युगसम्बाद साप्ताहिक

विकासमा राजनीतिक प्रतिबद्धताको अभाव
Tuesday, 04.30.2019, 01:51pm (GMT5.5)

काठमाडौं । मुलुकको विकासमा राजनीतिक प्रतिबद्धता नहुँदा स्रोत–साधन समय त्यसै खेर गैरहेको छ । तोकिएको समयमा हुनुपर्ने कुनै काम हुँदैनन् भने कतिपय काम आथिर्गक वर्षको अन्त्यतिर आएर सुरु गर्ने अर्थात् वर्षा लागेपछि सुरु गर्ने प्रवृत्तिमा कुनै सुधार छैन । अर्कोतिर विकासमा पनि राजनीतिक लाभ–हानीको हिसाब गर्नेगर्दा बनाइएका योजनाहरु अधुरै रहन्छन् ।
अब भने देशमा निर्माणको कामले गति लिन थालेको छ । कारण काम गर्नका लागि नभएर कमाउनका लागि हो । आर्थिक वर्षको अन्त्यतिर आएपछि उपत्यका लगायत देशभर विकास निर्माणको कामले द्रुतगति लिएको देखिन्छ । हिउँदमा गर्नुपर्ने काम वर्षा सुरु भएपछि वा हुन लागेपछि थालिन्छ र वर्षा समाप्तिसंगै निर्माण भएका सडक पनि पहिलेकै जस्तो हुन्छ, बजेट सकिन्छ ।
अहिले काठमाडौंका अधिकांश सडकहरुको अवस्था यस्तै छ । कतिपय क्षेत्रमा अब काम सुरु हुन लागेका छन् । काठमाडौंका अधिकांश सडक पानी पर्नासाथ हिलाम्मे र घाम लागेपछि धुलाम्य हुन्छन् । यति मात्र हैन लामो समयदेखि सडक निर्माणका लागि भन्दै खनिएका र सडक छेउमा थुपारिएका निर्माण सामग्रीका कारण कारण खाल्डाखुल्डी र साँघुरिएका छन । हेर्दा राजधानीमा अधिकांश सडक निर्माण क्रममा छन् । तर निर्माण सुरु भएको समयावधि सकिँदासमेत सडकले पूर्णता पाउन सकेको छैन । निर्माणको काम थालेदेखि नै सडक लथालिंग छन् । राजधानी भित्रिने र बाहिरिने मुख्य नाकासंँग जोडिएको त्रिपुरेश्वर–कलंकी–नागढुंगा खण्ड अझै निर्माण पूरा हुन सकेको छैन । यो खण्डलाई चार भागमा विभाजन गरेर ठेक्का लगाइएको छ । ०७२ असार ३१ मा सम्झौता भएको चार खण्डकै ठेक्का सम्झौता सकिएको छ । तर काम भने सकिएको छैन । सडकको अवस्था लथालिंग छ ।
लथालिंग सडकै कारण जाम खेप्नुपर्ने बाध्यता छ । त्यति मात्र होइन । सडक नजिकै घर भएका स्थानीय निर्माणको क्रममा भत्काइएका सडकले गर्दा समस्यामा परेका छन् । मास्क नलगाई सडक वरपर हिँडडुल गर्न सकिँदैन । 
यस्तै, समस्या चाबहिल–जोरपाटी–वाग्मती–साँखु खण्डमा पनि छ । यो सडक खण्डलाई पनि ५ भागमा विभाजन गरेर ठेक्का गरिएको छ । सबैको ठेक्का सम्झौता सकिइसकेको छ । तर निर्माणले गति लिन सकेको छैन । १२ किमि सडकमध्ये बल्ल साढे २ किमि पिच भएको छ । त्यस्तै टुसाल, बौद्धतिर पुरानो ढल फुटेर समस्या थपिएको छ । मुअब्जाको समस्या छ । मुअब्जाको समस्या टुंगिइसकेको छैन, अदालतले जग्गाको पनि मुअब्जा दिन भनेकाले यसको पाटो बाँकी नै छ 
भित्री सडकको हालत पनि उस्तै छ । सडक र नाली बनाएपछि ह्युम पाइप राख्न जथाभावी सडक भत्काइएको छ । जोरपाटी सुन्दरीजलको सडकको अवस्था अत्यन्तै नाजुक छ । सो खण्डमा वैशाख १५) गतेबाट काम सुरु गर्ने भनिएको छ । तीन दशक भयो यो सडक विस्तारको योजना बनेको, काम अघि बढेको जस्तो भएको अनि अबरोधमाथि अबरोध आएको । कहिले कसको अबरोध, कहिले कसको अबरोध हुँदै गर्दा आजको मितिसम्म त्यो सडकको अवस्था नाजुक छ ।
सडक विस्तार तोकिएको मापदण्ड र योजना अनुसार कि आफूखुसी भन्ने बहसले लामो समय खायो भने मुआब्जाको विषय पनि त्यस्तै छ । अहिले यथास्थितिमा सडक मर्मत गर्ने योजना बनेको छ । यो कति जायज भन्ने प्रश्न कायमै छ । सो सडक खण्डमा चर्को राजनीति पनि भएको छ । 
गोकर्णेश्वर नगरपालिका अन्तर्गत पर्ने यो सडकको नाजुक अवस्थाका कारण स्थानीय जनप्रतिनिधि जनताको आक्रोशको शिकार बनिरहेका छन् भने अर्कोतिर राजनीतिकरणको नयाँ नयाँ खेलले सडक विस्तार वा मर्मतको काम झनै अन्योलमा परेको छ ।
जोरपाटी सुन्दरीजल सडक अहिले सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलको प्रतिष्ठाको विषय बनेको छ । हुन त केही पढेलेखेका र उच्च सरकारी तहमा पुगेर अवकाश लिएका अनि आफूलाई समाजसेवी भनेर प्रचार चाहने केही व्यक्तिहरुले सडक विस्तारका लागि घरजग्गाको मुआब्जा माग गरेर रिट हालेपछि यो काम रोकिएको छ । देशभरकै सडकमा अहिले यस्तै स्थिति छ । 
सर्वोच्च अदालतले मुआब्जा दिएर मात्र सडक विस्तार गर्ने आदेश दिएको भएपछि यहाँ मुआब्जा लिने वा दिने मात्र नभै कसले सडक विस्तार वा मर्मतको जस लिने भन्ने होड समेत चलेको छ । विकासमा ठूलो राजनीतिकरण भएको छ । अहिले सडक यथास्थितिमा मर्मत गर्न सुरु हुने भनिएको छ । अहिले करोडौं रुपैयाँ खर्च गरेर मर्मत ग¥यो अर्को वर्ष उस्तै हुने स्थिति यो सडक खण्डमा पनि छ । 
पछिल्लो समय गोकर्णेश्वर नगरपालिकाले सडकको अवस्थामा सुधार ल्याउन तोकिएको योजना अनुसार नभै साविकमै सडक मर्मत गर्ने भएपछि अरु विवाद उत्पन्न भएको छ । सडक कसरी बनाउने भन्नेमा नगरपालिकाका सदस्यहरु पनि विभाजित छन् । सत्तापक्षका वडा अध्यक्ष तथा सदस्यहरु सडक तोकिएको योजना अनुसार नै बनाउनुपर्छ भन्ने पक्षमा छन् भने नेपाली कांग्रेस पक्षका तथा मेयर र उपमेयर भने तत्काललाई बजेट खेर नजाने गरी बनाउनुपर्छ भन्ने पक्षमा छन् । नगरपालिकाले सोही अनुसारको निर्णय पनि गरिसकेको छ ।
सडक मर्मतको काम सुरु गर्ने सूचना आव्हान भैसकेको छ । स्थानीयबासीका लागि यो सुखद सन्दर्भ हो तापनि वर्षा सुरु हुन लागेपछि हुन लागेको मर्मतले अहिलेकोभन्दा बढी समस्या सिर्जना गर्ने पक्कै छ । पानी पर्न थालेपछि पिच हुने सम्भावना रहँदैन जसले गर्दा सडक अरु नाजुक हुने स्पष्टै छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com