युगसम्बाद साप्ताहिक

पुनःअस्थिरता सिर्जनाको अशुभ सङ्केत !
Tuesday, 10.02.2018, 12:45pm (GMT5.5)

आन्तरिक राजनीतिक सङ्कटको विस्तार
काठमाडौं । विश्व समुदायलाई नेपालमा अब राजनीतिक स्थायित्व कायम भएको सन्देश दिँदै प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली ढुक्कसंग विदेश सयर गरिरहनुभएकै अवस्थामा उहाँकै ‘गतिशील’ नेतृत्वको नेकपाभित्र फैलिएको भुसको आगो सतहमै दन्किएको छ । नेपालमा लगानीमैत्री वातावरण बनेको सन्देश प्रवाह गरेको ध्वनि गुञ्जित भेरहेकै बेला पारी उहाँलाई विदेशमा पनि राम्रोसंग सुत्न नदिने गरी भएको यो बिस्फोटन ओली सत्ताको विस्थापनका लागि परिचालित प्रायोजित प्रारम्भिक कदम नै हो वा उहाँको पेलाहा नीति र आफ्नै समकक्षी नेताहरू एवं आफ्नै पार्टी कार्यकर्ताहरू उपरको पनपक्षपूर्ण व्यवहारकै उपजमात्र हो भन्ने कुराको निर्क्यौल हुन अझै केही समय कुर्नै पर्ने हुन्छ तापनि ओली सरकार विस्तारै आन्तरिक सङ्कटले घेरिँदैगएको प्रष्ट सङ्केत यसले दिएको छ । सत्ताको घुम्ने मेचमा बसेपछि अन्धो बन्ने संस्कार अझै बलियो बनिरहेको, जनताका सामु खाएको कसम बिर्सने रोगले प्रचण्ड बहुमतको सरकारलाई पनि नछोडेको र निर्देशनका भरमा राज्यका कुनै पनि निकाय नचल्ने प्रष्ट आभास भैरहेको आम प्रतिक्रिया जीवन्त भैरहेको बेला सत्ताधारी दलभित्र आएको तुफान चीयाको कफभित्रमात्र सीमित एवं ‘बार्गेनिङ् चिप्स’मात्रै हो वा यसभित्र नेपाललाई पुनः अस्थिरताको जञ्जालमा फसाउने दीर्घकालीन रणनीतिक योजनाको प्रभाव पनि यसभित्र छ भन्ने कुरातिर राजनीतिक विश्लेषकहरू गौर गरेर हेरिरहेका छन् । यी मध्ये अन्तर्यमा जे भए पनि प्रधानमन्त्री ओलीको राज्यसञ्चालन क्षमता र राजनीतिक कुशलतामाथि भने ठूलो प्रश्न खडाभएको छ ।
विश्लेषकहरू भन्दछन्– प्रधानमन्त्री ओलीले आफ्नो वृत्तमा घुम्ने अन्धभक्त र प्रशंसकहरूको घेराभित्रबाट मुलुकभित्र जति नै हरियाली छाएको देखे पनि जनमानसमा व्यापक निराशा र वितृष्णा छाएको कटु सत्य नै हो । राजधानीका सडकहरूको दुर्दशामा कुनै सुधार छैन, सडक किनारामा फोहोरको डुंगुर थुप्रिएकै छ, दैनिक उपभोग्य वस्तुको कालो बजार मौलाएको मौलाएकै छ, ठगदार घोषित ठेकेदारहरूले उन्मुक्ति मात्रै पाएका होइनन् पुरस्कृत नै हुने अवसर पाएका छन्, सरकारको कानून दैवले नै जानुन् भएको छ, भ्रष्टाचारविरूद्धको शून्य सहनशीलता यदा कदा रङ्गेहात पक्राउ परेका भुरा माछाले मात्र देखाएका छन्, सरकारको निर्देशनले मात्र आउने भए दशैं अगाडि नै मेलम्चीको पानीले राजधानीको तीर्खा मेटिन्थ्यो, प्रधानमन्त्रीको स्थलगत निर्देशनको निरर्थकता माथिल्लो तामाकोशीले देखाइरहेको छ– यही पुसभित्र होइन अर्को पुसमा पनि बिजुल्ली बल्ने नबल्ने ठेगान छैन, अपराध नियन्त्रणको क्षमता र नियतको पोल त महेन्द्रनगरकी बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणले दिनदिनै उजागर गरिरहेको छ, सदाचार नीति ल्याउने जुन डंका पिटाइ थियो पश्चिमाहरको दपेटामै बिलाइसक्यो, सुशासनको हुङ्कार डकारमात्रै भयो । आम जनताको प्रत्यक्ष भोगाइका यी कुरालाई नकारात्मक सोच र विरोधीको कुप्रचारमात्र भनेर डङ्का पिट्दैमा ओली सरकारको छवि उज्यालिने कुनै सम्भावना छैन ।
जानकार सूत्रहरू भन्दछन्– तराईमा बिखण्डनवादीहरूको बढ्दैगरेको गतिविधिप्रति ओली सरकार बेखवर जस्तै छ । भजनमण्डलीले जति नै खैंजरी बजाए पनि ‘विश्वकै उत्कृष्ट संविधान’ ल्याउने निर्देशित खेलका दुष्परिणामहरूबाट देश आज पनि राजनीतिक समस्याले जकडिएको खुलाशा भैरहेको छ । जनताले सुशासन कायम होला र विकास र समृद्धिको बाटो खुल्ला भनेर कम्युनिष्टहरूलाई दुई तिहाइ नै पुग्ने गरी मत दिएकै हुन् । संघीय, प्रादेशिक र स्थानीय तह जतातै बहुमत पुगेकै हो । तर यसरी चुनिएको सरकार पनि ‘प्रजातन्त्रकै नाममा वारम्वार जनसमर्थन बटुलेर प्रजातन्त्र सिध्याउने’ कांग्रेसकै ‘डुप्लिकेट’ भएको सिद्ध हुँदैछ भन्ने आमप्रतिक्रिया सुन्न थालिएको छ । मुलुकमा जनताको सरकार स्थापित भएको कुनै आभास छैन । ठग ठेकेदार, लुटाहा कालो बजारिया र सेवाग्राहीलाई झुलाउने–दुःखदिने प्रशासनिक सञ्जालको चरित्र प्रोत्साहित भैरहेको छ । दशैंको मुखमा भाडा बढाएर यातायात सिण्डिकेटलाई सरकारले कसरी जीवित राखेको छ भनी प्रष्टै देखियो । राजधानीमा भाडाका दुईचार हजार गाडीलाई पनि ठेगान लगाउन नसक्ने पामर सरकारबाट थप के आशा गर्ने भनी पीडित जनता भनिरहेका छन् । बढ्दो जनपीडा, निराशा र वितृष्णा एकातिर छ भने अर्कातिर अरिङ्गाल र मौरी दुबै बन्न नसकेका कार्यकर्ताहरूप्रति प्रधानमन्त्री ओलीको असन्तुष्टि र आफ्नो मानमनितो नभएकोमा  शीर्ष र अग्रपंक्तिका नेताहरूको आक्रोशको राजनीतिक निष्कर्ष के निस्किने हो भन्ने कुतुहलता सर्वत्र जागिरहेको छ ।
उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस विगतको आफ्नै अकर्मण्यता, दिशाहीनता र बाह्य शक्तिको मुखताक्ने प्रवृत्तिकै शिकार बनेर आन्तरिक कलह र खुट्टा तानातानकै दलदलमा फँसेर भविष्यमा पनि विकल्प नै दिन नसक्ने अवस्थाबाट गुज्रिइरहेको छ । चौतर्फी रन्थमोलको यो अवस्थाले  मुलुकको भविष्य कुन दिशातिर मोडिने हो भन्ने चिन्ता सवैतिर बढ्न थालेको छ । मुलुकमा विश्वकै उत्कृष्ठ भनिएको संविधान निर्मित र जननिर्वाचित मानिएको दुई तिहाइ बहुमतको स्थायित्वबोधक सरकार स्थापित हुँदा पनि सुशासनको प्रत्याभूति हुननसक्नु र पुनः अस्थिरता सिर्जनाका नितान्त अशुभ सङ्केतहरू मडारिनुको अन्तर्निहित कारण के हो ? राजनीतिक विश्लेषकहरूले उठाएको अहिलेको गम्भीर सवाल नै यही हो ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com