युगसम्बाद साप्ताहिक

गठबन्धन र एकताको उल्लास हरायो !
Wednesday, 10.10.2018, 02:05pm (GMT5.5)

काठमाडौं । २०७४ साल असोजज १७ गते नेपालको राजनीतिमा कसैले सोच्दै नसोचको घटना घटेको थियो । त्यो थियो दुई ठूला कम्युनिष्ट पार्टीबीच चुनावी गठबन्धन र पार्टी एकताको घोषणा । त्यही घोषणापछि अहिले मुलुकमा दुई तिहाईको सरकार छ । २०१५ सालपछि दुई तिहाईको सरकार बनेको छ तर पनि स्थिति धर्मर नै छ अनि आश गर्नुको विकल्प छैन जनतामा । 
राजनीतिमा उथलपुथल ल्याएको थियो । स्थानीय निकायको चुनाव सकिएर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा दुई ठूला बाम पार्टी एमाले र माओवादी केन्द्र तथा नयाँ शक्ति नेपालबीच चुनावी गठबन्धन गर्ने र पार्टी एकताको औपचारिक घोषणा भएको दिन । आजको स्थिति आउनुमा त्यही दिनको योगदान छ ।
त्यही दिनले वामपन्थीको झण्डै दुई तिहाई मत आयो, जनताले अपार समर्थन गरे । समय क्रमसगै माओवादी र एमालेको अस्तित्व मेटिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ । अहिले नेकपाको सरकार छ । दुई दलबीचको गठबन्धन यस्तो समयमा भएको थियो कि त्यसले सत्ता नेतृत्व गरेको नेपाली कांग्रेलाई चिढचिढ पसिना निकाल्यो । कांग्रेस नेताहरु देश अधिनायकवादतिर जान लाग्यो भन्दै चिच्याउन थाले । कांग्रेसलाई के विश्वास थियो भने चुनावमा माओवादी उसैसंग तालमेल गरेर जानेछ । स्थानीय तहको निर्वाचनमा कांग्रेसले माओवादीलाई सघाएको थियो । 
माओवादी शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहँदै चुनावी गठबन्धन र पार्टी एकताको सहमति सार्वजनिक भएपछि मुलुकभित्र र बाहिर यसले ठूलो तरंग ल्याएको थियो र त्यो तरंग अहिले पनि कायम छ । दुई तिहाईको सरकार बनेको छ र यो सरकारबिरुद्ध भित्री बाहिरी शक्तिहरु लागिपरेका छन् । पार्टी एकतापछि तत्कालीन एमालेमा रहेका नेताहरुको बोलीले सरकारलाई कमजोर बनाउने दिशातर्फ उन्मुख गराइरहेको छ ।
स्थानीय तहमा गरिएको तीन चरणको निर्वाचन सम्पन्न भएर प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको तयारीकाबीच दशैंको मौकामा पार्टी एकताको घोषणा भएको थियो । यो यस्तो स्थितिमा भएको थियो कि, त्यतिबेला प्रतिपक्षमा रहेको एमाले आन्दोलनमा होमिएको थियो भने माओवादी कांग्रेससंग गठबन्धन सरकारमा थियो अनि माओवादी केन्द्र र एमालेबीच लगभग पानी बाराबारको अवस्था थियो । 
यस्तो स्थितिमा कसैले पत्याउन नसक्ने गरी २०७४ असोज १६ गते वाम एकता गर्ने सम्बन्धी निर्णय सार्वजनिक भयो र १७ गते राष्ट्रियसभा गृहबाट वाम गठबन्धनको घोषणा भएको थियो । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि यी दुई दलको झण्डै दुई तिहाई मत आयो, सरकार बन्यो र जेठ ३ गते यी दुई पार्टी मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो .
अब कुरा गरौं दुई तिहाईको सरकारमाथिको आक्रमण, सत्तापक्षकै नेताहरुको आक्रोश अनि सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेका विषयहरुको । सरकारले सुरुमा जुन गति लिने संकेत दिएको थियो त्यो विस्तारै मत्थर हुँदैगएको छ । सुन काण्ड, सिण्डिकेट, कालोबजारी, कामचोर ठेकेदारहरुलाई कारबाहीको सुरुवात गरेर वाहवाही पाएको सरकारले पछि न सिण्डिकेट तोड्नसक्यो, न समयमा काम सम्पन्न गर्ने ठेकेदारहरुलाई कारबाही गर्न सक्यो । त्यस्तै बजार नियन्त्रण, अपराध नियन्त्रण गरी जनतामा शान्ति सुरक्षाको प्रत्याभूति दिन पनि सरकार असफल भयो ।
पाँच महिनामा १४ सय बलात्कारका घटना घट्नु सामान्य विषय हैन । अझ देश विदेश हल्लाएको कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा अहिलेसम्म अपराधी पत्ता नलाग्नु रहस्यमय नै छ । अपराध अनुसन्धानमा त्रुटी, अपराधी बचाउने खेल अनि सरकारले न्याय माग्ने जनतालाई गोली ठोकेको घटनाले दुई तिहाईको सरकार बिरुद्ध जनमत सिर्जना गर्न काफी बन्यो ।
अहिले सरकारबिरुद्ध सत्तारुढ दलकै नेताहरु बोल्न थालेका छन् । उनीहरुको बोली कहाँको हो समयक्रमले बताउने नै छ । तर, सरकारले अहिले चाहेमा गर्न नसक्ने केही छैन तापनि किन केही गर्न सकिरहेको छैन भन्ने प्रश्नको उत्तर कसैसंग पनि छैन । जतिसुकै बलियो सरकार भए पनि पात्र गतिलो भएन भने काम हुँदैन भन्ने प्रमाण सरकारले दिन खोजेको हो वा अन्तर्य के छ ? स्पष्ट पार्नुपर्ने बेला भएको छ ।
अहिलेको सरकार पनि असफल भयो भने यसले व्यवस्था नै असफल हो भन्ने बुझ्न कसैलाई पनि गाह्रो छैन । स्थानीय निकायदेखि प्रदेश हुँदै केन्द्रसम्म एकलौटी जस्तै रहेको नेकपाका जनप्रतिनिधिहरुले आफ्नो क्षमता अनुसार काम गर्न नसकिरहेको अवस्था छ । सरकार पनि सोही ड्याङको मुला भएको छ । मनलाग्दो कर, जनताको बिरोध अनि दशैं, तिहार, छठ जस्तो पर्वको मुखमा सार्वजनिक यातायातको भाडा बढाउने निर्णय गर्नु सरकारको जनताप्रतिको जिम्मेवारीबोध हो कि सिण्डिकेटेहरु पोस्ने खेल भन्ने बुझ्न गाह्रो छैन ।
सरकारमाथि देशभित्रबाट मात्र हैन बाहिरबाट पनि आक्रमण भैरहेको छ । यस्तो स्थिति आउनुमा चीनसंगको व्यापार तथा पारवहन सन्धिको प्रोटोकल मस्यौदा तयार हुनु प्रमुख हो । भारतको एकलौटी बजार रहेको र भारतको निगाहमा बाँचेको नेपालले अब व्यापारका लागि चीनका बन्दरगाहहरु सजिलै उपयोग गर्न पाउनेछ भने चीनबाट काठमाडौंसम्म रेलमार्ग विस्तारको काम अघि बढिरहेको छ । यसले भारत तिल्मिलाएको छ । अनि भारतभक्तहरु सरकारबिरुद्ध कुर्लन थालेका छन् ।
सरकारले आफ्नो उपस्थितिबोध गराउन अब पनि ढिला गर्ने हो भने यो देशका लागि दुर्भाग्यको सूचक हुनेछ । जनताका सानासाना अपेक्षा पूरा गर्न छाडेर रेल, पानीजहाज अनि घरघरमा ग्यासका पाइपका कुरा मात्रै गरेर हुँदैन । जनताले तत्काल महसुस गर्ने भनेको महंगी नियन्त्रण, शान्ति सुरक्षा जस्ता विषयहरु हुन् । सरकारले केही गरेको छैन भन्ने पनि हैन । केही मन्त्रीहरु दिलोज्यानले आफ्नो कार्यकाल उत्कृष्ट बनाउने अभियानमा लागेका छन् । सबै मन्त्रीहरुले आआफ्नो जिम्मेवारीमा परेको क्षेत्रमा एकसाथ काम गर्ने हो भने सरकारले अर्कै गति लिन्छ । तर, यहाँ प्रभाव पार्ने शक्तिहरु सरकारभन्दा बलिया देखिएका छन् ।
दुई तिहाईको सरकारले अब यस्ता कमजोरी हटाउनुपर्छ । सत्तापक्षका नेताहरुको बोलीमा लगाम लगाउनुपर्छ । माहुरीले रानो छोपेजस्तै सरकारलाई छोप्न दिएको निर्देशन अलिङ्गालले चिलेजस्तै भएको छ । यो काम आफ्नै दलभित्रबाट भएको छ । यसप्रति पनि विचार गर्नैपर्छ । नत्र भने सरकारका लागि संसदको विपक्षी दल हैन पार्टीभित्रैका विपक्षीहरुले अप्ठ्यारो पार्नेछन् । आलोचकको मुख बन्द गर्ने बोलीले हैन कामले हो, यो काम सरकारले गरोस् । चुनावी गठबन्धन, पार्टी एकतापछिको घोषणापत्र एकपटक पुनः सबैले अध्ययन गरुन् अनि सोही अनुसारको व्यवहार गरुन् ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com