आइतबार साँझ अचानक आएको हावाहुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति भयो । हुरीका कारण ज्यान गुमाउनेको संख्या तीन दर्जन नाघेको भने ७०० भन्दा बढी घाइते छन् ।
हावाहुरीका कारण भएको जनधनको क्षतिपछि सोमबार बिहानै बसेको प्रदेश नं. २ मन्त्रिपरिषदको बैठकले बारा, पर्सा लगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै मृतकका परिवारलाई ३ लाख रुपैयाँ तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै प्राकृतिक विपतिमा परेर घाइते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाहरुको बासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने निर्णय सरकारले गरेको मुख्यमन्त्री लालबाबु राउतले बतानुभयो । त्यस्तै उपचारमा जति खर्च हुन्छ, त्यो प्रदेश सरकारले व्यहोर्ने बताइएको छ ।
त्यसैगरी तत्कालका लागि बासस्थानका के गर्न सकिन्छ, त्यो गर्ने र पीडितहरुको पुनर्वासका लागि पहल गर्ने समेत मुख्यमन्त्री राउतले जानकारी दिंदै पीडितको बासस्थान निर्माण र पुनर्वासमा पनि प्रदेश सरकारको सक्रिय सहयोग रहने मुख्यमन्त्री राउतले बताउनुयो ।
हाराहारीका कारण घाइते भएकाहरुको उपचारका लागि चिकित्सकको समेत अभाव भएको छ । प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले बारा र पर्साका अस्पतालहरुमा चिकित्सकको अभाव खडकिएको बताउनुभएको छ ।
सैयौंको संख्यामा घाइतेहरुलाई कलैया र वीरगञ्जका अस्पतालहरुमा पु¥याइएको छ । अस्पतालहरुमा छटपटाइरहेका घाइतेको अवस्था दर्दनाक छ, गाउँमा अझै कतिपय घाइतेहरुको उद्धार हुन बाँकी छ । औषधि र चिकित्सकको ठूलो अभाव खड्किएको छ ।
तत्कालै गर्नुपर्ने काम चिकित्सकको अभाव पूर्ति गर्नु रहेको बताउँदै मन्त्री सोनलले आँधीको चपेटामा परेर घरबार गुमाएकाहरुको खानपिन र बासका लागि सहयोगका हातहरु जरुरी रहेको बताउँदै भन्नुभयो– आँधीका कारण मानिसहरुको बास छैन, प्रदेश सरकारले गर्ने निर्णय त गरियो, तर अन्यत्रबाट पनि सहयोगको हात बढाउन जरुरी छ ।’
कसरी आयो यस्तो हावाहुरी
केही दिनयता मौसम बदली रहने र वर्षा हुने अनुमान मौसम पूर्वानुमान शाखाले गरेको भए पनि यस्तो वितण्डा मच्चिने गरी हावाहुरी आउने अनुमान थिएन । आइतवार बिहान मौसम पूर्वानुमान महाशाखाले नेपालका मध्य तथा पूर्वी क्षेत्रका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा गराउने बादल विकसित भएको र त्यो पूर्व्तिर सरिरहेको जनाएको थियो । तर यति ठूलो क्षति र्पुयाउन सक्नेगरी हावाहुरी आउने अनुमान आफूहरूले नगरेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्याल बताउनुहुन्छ ।
अर्यालका अनुसार स्थानीय वायुको प्रभाव र भारतको मध्यप्रदेशमा निम्न चापीय क्षेत्र विकसित हुँदा हावाहुरीले शक्तिशाली स्वरूप लिएको देखिन्छ । स्थानीय वायुकै प्रभावले बादल धेरै बनेर एकैचोटि तल खनिँदा हावाहुरी सिर्जना भयो । तर जल तथा मौसम विभागका मौसमविद्का अनुसार स्थानीय वायुको प्रभाव उच्च भएकाले पूर्वानुमान संयन्त्रमा सचेत गराउने गरी कुनै संकेत देखिको थिएन । उता भारतको मौसम पूर्वानुमान निकायले चाहिँ नेपाली सीमा जोडिएका बिहार तथा पश्चिम बङ्गाल राज्यमा प्रतिघण्टा ४० देखि ५० किलोमिटरको गतिमा हावा चल्न सक्ने बताएको थियो ।
नेपालको सबैभन्दा ठूलो समस्या भनेको अव्यवस्थित र असुरक्षित बस्ती हो । अझ तराईको असुरक्षित बस्तीका कारण बाढी, आगलागी र हावाहुरीका कारण हरेक वर्ष ठूलो क्षति हुने गर्दछ । अब यसको रोकथामका लागि व्यवस्थित बस्ती विकासमा संघीय र प्रदेश सरकार तथा स्थानीय निकाय एकजुट भएर काम गर्नुपर्दछ ।
जवसम्म व्यवस्थित र सुरक्षित बस्ती विकास हुँदैन तबसम्म यस्ता प्राकृतिक विपत्तिबाट अकल्पनीय क्षति भोगिरहनुपर्दछ ।