युगसम्बाद साप्ताहिक

नेपाललाई भूपरिवेष्ठित मुलुक रहन नदिने चीनको प्रतिबद्धता - दुई मुलुकबीचको सम्बन्ध नयाँ युगमा प्
Tuesday, 10.15.2019, 11:46am (GMT5.5)

काठमाडौं । लामो समयको प्रतिक्षापछि चीनका राष्ट्रपति सी चिनफिङले नेपालको राजकीय भ्रमण सम्पन्न गर्नुभएको छ । आइतबार स्वदेश प्रस्थान गर्नुअघि दुई देशबीच सरकारी तहमा भएको प्रतिनिधिमण्डलीय वार्ता र त्यसपछि भएका सहमति तथा सम्झौताले नेपाल र चीनबीचको सम्बन्ध सगरमाथाको उचाइमा पुगेको आम अनुभूति छ । राष्ट्रपति सीले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा रुपान्तरण गर्न चीनले हरप्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाउनु र हिमालय वारपार रेलमार्गका लागि सम्भाव्य अध्ययनमा सहमति हुनु नेपालका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो सहयोग र आशाको दियो हो । राष्ट्रपति सीको भ्रमणले नेपालको आर्थिक–सामाजिक विकासमा ठूलो सहयोग र साथको प्रतिबद्धता जनाएको छ । यद्यपि यसको कार्यान्वयनमा नेपालले कस्तो तदारुकता देखाउँछ भने हेर्न बाँकी छ ।
विश्वको सर्वशक्तिमान राष्ट्र बन्ने होडमा रहेको चीनका राष्ट्रपतिबाट नेपालको राजकय भ्रमण हुनु नेपालको अन्तर्राष्ट्रिय छवी अरु चुलिनु पनि हो । यस्तै चीनले नेपाललाई उच्च महत्व दिएको सन्देश पनि हो । राष्ट्रपति सी स्वदेश प्रस्थान गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको ऐतिहासिक राजकीय भ्रमणबाट नेपाल र चीनबीचको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताउनुभयो । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण भव्यरुपमा सम्पन्न भएकाले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ । 
यति मात्र हैन नेपाल र नेपाली जनताले देखाएको स्नेह र भरोसाप्रति राष्ट्रपति सी भावुक समेत हुनुभएको समाचार विवरणहरु सार्वजनिक भए । त्यस्तै राष्ट्रपति सीको नेपालको राजकीय भ्रमणबाट दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय प्रारम्भ भएको छ भने नेपालको कूटनीतिक कौशलता पनि प्रदर्शन भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्राध्यक्षबाट भएकोे राजकीय भ्रमणले नेपाल–चीन सम्बन्धलाई नयाँ गति र उचाइमा पु¥याउनुका साथै  पारस्परिक विश्वास र समझदारीमा बढोत्तरी गरेको छ । राष्ट्रपति सीको यो भ्रमणले दुई देशबीचको शताब्दीऔँ पुरानो जनस्तरको सम्बन्धलाई अझ घनीभूत मात्र तुल्याएको छैन समस्यारहित नेपाल–चीन सम्बन्ध नेपालको समृद्धिको यात्राका लागि भरपर्दो साझेदार बनेको छ ।
राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलबीच सम्पन्न द्विपक्षीय वार्ता र त्यसपछि दुई देशले आपसी साझेदारी र सहकार्य गर्ने सम्बन्धमा गरेका २० वटा समझदारी तथा सहमतिपत्रले चीन नेपालको सुखदुःखको साथी हो भन्ने थप पुष्टि गरेको छ । समृद्धितर्फको नेपालको यात्रामा सघाउन तथा भौतिक पूर्वाधारको अभाव हटाउन सीमापार रेल परियोजनाको सम्भाव्यता अध्ययनसँगै सुरुङ निर्माण सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनुलाई भ्रमणको महत्वपूर्ण उपलब्धि मान्नुपर्छ । आगामी दुई वर्षका लागि आर्थिक सहायतास्वरुप रु ५६ अर्ब उपलब्ध गराउने राष्ट्रपति सीको घोषणाले नेपालप्रतिको चीनको मैत्री छर्लङ्ग पारेको छ । परियोजना प्रारम्भ गर्ने तर त्यसलाई पूर्णता प्रदान नगर्ने परिपाटिले लक्ष्यित विकास–निर्माणका कामले गति नलिने कार्यान्वयन तहमा खरो उत्रनै पर्ने सन्देश मात्र राष्ट्रपति सीले प्रवाह गर्नुभएन आफ्नो देशको विकासको रहस्य पनि उजागर गर्नुभयो । वर्तमान सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणा साकार गर्ने नेपाल सरकारको उद्देश्य पूरा गर्न चीनले निरन्तर सहायता गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको सन्दर्भमा राष्ट्राध्यक्षकै तहमा भएको घोषणाले नेपालीमात्र होइन नेपालको विकासका साझेदारसमेत उत्साहित भएका छन् । जतिसक्दो चाँडो अतिकमविकसित मुलुकबाट स्तरोन्नत हुँदै सन् २०३० सम्ममा मध्यम आय भएका मुलुकका रूपमा परिणत हुने नेपालको उद्देश्य प्राप्तिका लागि आन्तरिक स्रोत, साधनको अपर्याप्तता र वैदेशिक लगानीको खाँचो केहीहदसम्म भए पनि चीनबाट परिपूर्ति हुने विश्वास गरिएको छ । 
त्यस्तै चिनियाँ राष्ट्रपतिले बहुल बौद्धमार्गी आफ्नो देशका नागरिकलाई ‘लुम्बिनीको यात्रामा प्रोत्साहन गर्ने’ बचनबद्धता प्रकट गर्नुलाई पनि सकारात्मक रुपमा लिनुपर्छ । नेपाल र चीनबीचको व्यापार असन्तुलन घटाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालयबीच व्यापारसम्बन्धी संयुक्त कार्यदल गठन गर्नेसम्बन्धी  समझदारीपत्रमा हस्ताक्षर हुनु तथा अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहयोग कार्यदल गठन गर्ने  समझदारीले द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ । नेपालबाट अमिलो वर्गका फलफूल चीन निर्यात गर्न मार्गप्रशस्त गर्ने द्विपक्षीय समझदारीबाट पनि मुलुकमा निर्यात प्रवद्र्धनमा योगदान हुने ठानिएको छ ।
पञ्चशीलका सिद्धान्त, पारस्परिक विश्वास, सम्मान र हितमा आधारित सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च नेपाल–चीन सम्बन्धलाई  अझ समृद्ध बनाउने राष्ट्रपति विद्यादेवी भण्डारीको अभिव्यक्तिको प्रत्युत्तरमा राट्रपति सीले भूपरिवेष्टित नेपाललाई भूजडित तुल्याउन चीनले मद्दत गर्ने घोषणा गर्नु नेपालका निम्ति गौरव र गरिमाको विषय हो । चीन र नेपालबीचको आधा शताब्दीभन्दा बढीको औपचारिक सम्बन्ध विश्वमै नमूना बनेको राष्ट्रपतिको मन्तव्य मननीय छ जसले विश्व मानचित्रमा नेपालको ओज बढाएको छ ।

दुईदिने नेपाल बसाइका क्रममा आफ्ना चिनियाँ समकक्षीसँग राष्ट्रपति भण्डारीले भेटवार्ता गर्नुभयो भने प्रधानमन्त्री ओली नेतृत्वको टोलीसँग उहाँले प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुभयो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बेग्लाबेग्लै भेटेर समसामयिक विषयमा विचार विमर्श गर्नुभएको थियो ।
त्यसैगरी उहाँले दुई देशबीच सरकार, जनता र कम्युनिष्ट पार्टी तहमा राजनीतिक सम्बन्धको दायरा र आयामलाई विस्तार गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेतासँग आग्रहलाई राजनीतिक संस्कार र व्यवहार परिपक्व तुल्याउन टेवा पुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवका हैसियतले राष्ट्रपति सीले सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका सदस्यसँगको भेटवार्तामा चीनमा आफूहरूले जनता र राष्ट्रलाई सही बाटामा डो¥याएका कारण जनताको अपार समर्थन रहेको यथार्थ सुनाएर मैत्री र एकताको सन्देश प्रवाह गर्न राष्ट्रपति सीको भ्रमण सफल भएको छ ।
नेपाल र चीनबीचको सम्बन्धले अहिले जसरी नयाँ उचाई पाएको छ त्यसको कदर गर्दै नेपालले बहुआयामिक लाभ लिन ढिलाई गर्नु हुन्न । चीनले चासो देखाए तात्ने र नदेखाए सेलाउने विगतको परिवाटीलाई अन्त्य गर्दै चीनसंग भएका समझदारी र सहमतिलाई कार्यान्वयनमा ल्याउन युद्धस्तरमा काम गर्नुपर्दछ । किनभने चीनले जे भन्छ त्यो गरेरै छाड्न । राष्ट्रपति सीले रात्रिभोजलाई सम्बोधन गर्दा पनि यही कुरा बताउनुभएको थियो । “हामी जे योजना बनाउँछौं त्यो पूरा गरेरै छाड्छौं” । चीनको यो दृढताको लाभ नेपालले कसरी लिन्छ त्यो भविष्यमा देखिनेछ । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com