काठमाडौं । भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्प्यिाधुरा उसको राजनीतिक नक्सामा समेटेपछि नेपालमा यसको व्यापक बिरोध भैरहेको छ । यस क्रममा नागरिक समाजले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ ।
नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी नेपालको नक्सा सार्वजनिक गरेको हो । नक्सा तयारबारे जानकारी दिँदै अभियानका प्रा डा नरेन्द्रराज खनालले विज्ञका हिसाबले नदीको रेखांकन गरिएको बताए । उहाँले डिजिटल एलिभेसन मोडेलबाट रेखांकन गरेको जानकारी दिनुभयो ।
सीमा बचाऊ अभियानको नक्सा समितिका विज्ञ कोमलचन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जानकारी दिनुभयो ।
नागरिक अगुवा तथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्शाबारे घर घरमा चर्चा हुनुपर्ने बताउँदै भन्नुभयो हामीले अरुको जमिन नलिने र हाम्रो जमिन अलिकति पनि नछोड्ने मूल सिद्धान्त हो । सार्वजनिक गरिएको नक्शा सुगौली सन्धि अनुसारको भएको र भारततर्फबाट नेपाली भूभागमा गोलमाल भएको कारण नयाँ नक्सा सार्वजनिक गर्नुपरेको जानकारी दिनसभयो ।
नापी विभागका पूर्व महानिर्देशक पुण्य दाहालले नक्शा सार्वजनिक गरेकोमा अभियानलाई धन्यवाद दिंदै काली नदीको मुहानबारे प्रमाण रहेको र आफूहरुले पनि विगतमा यसमा काम गरेको सुनाउनुभयो ।
पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई काउन्टर गन नक्सा सार्वजनिक गर्नुपर्नेमा गरिएकोमा खुशी व्यक्त गर्दै भारतको नयाँ नक्सालाई हामी सबै मिलेर प्रतिरोध गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा पूर्व सचिव तथा अभियानकर्ता डा। द्धारिकानाथ ढुंगेलले तयार पारिएको नक्शा नेपाल सरकारसम्म पुर्याउने जानकारी दिंदै नक्सा तयार भएकाले नक्ुा संयुक्त राष्ट्रसंघसम्म पुर्याउनेबारे विचार गरिएको जानकारी दिनुभयो ।
बाँके र बर्दियाका १०३ सीमास्तम्भ गायव
भारतले सीमा अतिक्रमण गरेको मात्र हैन नक्सामै नेपाली भूमि गाभेपछि सीमाका विषयमा एकपछि अर्को गर्दै तथ्यहरु बाहिरिइरहका छन् । यसै क्रममा बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल–भारत छुट्याउने ५५२ सीमास्तम्भमध्ये १०३ सीमास्तम्भ गायब पारिएको छ ।
बर्दियामा मात्रै ९४ सीमास्तम्भ नै गायव छन् । यी सीमास्तम्भ कहाँ गए भन्ने स्पष्ट जानकारी छैन । जसमध्ये मुख्य सात, सहायक नौ र साना ७८ छन् भने बाँकेमा नौ सीमास्तम्भ गायव पारिएका छन् । जसमध्ये मुख्य चार र सहायक पाँच सीमास्तम्भ छन् । बाँके, बर्दियासँग सीमा जोडिएको भारतको बहराइच जिल्ला पर्दछ । करीब ६५ किलोमिटर बाँकेखण्ड र ८० किलोमिटर बर्दियाखण्ड रहेको छ । बाँके र बर्दियालाई स्थानीय मानखोला नदीले छुट्याएको छ ।
नेपाल–भारत छुट्याउने बाँकेखण्डमा जम्मा ३०७ सीमास्तम्भ छन् । यसमा पनि मुख्य ३२ र सहायक २७५ सीमास्तम्भ छन् । जसमध्ये मुख्य २७ सीमास्तम्भ राम्रो अवस्थामा छन् भने चार खोलाले बगाएको छ । एउटा सीमास्तम्भको पुनःनिर्माण गर्नुपर्ने देखिएको छ । दुई सय ४६ सहायक सीमास्तम्भ राम्रो अवस्थामा भए पनि २१ को मर्मत गर्नुपर्ने देखिएको छ । तीन सहायक स्तम्भ पुनःनिर्माण गर्नुपर्ने देखिएको छ भने पाँच खोलाले बगाएको छ ।
यस्तै बर्दियाखण्डमा ७२ सीमास्तम्भ मर्मत गर्नुपर्ने भएको छ । तीमध्ये ३१ मुख्य, ४० सहायक र सानो एउटा सीमास्तम्भ छन् । पुनःनिर्माण गर्नुपर्ने मुख्य सीमास्तम्भ चार वटा छन् भने सहायक १२ र साना ३१ सीमास्तम्भ रहेका छन् । यस्तै सात साहयक सीमास्तम्भ खोलाले बगाएको छ भने २५ साना सीमास्तम्भलाई पनि खोलाले बगाएको छ ।
नापी विभागको रेकर्डअनुसार ४२ नम्बरको सीमास्तम्भ मानखोलादेखि ९८ नम्बरको सीमास्तम्भ कर्णाली नदीसम्म बर्दियाखण्ड हो भने मानखोलादेखि गुर्जेनगौरीसम्म बाँकेखण्ड पर्दछ । फेला नपरेका, पुनःनिर्माण, मर्मत गर्नुपर्ने काम सबै फिल्ड सर्वे टोलीले गर्दछ । फिल्ड सर्वेमा नेपाल– भारत दुवै देशका अधिकारी संलग्न रहन्छन् । फिल्ड सर्वे टोलीले पनि समयमा काम पूरा गर्न सकेको छैन । सर्वे टोलीले पूर्वदेखि काम थालेको बताइन्छ । नेपालतर्फ सीमानाकामा सशस्त्र प्रहरी बल नेपाल तैनाथ छ ।
सशस्त्र प्रहरी चौकी १३ देखि करीब २० किलोमिटरको फरकमा स्थापना गरिएको छ । यो दूरी बाँके र बर्दियाकै हो । भारतले भने सशस्त्र सीमा बल (एसएसबी)लाई करीब पाँच किलोमिटरको फरकमा तैनाथ गरेको छ । भारततर्फ बाटो छ, तर नेपालतर्फ बाटो छैन । त्यसकारण भारतले नेपालतर्फको सीमानाकामा आफ्नो दबाब बढाउँदै लगेको स्थानीयवासीको भनाइ छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को उपस्थिति भने बाक्लो रहेको छ ।
प्रत्येक एक÷दुई किलोमिटरमा एसएसबीले गस्ती गरिरहेको दशगजामा देख्न सकिन्छ । भारत सिमानाको बाँकेखण्डमा नेपाली सुरक्षा उपस्थिति कमजोर देखिएको छ । सीमाको निगरानीका लागि सशस्त्रको मात्रै सीमित जनशक्ति परिचालित छ । भातरतर्फ भने एसएसबीको बलियो उपस्थिति रहने गरेको छ । सशस्त्र प्रहरी बल नं ३० गण बागेश्वरीले नेपालगञ्ज भन्सार, कालाबन्जर, गङ्गापुर, नरैनापुर, सुइयालगायतका ठाउँमा सीमा सुरक्षाका लागि चौकी स्थापना गरेको छ ।
“हामीले दैनिकरूपमा सीमामा गस्ती गरिरहेका छौँ”, गणका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीले भन्नुभयो, “सीमास्तम्भको अवस्था नियमितरूपमा अवलोकन गर्दै आएका छौँ ।” सीमामा दुई देशका सुरक्षाकर्मीको संयुक्त गस्तीसमेत बेला–बेला हुन्छ । कतिपय बेला क्षेत्र तोकेरसमेत गस्ती हुने गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । “सीमा सुरक्षाका सन्दर्भमा काउण्टर पार्टसमा छलफलसमेत हुने गरेको छ”, उहाँले भन्नुभयो, “प्रत्येक साता र आवश्यकताअनुसार नियमित पनि संयुक्त गस्ती हुने गरेको छ ।”
सशस्त्र प्रहरीले सीमाको सुरक्षाको काम मात्र गर्ने भएकाले सीमास्तम्भ मर्मत आफ्नो कार्यक्षेत्रभित्र नपर्ने बताएको छ । “हामीले सीमास्तम्भ मर्मत गर्ने होइन, हाम्रो काम सीमा सुरक्षाको मात्रै हो, सीमा सुरक्षाकै लागि पनि हामीसँग आवश्यकताभन्दा कम जनशक्ति छ, पाँच वटा युनिटबाट ६५ किलोमिटर हेर्नुपर्छ”, प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो । सीमावर्ती क्षेत्रका बासिन्दा नेपाली सुरक्षाकर्मीको अवस्था सीमामा पातलो रहने गरेको बताउँछन् । उनीहरू भन्छन्, “नेपाली सुरक्षाकर्मीको तुलनामा भारतीय सीमा सुरक्षा बलको गस्ती बढी रहेको देखिन्छ ।”
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सीमामा नियमित गस्ती गरिरहेको बताउनुहुन्छ । “सीमामा नेपाली सुरक्षाकर्मी ‘एलर्ट’ छन्, सीमा क्षेत्रमा थप युनिट विस्तारका लागि हामीले पहल गरिरहेका छौँ”, उहाँले भन्नुभयो । बाँकेको महेन्द्रनगरमा सशस्त्र प्रहरी गणको मुख्यालय राखिएको छ । सशस्त्रले सीमा सुरक्षासँगै अर्काे युनिटले राजश्व चुहावट नियन्त्रणका लागि भन्सार, औद्योगिक सुरक्षा बलका रूपमा पनि जिल्लामा परिचालित छ ।