युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 05.25.2019, 04:45am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
नयाँ वर्षको आरम्भसंगै नयाँ चुनौतिका सकेत- राष्ट्रिय परिस्थिति अन्योलपूर्ण बन्दै
Tuesday, 04.16.2019, 01:37pm (GMT+5.5)

काठमाडौं । मुलुक नयाँ वर्ष २०७६ मा प्रवेशसंगै छताछुल्ल हुनथालेका राजनीतिक आर्थिक क्षेत्रका विसङ्गत प्रवृत्तिहरू सरकारका लागि ठूलो चुनौती बन्ने पूर्व संकेतहरू देखापर्न थालेका छन् । देशमा दुई तिहाइको स्थायी सरकार स्थापित भएर पनि शासकीय शैली र चरित्रमा सुधारका लक्षणहरू नदेखिएकाले राष्ट्रिय परिस्थिति अझै अन्योलपूर्ण र अविश्वसनीय बनिरहेको छ । विगत एक वर्षको अन्तरालमा संसदभित्र र बाहिरका प्रतिपक्षी र सरकारविरोधी दलहरूको भूमिका प्रभावकारी नदेखिएको भए तापनि अब मोर्चाबद्ध भएर नै सरकारको विरोधमा आन्दोलन गर्ने नयाँ कसरत सुरू भएको छ । यता  सत्तारूढ दल नेकपाभित्रै पार्टी एकता प्रक्रियामा भएको विवाद र बिलम्बले पार्टीका आमकार्यकर्ताबीच नै अन्योल र अनिश्चितता व्याप्त छ भने तमाम कार्यकर्ता जिम्मेवारीबिहीन हुँदा उत्पन्न भैरहेको नैराश्यले पनि पार्टी नेतृत्वप्रतिको आक्रोश बढाएको सम्बद्ध राजनीतिक सूत्रहरू बताउँछन् । पार्टी एकता प्रक्रियामा भएको बिलम्ब र समायोजनमा देखिएको गुटगत र भागबण्डाको समस्याको निदान सर्वस्वीकार्य ढंगले हुनसकेन भने समानान्तर सङ्गठन निर्माणको कसरत हुनसक्ने सङ्केतहरू अग्रपंक्तिकै नेताहरूले दिइरहेका छन् । पार्टीका  अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  हालैमात्र चन्द्रागिरिको शितल वातावरणमा बसेर चोचोमोचो मिलाउने कसरत गर्दै छ दशक अगाडि नेपाल कम्युनिष्ट पार्टी स्थापना गरिएको दिन पारी बैशाख ९ गते पार्टी एकता टुङ्गाउने समझदारी गरेको सूचना प्रवाहले पार्टीपंक्तिभित्र नयाँ तरङ्ग पैदागरेको छ । असन्तुष्टि र निराशाका कारणहरू सहजै दब्बिने हुन् वा समानान्तर सङ्गठनको गुटगत अभ्यासको नयाँ चरण सुरू हुने हो भन्नेवारे बौद्धिक राजनीतिक क्षेत्रमा व्यापक उत्कण्ठा जागृत भैरहेको छ ।
राजनीतिक विश्लेषकहरू भन्दछन्– लोकतन्त्रमा सरकारको विरोधमा प्रतिपक्षी  राजनीतिक दलहरूले आन्दोलन गर्नुलाई अस्वाभाविक र असहज मान्न सकिँदैन तापनि प्रधानमन्त्री ओलीले नयाँ वर्ष प्रवेशकै दिनमा  ‘१३ वटा विभिन्न आकारका नन्दी भृंगी भेला भएर आन्दोलन गर्छौं भनेका छन्’ भन्दै जुन शब्दावलीमा विपक्षीहरूलाई लल्कार्नुभएको छ त्यसले कतै उत्तेजनात्मक स्थिति सिर्जना गर्न बल पु¥याउने त होइन भन्ने प्रश्न पनि खडा गरेको छ । सरकारका कतिपय प्रत्युत्पादक गतिविधिले संसदभित्र र बाहिरका विधर्मी राजनीतिक दलहरूबीच राजनीतिक मोर्चाबन्दीको सम्भावना बढाउँदैगएको छ । सत्तारूढ दलका नेताहरूले राज्यशक्तिको बलमा जता पनि बलमिच्याइँ गर्ने र विपक्षीको आवाज सुन्दै नसुन्ने गर्दा विकसित हुने असमझदारीका दुष्परिणामहरू मुलुकले वारम्वार भोग्दैआएको पृष्ठभूमिलाई हेर्दा आन्तरिक राजनीतिक संवाद र पारस्परिक समझदारीको अपरिहार्यता अनिवार्य नै छ । नेपाललाई अन्योल र अस्थिरताकै भुमरीमा पारिरहने दाउमा रहेका बाह्यशक्तिहरूले राजनीतिक अन्तर्बिरोध चर्काउन र विद्रोहजन्य स्थिति सिर्जना गर्न अनपेक्षित खेलहरू निरन्तर खेलिनैरहेका हुन्छन् भन्ने तत्वज्ञान गर्न नसक्ने हो र दुई तिहाइकै दम्भ बोकेर असहिष्णु बन्दैजाने हो भने त्यसका दुष्परिणामहरू निकट भविष्यमै देखिन सक्ने सम्भावना व्यक्त हुन थालेको छ । सत्तारूढ दलभित्र चर्किरहेको अन्तर्विरोधले विग्रहजन्य बिस्फोटक स्थिति पैदागर्न नसक्ला भन्ने पनि छैन । निहित स्वार्थ प्रेरित राजनीतिले असङ्गत र अस्वाभाविक मोर्चाबन्दी र गठबन्धनलाई सहज बनाउने गरेको इतिहाससिद्ध कुरा भैसकेको छ ।
सरकारका प्रत्युत्पादक निर्णयको लामो फेहरिस्त छ । सरकारकै अव्यवहारिक निर्णयले हालैमात्र सरकारी चिकित्सकहरूलाई आन्दोलनमा उतारिदिँदा देशभरका लाखौं वेरामीहरूले उपचार पाउनबाट बञ्चित रहे । मेडिकल कलेजहरूले विद्यार्थीहरूमाथि जारी गरेको लुटानका घटनाहरूप्रति सरकार मौन देखियो । भूमाफियाहरूले सरकारी संयन्त्रहरूलाई नै उपयोग गरी मच्चाएको लुटका घटनाहरू डरलाग्दा छन् । एनसेलको कर असुलीमा सरकारले देखाएको उदासीनता रहस्यात्मक बन्दैगएको छ भने तीन महिनाभित्र कर असुली गर्न सर्वोच्च अदालतले गरेको आदेशको पालनामा सरकार कति अग्रसर हुने हो भन्ने कुतुहलतापूर्ण प्रश्न पनि उत्तिकै उठिरहेको छ । राजनीतिक समायोजन र समझदारी विकासका मूल मुद्दाहरूलाई ओझेलमा पारेर झिना मसिना कुरालाई ठूलो उपलब्धिका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले राजनीतिक समस्या चर्किँदै जाने नराम्रो सङ्केत गरिरहेको छ । सरकारले एक वर्षभित्र धेरै राम्रो काम गरेको दावी प्रस्तुत गर्दैआएको भए तापनि आर्थिक अनुशासनहीनता बढ्दैगएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले नै नाङ्गोरूपमा देखाइदिएको छ । बढ्दो आयात र व्यापार घाटा, शोधनान्तर घाटा वृद्धि, खर्च गर्ने क्षमता बढ्नै नसकेको अवस्था, विकास आयोजनाहरूमा हुने गरेको बिलम्व र लगानी विस्तारको बोझले देशको अर्थतन्त्रलाई नै बोझिलो र समस्याग्रस्त रहेको यथेष्ठ जानकारी दिइरहेको छ । आर्थिक उत्पादकत्व वृद्धिका कागजी योजनाहरू परिणाममुखी देखिएका छैनन् । भद्रगोल र बेथितिका विकृतिजन्य मुहानहरू रोकिएका छैनन् । २०७५ सालले इङ्गित गरेका समस्याहरूको निराकरण गर्न २०७६ साल कति सार्थक र सक्षम रहला त्यो हेर्न समयकै प्रतिक्षा गर्नुपर्ने भए पनि राष्ट्रिय परिस्थिति असहज बन्दैगएको चिन्ताजन्य परिस्थिति सिर्जित भैरहेको छ ।  अन्योल र अस्थिरतातिर धकेल्ने प्रपञ्चबाट मुलुकले कसरी पार पाउला ? यो नै अहिले उठ्न थालेको चिन्ताजन्य प्रश्न हो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
भएको काम र भावी योजना ‘शब्दजाल’ मात्रै ! (04.16.2019)
प्रधानमन्त्री ओलीका दुई सम्बोधन कति बदलियो ? (04.16.2019)
लुक्ला विमान दुर्घटना : तीनजनाको मृत्यु (04.16.2019)
सरकार विवादै विवादको कठघरामा- देशभर लाखौं विरामीको विचल्ली (04.10.2019)
प्रधान न्यायाधीश राणाले संगै राजीनामा दिन प्रस्ताव गरेपछि (04.10.2019)
प्रमुख दल गुटबन्दीको शिकार बन्दा (04.10.2019)
हावाहुरी पीडितलाई राहतभन्दा आहत बढी- फोटो चिखेर प्रचार गर्नेहरु नै भेटिए अत्यधिक (04.10.2019)
हावाहुरीका कारण जनधनको अकल्पनीय क्षति (04.04.2019)
न्यून उपलब्धीको महत्वाकांक्षी लगानी सम्मेलन (04.04.2019)
सरकार यी नेपाली कहाँ छन् ? (04.04.2019)
भारतको दादागिरी बिरुद्ध जेनेभामा आवाज (03.28.2019)
नेपालमा ‘रअ’को ब्यूहरचना (03.28.2019)
राजनीतिक सुनिश्चितता अझै सन्देहको घेरामा ! (03.28.2019)
“राजनीति पेशा होइन समाजसेवा हो” (03.28.2019)
स्वतन्त्र मधेश गबठन्धन बन्यो ‘जनमत पार्टी’ यूएनपिओको सदस्यता के ? (03.18.2019)
निषेध र तिरस्कारको राजनीति प्रत्युत्पादक- ससदनदेखि सडकसम्म टकरावको स्थिति (03.18.2019)
शहीद गंगालालको स्मृतिसभा (03.18.2019)
कतै तपाईमा पनि छ कि यस्तो समस्या ? (03.18.2019)
नेकपामा समायोजनकारी निकासको बाटो खुलेन- सकारात्मक नतिजा दिन सरकार विफल (01.01.2019)
नागरिकताको विषय ख्याल ख्याल हैन (01.01.2019)



 
::| Latest News

 
[Page Top]