनमानसमा जुन नैराश्यभाव र भरोसाहीन मानसिकता जन्माएको छ त्यसलाई सम्बोधन गर्ने विश्वसनीय स्थिति सिर्जना गर्ने क्षमता दह्रो खुट्टा टेकेको भनिएको वर्तमान सरकारले पनि देखाउन सकेन भने मुलुकका लागि दुर्भाग्य बाहेक केही हुँदैन ।
जनतामा नैराश्यतासंगै विद्रोहको भावना जाग्नुअघि नै सरकारले जसरी मतले दह्रो बनेको छ व्यवहारले पनि दह्रो रहेको प्रमाणित गर्न सकेन भने यसले दिने परिणाम दुर्भाग्यपूर्ण नै हुनेछ । अपराधी जोसुकै होस्, जुनसुकै दलप्रति आस्था राख्ने वा जुनसुकै नेतालाई सहयोग गरेको होस् त्यो अपराधी नै हो र त्यस्तालाई संरक्षण गर्नु जनता राज्यविहीनताको स्थितिमा रहनु हो ।
अहिलेको सरकारले पनि केही गरेन भने मुलुक कसैगरी पनि बन्दैन भन्ने प्रमाणित हुनेछ । आकर्षक नारा र भाषण गरेकै भरमा देश बन्नेभए यो तीन दशककोबीचमा मुलुक कहाँबाट कहाँ पुगिसक्थ्यो । न विकास आयोजनाहरुको गति चित्तबुझ्दो छ, न शान्ति सुरक्षा, न बजार भाउ नियन्त्रणमा छ । गरीब जनतालाई हातमुख जोर्न धौधौ छ । कालोबजारी मौलाएको छ । सिण्डिकेत ब्यूजिएको छ । सरकार कति निरहि छ भन्ने त यातायात व्यवसायी र इन्धन ढुवानी गर्ने ट्यांकर चालकहरुले नै देखाइदिए । दुई तिहाईको सरकार यस्तै हुन्छ ?


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com