युगसम्बाद साप्ताहिक

नेपाल आएर के गर्लान् जयशङ्करले ?
Tuesday, 08.20.2019, 01:30pm (GMT5.5)

काठमाडौं ।  भारतका विदेशमन्त्री सुब्रहमन्यम् जयशंकरको भोलि बुधवार हुने नेपाल आगमन राजनीतिक बौद्धिक जगतमा कुतुहलताको विषय बनेको छ । उहाँ नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको भदौ ४ गते काठमाडौंमा बस्ने पाँचौं बैठकमा भागलिन आउन लाग्नुभएको भए पनि नेपालको आन्तरिक राजनीतिक व्यवस्थापनमा भारतको अविरल रुची र चलखेलका कारण यस्ता भ्रमणप्रति जन चासो बढ्ने गरेको विगतदेखिकै अभिलेख छ । यतिखेर भारतको विशेष चासो सुरक्षाको विषयमा केन्द्रित रहेको  र खुला सिमानाका कारण अनियन्त्रित आवागमनबाट उत्पन्न हुनसक्ने समस्याको निराकरणका लागि सीमा व्यवस्थापन र नियमनको विषयले प्रमुखता पाउने कुटनीतिक सूत्रहरूको  भनाइ छ ।
सतहमा हेर्दा र औपचारिक रूपमा भनिँदा नेपाल र भारतबीच सुदृढ सम्बन्ध रहेको, विश्वासको वातावरण कायम रहेको र ‘विन विनको सिचुएसन’मा काम गरिने भनिए पनि गहिराइमा पुगेर नियाल्दा चरम व्यापार घाटा, सीमा अतिक्रमण, हरेक वर्ष देखिने डुवानको समस्या, जनसांख्यिक अतिक्रमण, स्वतन्त्र निर्णमाथि अंकुस, निर्यातमा व्यवधान, जलस्रोतको दोहन लगायतका अनगिन्ती समस्याहरूको खातैखात रहेको र नेपालको अखण्डता, सार्वभौमिकता र स्वाधीनतामाथि नै खतरा बढ्दैगएको चर्चा सदनदेखि सडकसम्म गुञ्जित भैरहेको छ । नेपालमा अहिले दुई तिहाइको बलियो स्थायी सरकार स्थापित रहेको देखिए पनि कुटनीतिक ज्ञान, क्षमता र चातुर्यको कमीका कारण भारतको बलमिच्याइँ र हेपाहा नीतिका कारणबाट उब्जिएका समस्याहरू अहिले पनि कार्पेट मुनी नै छोपिएका छन् । भारत रिसायो भने सिंहदरवारको कुर्सी सुरक्षित हुनसक्दैन भन्ने मनोग्रन्थीले अहिले पनि काम गरिरहेको छ । राजनीतिक उथलपुथलको नौवत पनि आउनसक्छ भन्ने त्रास सधैं जीवित छ ।
परिवर्तीत सन्दर्भमा नेपाल भारत सम्बन्ध पुनःपरिभाषित गर्नुपर्ने अवस्था छ । नेपाललाई आफ्नो प्रभाव क्षेत्र र नियन्त्रणबाट फुत्किन नदिने, सकेसम्म निचोर्ने, जोरीखोजे निमठनामठ पार्ने र सकेसम्मको दुःख दिने परम्परागत सोच र व्यवहार भारतले अझै नछोडेको निकट अतीतको परिदृश्यले नेपाली मन अझै कुण्ठित छ । सार्वभौमिक समानता र सहअस्तित्वका आधारमा द्विपक्षीय सम्बन्ध परिचालित नहुँदासम्म नेपालभारत सम्बन्धले मित्रतापूर्ण विश्वासको बाटो अनुसरण गर्न सक्दैन । भारतका विदेशमन्त्री र विदेश सचिवको सहभागितामा हुने द्विपक्षीय बैठक खुद्रा मसिना विषयमा मात्रै सतही छलफल गरेर सकिने हो कि समस्याको चूरो पहिल्याएर अकुण्ठित विश्वासको वातावरण सिर्जनामा लक्षित हुने हो भन्नेतिर गम्भीर चासो राखेर हेर्नुपर्ने अवस्था छ । औपचारिक बैठक बाहिरका राजनीतिक भेटघाटमा हुनसक्ने ‘बार्गे्निङ्’र प्रवाहित हुने दवावका आशंकाहरू अहिले किन गरिँदैछन् ? अहं सबाल खडा भैरहेको छ । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com