युगसम्बाद साप्ताहिक

नेपालले चीन र भारतसंग सौदावाजी गरेर लाभ लिन सक्नुपर्छ
Tuesday, 09.17.2019, 11:59am (GMT5.5)

काठमाडौं । भारतका विदेश मामिलाविज्ञ डा निहार आर नायाकले नेपालले आफ्ना दुई छिमेकी चीन र भारतसंग आपसी हितका आधारमा सौदाबाजी गरी नेपालले बढीभन्दा बढी लाभ लिन सक्नुपर्ने सुझाव दिनुभएको छ ।
त्रिभुवन विश्वविद्यालय, नेपाल तथा एशियाली अनुसन्धान केन्द्र (सिनास)ले आयोजना गरेको ‘नेपाल भारत सम्बन्धका आयाम’ विषयको अन्तरक्रियामा उहाँले सो सुझाव दिनुभएको हो ।
उहाँको कथन थियो– नेपालले नयाँ विदेश नीति आन्तरिक अवस्था, क्षेत्रीय र अन्तरराष्ट्रिय सन्दर्भलाई हेरेर तय गर्न सकेमा प्रशस्त लाभ लिन सक्ने बताइएको छ । विश्वका उदीयमान दुई ठूला छिमेकी मुलुक भारत र चीनको बीचमा रहेकाले नेपालले सन्तुलित विदेश नीतिबाट धेरै लाभ उठाउन सक्ने अवसर छ ।
विश्वव्यापी सन्दर्भमा शक्तिशाली अमेरिका र उदीयमान चीनको सम्बन्धले एक दशकयता विश्व राजनीतिक परिदृश्यमा नयाँ आयाम आएको बताउँदै उहाँँले भन्नुभयो, ‘‘अमेरिका, चीन र भारतसँगको तटस्थ एवं उद्देश्यमूलक मित्रवत् सम्बन्धबाट नै नेपालको भलाइ हुनेछ ।’’ 
एक प्रश्नको जवाफमा नेपाल–भारतबीच भौगोलिक रूपमा मात्र नभई अन्य विविध पक्षले समेत सम्बन्धलाई गहिराइमा पु¥याएको सन्दर्भ उल्लेख गर्दै उहाँले ‘ठूलो दाइ’ र ‘सानो भाइ’ रूपमा नभई समान हैसियतका आधारमा सम्बन्ध स्थापित रहेको बताउनुभयो । अमेरिकाले अघि सारेको एशिया–प्रशान्त रणनीति र चीनले ल्याएको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ अवधारणाका बारेमा नेपालले आफूलाई लाभ पुग्ने गरी उपयुक्त निर्णय गर्न सक्ने उहाँको भनाइ थियो । 
नेपालले संविधान जारीपछि संघीयता कार्यान्वयनसँगै स्थायी सरकारमार्फत विकास प्रक्रियामा अगाडि बढाएको अवस्था भारतका लागि अत्यन्त सुखद् रहेको बताउँदै उहाँँले जनताका तीव्र आकाङ्क्षालाई सम्बोधन गरी आर्थिक समृद्धि र विकासको बाटामा लाग्न सकेमा समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा हुन सक्छ भन्नुभयो । उहाँसँग डा आनन्द आदित्य, डा देवराज दाहाल, युवराज घिमिरेलेगायत विज्ञले नेपाल–भारतबीचका सम्बन्धमा आएका विभिन्न समस्या, विश्व परिवेशमा दुई देशबीचको भूमिकालगायत विषयमा जिज्ञासा राख्नुभएको थियो ।
सो अवसरमा सिनासका निर्देशक डा मृगेन्द्रबहादुर कार्कीले क्षेत्रीय र विश्व परिवेशमा आएको परिवर्तनले नेपालको विदेश नीतिमा पार्न सक्ने प्रभाव र  भूराजनीतिक परिदृश्यका बारेमा स्पष्ट हुन आवश्यक रहेको बताउँदै विज्ञ तहमा हुने यस खालका छलफलले सरकार, राजनीतिक दल र आम समुदायलाई उपयुक्त नीति र दृष्टिकोण बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो ।  


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com