युगसम्बाद साप्ताहिक

सामान्य जनताको दैनिकी झनै सकसपूर्ण - अस्वस्थकर राजनीतिक अभ्यासको नयाँ श्रृंखला
Tuesday, 10.22.2019, 01:31pm (GMT5.5)

काठमाडौं । मुलुकमा दुई तिहाइ बहुमतको नेकपा सरकारले २० महिनाको शासनकालमा जनअपेक्षा अनकूलका खासै काम गरेको प्रत्यक्ष अनुभूत नभएको र सामान्य नागरिकको दैनिकी हरहिसाबले कष्टकर बन्दैगएको कटु यथार्थबोध विस्तारित हुँदैगएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ’विकास र समृद्धि’का लागि राष्ट्रले वाञ्छित गति लिएको र ’भ्रष्टाचारमुक्त र सुशासनयुक्त’ वातावरण निर्माणमा सरकार सफल हुँदैगएको जुन जुन शब्दावलीमा दावी गरिरहेपनि ओली सरकार स्थापित हुँदाको बेला र अहिलेको दैनिक उपभोग्य वस्तुको बजार मूल्यबीच मात्रै तुलना गरेर हेर्ने हो सामान्य जनताको दैनिक गुजारा कति सकसपूर्ण बन्दैगएको छ भन्ने प्रष्टै देखिन्छ । विकास र निर्माण क्षेत्रले गतिलिन नसकेको र राष्ट्रिय उत्पादकत्व वृद्धिको लक्षण नै नदेखिएको आर्थिक सूचकाङ्कहरूले प्रष्टै देखाइरहेका छन् । अपूर्व जनउत्साह ,विश्वास र भरोशामा स्थापित भएको ओली सरकारको बीस महिने कार्यकालमा मपाइँवादी शासन सञ्चालनको जुन प्रत्युतपादक शैली देखिएको छ त्यसले जनमानसमा निराशा र वितृष्णाजन्य परिस्थिति मात्रै सिर्जना गरिरहेको छ भने सत्ताधारी दलकै नेताहरूमा समेत व्यापक रूपमा असन्तुष्टि बढ्दैगएको यथेष्ट सङ्केत मिलिरहेको छ ।
आमजनप्रतिक्रिया अहिले के छ भने ओली सरकारको सतहमा यसबीचमा देखिएको सबभन्दा ठूलो उपलब्धि भनेको हालै सम्पन्न चिनिया राष्ट्रपतिको नेपाल भ्रमण नै हो । बाहिरी रुपमा हेर्दा नेपाल र चीन दुबै देशमा कम्युनिष्ट पार्टी सत्तामा रहेको देखिए तापनि राजनीतिक पृष्ठभूमि ,परिवेश र दृष्टिकोणमा आकाशजमिनको फरक रहेकाले तुलनायोग्य र अनुकरणीय अवस्था कही कतै नरहेको यथार्थ छर्लङ्ग  छ । नेपालको स्थायित्व ,विकास र समृद्धिका लागि आन्तरिक स्रोत ,साधन र जनशक्तिको अधिकतम उपयोग गर्ने र चीनको सद्भावपूर्ण दृष्टिकोण एवं उपलब्ध हुनसक्ने पूँजी र प्रविधिको अधिकतम उपयोगका लागि विश्वसनीय वातावरण तयार गर्नमात्रै सक्ने हो भने पनि नेपालले फड्को मार्नसक्ने प्रचूर सम्भावना छ । तर सहमति र सम्झौता भैसकेका विषयलाई द्रूततर कार्यान्वयनको दिशामा लैजाने तत्पतरतामा विगतदेखि नै जुन कमीकमजोरी देखिँदैआएको छ त्यो अव पनि दोहोरिने हो भने पुनः आशाभङ्गकै स्थिति सिर्जना हुनेछ । परनिर्भरताको बाँडफाँट होइन अन्तरनिर्भरता र आत्मनिर्भरताको बाटो अँगाल्न आयात प्रतिस्थापन र निर्यातयोग्य वस्तुको उत्पादन वृद्धितिर लक्षित योजनाको अपरिहार्यता छ । 
राजनीतिक क्षितिजमा यतिखेर जे जस्ता बादल मडारिइरहेका छन् तीनलाई नियाल्दा सत्तारूढ दलभित्रै बढिरहेको खचपच र अन्तर सङ्घर्षको दुष्परिणाम के आउने हो भनी चिन्ता गर्नुपर्ने अवस्था छ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको डेढ वर्ष नाघिसके तापनि अन्तरघुलित अवस्था सिर्जित छैन । पोशाक ,पहिरन ,दृष्टिकोण ,अपेक्षामा जताततै एकरूपता देखिएको छैन भागबण्डाको मानसिकताको दुष्प्रभाव सरकारभित्रै व्याप्त छ । एकीकृत पार्टीका दुई अध्यक्षबीच पदीय दायित्व ,अधिकार र पालोपालो सत्ता नेतृत्वका लागि गरिएको भनिएको कथित समझदारीवारे सतहमै देखिँदैआएको खिचलो तमाम कार्यकर्ता र आमजनताका लागि अरूचीकर र अप्रीतिकर बनिरहेको छ । निर्दलीय व्यवस्थामा जस्तै पार्टी विशेष माथिको प्रतिबन्ध र झण्डै हजारको सङ्ख्यामा ’राजनीतिक आस्थाका बन्दी’ थुनाहामा रहेको अवस्थाले राजनीतिक समस्या र चुनौतीको खात लगाइरहेको छ । संसदभित्र र बाहिर दुवैतिर शिथिल र किंकर्तव्य बिमुढ देखिएको
प्रतिपक्षभन्दा पनि सत्तारूढ दलभित्रै सुरू भएको समीकरणको नयाँ खेलको सामना गर्नुपर्ने चुनौती खडाभएको छ । सत्तासहभागी समाजवादी दललाई सरकारबाट बाहिरिन उक्साउने कसरतको परिणाम के आउने हो भन्ने उत्कण्ठा पनि यसबीचमा जागृत भैरहेको छ । ओली सरकारको निर्विकल्पतामाथि विकल्पताको खोजी अस्वस्थकर राजनीतिक अभ्यासकै परिणति रहेकाले मुलुकमा व्याप्त रहेको रन्थमोल र बेथिति कुन चरणमा प्रवेश गर्ने हो भन्ने चिन्ताजन्य प्रश्न क्रमशः खडा हुँदैगएको छ ।    


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com