युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.23.2018, 12:49am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
सर्वसाधारण जनता बिलखबन्दको स्थितिमा- दशैंको मौकामा कालो बजार मौलायो !
Wednesday, 10.10.2018, 02:06pm (GMT+5.5)

काठमाडौं । देशकै ठूलो चाडपर्व बडादशैं अब घरसंघारमै आइपुगेको छ । दशैंको सरगर्मीले आमजनतालाई छोइसकेको छ । बजारमा जताततै भीडभाड छ । राजधानीबाट दशैं मनाउन घरजानेहरूको संख्या बढ्दो छ । शहर बजारमा खसी–च्याङ्ग्राहरू देखिन थालेका छन् । बजारभाउ अनियन्त्रित रूपमा आकाशिएको छ । दशैंको मुखमा यातायात व्यावसायीहरूको दवाव झेल्न नसकेर खारेज भैसकेको सिण्डिकेट अझै जीवित रहेको आभास दिँदै सरकारले दश प्रतिशत शुल्क वृद्धि स्वीकृत गराएको पीडा लामो र छोटो दूरीका यात्रुहरूले भोगिरहेका छन् । चिनीको चास्नीमा डुबेर सरकारले आन्तरिक उत्पादनको संरक्षणका नाममा  आयातमा परिमाणात्मक बन्देज लगाएको र चिनी उद्योगहरूले उखु किसानलाई पूरै भुक्तानी पनि नदिने र पूर्व सहमतिको मूल्यमा चिनी पनि उपलब्ध नगराउने गरेर कृतिम अभाव र कालोबजारी गराइरहेको अवस्थाले पनि सर्वसाधारण उपभोक्तालाई दशैंको मुखमा झनै आहत पारेको छ । नेपालीहरूको मुख्य चाडपर्व दशैंको बेला अत्यावश्यकीय वस्तुको अस्वाभाविक मूल्यवृद्धि, कृत्रिम अभाव र कालो बजारी नियन्त्रण गर्ने चासो र क्षमता सरकारले देखाउन नसकेको आम गुनासो बढिरहेको छ । प्राविधिक रूपमा धेरै बलियो मानिएको वर्तमान सरकार जनसरोकारका विषयमा उदाशिन र अकर्मन्य सावित हुँदैगएको र मुनाफाखोरी र कालोबजारी व्यावसायीका सामु निरीह सावित भएको भन्दै सर्वत्र आलोचनाको लहर चलेको छ । दशैंको पूर्वसन्ध्यामा यस्तो असामान्य स्थिति सिर्जना हुनु जननिर्वाचित सरकारका निम्ति अत्यन्त लज्जाको विषय हो भन्ने आम प्रतिक्रिया छ ।
दशैंको पूर्वसन्ध्यामा राष्ट्रिय राजनीतिमा नै उथलपुथल हुनसक्ने आशङ्का जन्माउने गरी विकसित हुनथालेका घटनाले निकट भविष्यमा नै कस्तो असङगत, अनपेक्षित र अन्यमनस्क स्थिति सिर्जना गर्ने हो भन्ने भय पैदा गरेको छ । सत्तारूढ दल नेकपाभित्र पार्टी एकीकरणको प्रक्रिया पूरा नहुँदै भुसको आगो झैं भित्रभित्रै फैलिएको असन्तुष्टि बिष्फोटन भएर सतहमा देखिएपछि प्रहारको निशाना बनेका  शीर्ष नेता तथा निर्देशित भाषा बोल्ने कार्यकर्ताहरूको पंक्ति यो असन्तुष्टि र बिष्फोटनको पछाडि विदेशी शक्तिको हात रहेको सङ्केत गर्दै प्रतिक्रिया दिएर सत्तारूढ दलको शीर्ष नेतृत्व पंक्तिभित्रै पराइहरूको पहुँच रहेको र नेताहरूलाई नै परिचालन गर्ने हैसियत देखाएको आभास हुने गरी प्रवाहित भैरहेको धारणाले दुई तिहाइ बहुमतको स्थिर सरकार कतै बहिलोको किलो त बन्नसक्ने होइन भन्ने सन्देह खडा गरेको छ । एकथरी नेता विदेश भ्रमणमा रहेको मौका पारेर अर्काथरी नेता सलबलाउने र एकले अर्कोलाई कमजोर पार्न कसरत गर्ने जुन प्रवृत्ति देखिएको छ त्यसले देशको राजनीतिक मूलधार धमिलिने अशुभ सङ्केत गरेको छ । पार्टी र सरकारको नेतृत्व हाँकिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक इमान देखाउन र भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न  जत्ति नै शङ्खनाद गरे पनि त्यसको छाप व्यवहारमा परेको देखिएको छैन । आफ्ना कमी कमजोरी र अक्षमता लुकाउने क्रममा आफ्ना आलोचक र प्रतिस्पर्धीहरूको बोली र व्यवहारमा परचक्रीको षडयन्त्र घोलित भएको धारणा प्रवाह गर्ने गरिँदैआएको हुन्छ भने नेपालमा अस्थिरता र अनिश्चितता सिर्जना गरेर आफ्नो अभिष्ट पूरा गर्न मौकाको प्रतिक्षा गरिरहने बाहिरियाहरूले पनि संस्थापनपक्षप्रति असन्तुष्ट जमातलाई यथाशक्य उपयोग गरी  बबण्डर मच्चाउने गरेको इतिहास फेरि पनि नदोहोरिएला भन्न सकिने अवस्था छैन । 
नेपालको सत्ता राजनीतिमा यतिखेर केन्द्र, प्रदेश र स्थानीय तहमा वाम पक्षधरताको जुन बाहुल्य छ त्यसलाई दक्षिणा–पश्चिमाहरूले मन पराएका छैनन् भन्ने तत्वज्ञान राख्नेहरू कम्युनिष्ट सत्ताको जरो उखेल्न सधैं मौकाको खोजीमा रहेको मान्दछन् । यता कम्युनिष्ट नामका सत्ताधारीहरूको चरित्र, आनीबानी र कामगर्ने शैलीमा कुनै नविनता नदेखिएको र जनताले मतदानबाटै बहिष्कृत गरेको पूर्व कांग्रेसी सत्ताभन्दा कुनै पनि हिसावले भिन्न नदेखिएको सहजै देख्नथालेका छन् । सैद्धान्तिक विचार जे बोके पनि र जनपक्षीय जति नै नारा उराले पनि वर्तमान सत्ताबाट सर्वसाधारण जनता लाभान्वित र आश्वस्त हुन नसकेको अवस्था दिन प्रतिदिन उजागर भैरहेको छ । सत्तारूढ दलभित्रै उकुसमुकुसको अनपेक्षित स्थिति व्याप्त रहेको खुलस्त भैरहेको छ भने पार्टी एकता र स्थायी प्रकृतिको बलियो सरकार गठनबाट उत्साहित कार्यकर्ताहरू र अब त शासकीय शैली फेरिन्छ र देश अनि जनताको पक्षमा परिणामदायी रचनात्मक काम हुन्छ भन्ने विश्वासमा रहेका निरपेक्ष जनता बिलखबन्दको स्थितिमा पुगेका छन् । बिहानीले दिउँसोको झलक दिन्छ भने झैं सात महिनाको शासकीय शैली र गति हेर्दा भविष्यप्रति आश्वस्त हुनसक्ने सम्भावना नितान्त क्षीण देखिनपुगेको छ । ओली सरकारका मन्त्रीहरू एक आपसमै जुहारी खेल्न थालेका छन् । पार्टीकै नेताहरू सरकार बिचौलिया ,मुनाफाखोर र भ्रष्टाचारीहरूको चंगुलमा फसेको आरोप लगाउन थालेका छन् । जनताबाटै बहिष्कृत र तिरष्कृत भएको र गति–मति केही देखाउन नसकेको प्रतिपक्षी दल नेपाली कांग्रेसबाटभन्दा आफ्नै पार्टीभित्रबाट सरकारको कटु आलोचना भैरहेको छ । पार्टीभित्रको विद्रोही आवाज र आमजनमानसना जागृत भैरहेको बितृष्णा र निराशालाई अस्थिरता र अनिश्चितताका सर्जक शक्तिहरूले कुन रूपमा भजाउने हुन् र मुलुक संकटको कुन भूमरीमा फस्ने हो भन्ने डर पैदाभैरहेको विश्लेषकहरूको ठहर छ । देशवासीहरूले ढुक्कसंग देशकै प्रमुख चाडपर्व बडादशैं पनि मनाउन सक्ने अवस्था छैन ।

सुरुदेखि नै अनुसन्धानमा उदासिनता
काठमाडौं । निकै विवादित र सनसनी मच्चिएको कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याका विषयमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदन सार्वजनिक गर्न व्यापक दवाव सिर्जना भएपछि छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको छ । 
सार्वजनिक गरिएको प्रतिवेदनमा निर्मला हराएकै दिनमा प्रहरीलाई जानकारी गराएको भए पनि उदासिन रहेको निष्कर्ष निकालिएको छ । पन्तको हत्या घटनासँग सम्बन्धित प्रमाण सङ्कलनमा खटिएका प्रहरीको लापर्वाही रहेको निष्कर्ष निकालिएको छ । शव बरामद भएको स्थान, निजले प्रयोग गर्ने साइकल एवं नोटकपी, साथीको घरबाट ल्याएको भनिएको अम्बा र ती सामग्री प्राप्त भएको स्थान तथा आसपासका क्षेत्रमा अपराधीको पहिचानका लागि प्रयोग हुनसक्ने गरी तालीमप्राप्त कुकुरको प्रयोग नभएको, शव फेला परेको स्थान र आसपासको क्षेत्रका तत्काल पर्याप्त मात्रामा तत्कालीन प्रहरी प्रमुखले सुरक्षाकर्मी परिचालन नगरेको प्रतिवेदनमा उल्लेख छ । 
यस्तै पन्त जुन घरबाट हराएको हो सोही घरमा बस्ने बविता भनिने अनिता बम र रोशनी भनिने आँचल बमलाई हिरासतमा लिइ अनुसन्धान प्रक्रिया थालनी नगरेको र स्थानीय प्रहरीले यथेष्ट प्रमाणबिना दिलीपसिंह विष्टलाई अनुसन्धानका लागि म्याद थप गरी सार्वजनिक गरेको उल्लेख छ । 
यस्तै भदौ ४ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खडा गरिएको बरामदी मुचुल्कामा उल्लेख भएको अमित गोल्ड लेखिएको निलो कट्टु, नीलो रङको गञ्जी र खैरो रङको जिन्स पाइन्ट केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षाका लागि भदौ ८ गते पठाएको भदौ १० गते नमूना सच्याउन पत्र लेखेको पाइएको छ । 
पन्तको बलात्कार हत्यासँग सम्बन्धित प्रमाण लाग्न सक्ने भित्री बस्त्र पानीमा चोपलेको, गुप्ताङ्ग र तिघ्रा पखालिएको र उक्त बस्त्र नै लोप गरिएको, पन्तका बाबु यज्ञराज साउन १२ गते मात्रै नेपाल फर्केको भए पनि साउन ११ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले खडा गरेको दसी प्रमाणमा सनाखत मुचुल्का कागजातमा मृतकका बाबुको नाममा सही छाप गरेको पाइएको छ । 
तत्कालीन प्रहरी प्रमुख दिल्लीराज विष्टको व्यवहार र कार्यशैलीका कारण आमनागरिक तथा पीडित परिवारका सदस्य प्रहरीको काम कारवाहीप्रति विस्वस्थ हुन नसकेको, मृतकको शव अन्त्येष्टि गर्न पीडित परिवारलाई प्रहरी प्रशासन र केही व्यक्तिले अनावश्यक दबाब दिएकोसमेत प्रतिवेदनमा उल्लेख छ । 
यस्तै घटनास्थलमा भेटिएको कापी साइकल रहेको स्थानदेखि एक किलोमिटर टाढा पानीमा रहेको भनिए पनि कापी भिजेको नदेखिएको, नीलो जेल पेनले लेखेको कुनै पनि अक्षर नमेटिएको, रोशनी बमको घरबाट लगेको भनिएको अम्बा बरामद नगरेको र तत्कालीन अवस्थामा छानबिन टोलीमा रहेका प्रहरी कर्मचारीलाई तत्काल छानबिन गरी कारवाही गर्नुपर्ने सुझाव दिएको छ । 
शव फेला परेको स्थानको सुरक्षा र शव जाँच मुचुल्का एवं अनुसन्धान गर्न खटिएका टोलीले जिम्मेवारी पूरा नगरेको पाइएकाले पदीय तह र जिम्मेवारी एवं भूमिका अनुसार छानबिन गरी विभागीय कारवाही गर्नुपर्ने छानबिन समितिको सुझाव छ । 
यस्तै प्रहरी उपरीक्षक विष्टले आफ्नो जिम्मेवारीको क्षेत्रभित्र गम्भीर प्रकृतिको घटना भएको सूचना प्राप्त हुँदासमेत स्वयं घटनास्थल नगएको तथा सो घटनाको अनुसन्धानमा समेत पदीय जिम्मेवारी पूर्णत पालना नगरेको पाइएकाले विभागीय कारवाही गर्न समितिले सुझाव दिएको छ । 
त्यस्तै पीडित परिवारको सुरक्षालगायत सामान्य जीवनयापन प्रभावित भएको भए राज्यको तर्फबाट सामाजिक पुनःस्थापना गर्नुपर्ने र घटनाको अनुसन्धान तथा सहयोगीका रुपमा खटिएका प्रहरी तथा कर्मचारीको काम कारवाहीको सम्बन्धमा प्राप्त तथ्य, प्रमाण र घटनाक्रमका आधारमा संलग्नता देखिएका पदाधिकारीलाई समेत छानबिनको दायरामा ल्याउन सुझाव दिइएको छ । 
गृह मन्त्रालयले आइतबार साँझ सो प्रतिवेदन सार्वजनिक गरेको हो । गृहमन्त्री रामबहादुर थापाले मन्त्रिस्तरीय निर्णय गरी गत भदौ ७ गते पाँच सदस्यीय छानबिन समिति गठन गर्नुभएको थियो । 
समितिमा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित समितिमा प्रहरी नायब महानिरीक्षक रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी नायब महानिरीक्षक वसन्त बानियाँ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव वीरेन्द्र केसी सदस्य हुनुहुन्थ्यो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
गठबन्धन र एकताको उल्लास हरायो ! (10.10.2018)
दशैं हिन्दुको हैन सबैको चाड हो (10.10.2018)
पुनःअस्थिरता सिर्जनाको अशुभ सङ्केत ! (10.02.2018)
बलात्कार पनि पूँजीवादको उपज (10.02.2018)
संसद अन्त्य बहुचर्चित चिकित्सा विधेयक पेश भएन (10.02.2018)
अस्थिरतावादी शक्तिहरू पुनः जुर्मुराउन थाले- ‘बलियो’ सरकारको निरीहता जताततै उदाङ्ग ! (09.25.2018)
राष्ट्रकवि घिमिरे सयवर्षमा प्रवेश (09.25.2018)
विजय जैलीको विषवमन (09.25.2018)
कुनै दिन सुस्ता पनि हराउँछ नक्साबाट (09.11.2018)
भारत निर्भरता अन्त्य हुने बाटो खुल्यो : केन्द्र र प्रदेश सरकारहीबीच चर्को मतभेद (09.11.2018)
दुई गलत निर्णय र गलत सन्देश (09.11.2018)
परराष्ट्रनीतिमा असन्तुलन र विचलनको खतरा (09.04.2018)
के भयो बिम्स्टेक शिखर बैठकमा ? (09.04.2018)
डरलाग्दो छ बलात्कारका घटना (09.04.2018)
अनन्तरामले राखे विश्वमा सबैभन्दा लामो समयसम्म बोल्ने कीर्तिमान (09.04.2018)
बिमस्टेक सम्मेलनको ‘कस्मेटिक’ तयारी ! (08.28.2018)
अपराधको बिरोध गर्दा पनि गोली खानुपर्ने ? (08.28.2018)
कांग्रेस महासमिति बैठक अहिलेदेखि नै आआफ्नै दाउ (08.28.2018)
सरकारप्रतिको विश्वास र भरोशा स्खलित हुने क्रममा ! (08.14.2018)
देवानी तथा फौजदारी संहिता : चिकित्सकहरु थर्कमान (08.14.2018)



 
::| Latest News

 
[Page Top]