युगसम्बाद साप्ताहिक

सरकार यी नेपाली कहाँ छन् ?
Thursday, 04.04.2019, 01:40pm (GMT5.5)

काठमाडौं । नेपाल भारत खुला सीमाका कारण दुबै देशका नागरिकलाई आवतजावत गर्न सहज देखिए पनि बेलाबेलामा भारतीय पक्षबाट नेपालीमाथि ज्यादती हुने गरेको छ । सीमावर्ती क्षेत्रमा घाँसदाउरा गर्न समेत भारतीय सुरक्षाकर्मीले बन्देज लगाउने मात्र हैन नेपालभित्रै पसेर कुटपिट गर्ने, पक्राउ गर्ने काम गर्दैआइरहेका छन् । 
यसबीचमा विगत ८ वर्षदेखि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पक्राउ गरेका दुई नेपालीको अहिलेसम्म अत्तोपत्तो छैन । जङ्गलमा घाँस, दाउरा लिन गएका राममिलन लोध र जमुनीका हर्कबहादुर शाही आठ वर्षदेखि बेपत्ता छन् । 
गुलरिया नगरपालिका–८ का राममिलन लोध विसं २०६७ देखि बेपत्ता छन् । भारतीय प्रहरीले आठ वर्षदेखि बेपत्ता राखेको पीडित परिवारले आरोप छ । घाँस, दाउरा गर्न गएका उनीसहित अन्य नेपाली भारतीय वन समयमाता मन्दिरको घना जङ्गलमा पुगेका थिए । जङ्गलमा नेपाली देखेपछि भारतीय वनरक्षकले गोली चलाएका थिए । गोलीले घाइते भएका उनलाई भारतीय प्रहरीले नै मोटरसाइकलमा राखेर उपचारका लागि लगेको र अहिलेसम्म थप कुनै जानकारी नदिएको लोधकी श्रीमती पार्वतीले बताउनुभयो ।
विसं २०६७ फागुन ५ गते नै बढैयाताल गाउँपालिकास्थित जमुनीका हर्कबहादुर शाहीलाई पनि भारतीय सुरक्षाकर्मीले बेपत्ता पारेका थिए । वन तस्करी गरेको भन्दै उनीमाथि गोली प्रहार गरिएको थियो । घाइते अवस्थामै उनलाई भारतीय सुरक्षाकर्मीले बेपत्ता पारेको परिवारको आरोप छ । दुवैको अवस्था अहिलेसम्म पनि अज्ञात नै छ । 
लोधलाई गोली हान्ने क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर सँगै गएका राधेश्याम लोध पनि घाइते भएका थिए । दुवैलाई भारतको मूर्तिहास्थित वन विभागका वन रक्षकले गोली चलाएको पार्वतीले बताउनुभयो । घटनालगत्तै एसएसबीले लोधको नेपाली नागरिकताको प्रतिलिपिसमेत मागेर लगेको परिवारले बताए । वनरक्षकले उनलाई उपचारका लागि भारत उत्तरप्रदेश राज्यस्थित बहराइच लगेको जानकारी दिएका थिए । 
घटनालगत्तै बहराइचस्थित सरकारी तथा निजी अस्पतालमा खोजतलास गरे पनि फेला नपरेको आफन्तको दाबी छ । पीडित परिवारले जिल्ला प्रशासन कार्यालयसहित भारतीय वन कार्यालयमा अवस्था सार्वजनिक गर्न माग गर्दै आएका छन् । गुलरिया नगरपालिकाको प्रमुख मुक्तिनाथ यादवले भारतीय वन रक्षकबाट बेपत्ता पारिएका लोधको खोजी राज्यले गर्नुपर्ने बताउनुभयो । लोधका श्रीमती एक छोरी र दुई छोरा छन् । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com