युगसम्बाद साप्ताहिक

जलविद्युतको नयाँ इतिहास रचिएला ?
Tuesday, 05.24.2011, 06:18am (GMT5.5)

काठमाडौं । प्रधानमन्त्री झलनाथ खनालले गत बुधबार माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शिलान्यास गर्नुभएपछि चर्को लोडसेडिङको मारमा परेका विद्युत उपभोक्तामा केही आशा पलाएको छ । कुनै अनर्थ भएन भने आगामी चार वर्षभित्र मुलुकले आफ्नै लगानीमा ४ सय ५६ मेगावाट विद्युत उत्पादन गर्नेछ ।शिलान्यासका अवसरमा प्रधानमन्त्री खनालले स्वदेशी लगानीले निर्माण हुने माथिल्लो तामाकोशी जलविद्युत् आयोजना नेपालमा आर्थिक क्रान्तिको सुरुवात भएको र यो आयोजना नेपालको जलस्रोत विकासमा कोशेढुङ्गा सावेत हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
मुलुकको अहिलेसम्मकै सबैभन्दा सस्तो विद्युत आयोजनामा गनिएको माथिल्लो तामाकोशीलाई विदेशी कम्पनीलाई सुम्पिन गरिएको षड्यन्त्र असफल भएको छ । यति हुँदाहुँदै पनि आयोजनालाई सफल हुन नदिन अनेक खेल हुनसक्नेमा सम्बन्धित पक्ष सचेत हुनुपर्दछ । नेपालको जलस्रोतलाई विदेशीको पोल्टामा हालेर व्यक्तिगत लाभ लिन पल्केकाहरूकै कारण मुलुक बत्तिमुनी अँध्यारोको स्थितिमा बस्नुपरेको अवस्थामा माथिल्लो तामाकोशीको लगानी जुटेर शिलान्यास हुनु सुखद् सन्देश हो ।
माथिल्लो तामाकोशीले पश्चिम सेती पनि यसै गरी निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । विगत १६ वर्षदेखि आयोजना निर्माण गर्ने अनुमति लिएर बसेको स्मेकले अहिले आयोजना बनाउन नसक्ने निष्कर्ष निकाल्दै सरकारलाई लगानीका लागि दवाव दिइरहेको सन्दर्भमा सो आयोजनाका लागि पनि स्रोत जुटाउनेतिर लाग्नुपर्ने विज्ञहरूको सुझाव छ । नेपालका वाणिज्य बैंकहरू प्रत्येक वर्ष १५ अर्ब रुपैयाँको हाराहारीमा जलविद्युतमा लगानी गर्न सक्षम रहेको तथ्यांक अघिल्लै वर्ष सार्वजनिक भैसकेको सन्दर्भमा पश्चिम सेतीका लागि तिनै बैंकहरूलाई लगानीका लागि प्रोत्साहित गर्न सकिने सुझाव पनि विज्ञहरूको छ ।
निकै दवाव र विवादका बीच आन्तरिक लगानी जुटाउन सफल भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजना सय वर्ष लामो जलविद्युत उत्पादनको इतिहासमै स्वदेशी लगानीको सबैभन्दा ठूलो आयोजना हुनेछ । दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट ५० किलोमिटर टाढा लामाबगर गाविसको गोंगरमा निर्माण थालिने सो आयोजनाको कूल लागत ३५ अर्ब २० करोड रुपैयाँ रहेको र सो रकम नेपाल सरकार, नेपाल टेलिकम, कर्मचारी सञ्चय कोषलगायतद्वारा लगानी गरिने सम्झौता भएको छ । पछिल्लोपटक गत साता नेपाल टेलिकमसंग ६ अर्ब रुपैयाँ लगानीको सम्झौता भएपछि यसको शिलान्यास भएको हो । आयोजनालाई सन् २०१५ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यति हुँदाहुँदै पनि ठूला आयोजनाहरू लक्षित समयमै सम्पन्न नहुने चिन्ता मेटिन सकेको छैन । त्यसो त दोलखाका विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता आयोजना सम्पन्न गर्न एकजुट भएर लागिपरेका छन् ।
मुलुकको नमूना जलविद्युत आयोजनाको रुपमा निर्माण आरम्भ भएको माथिल्लो तामाकोशीबाट वर्तमान लोडसेडिङ समस्या घट्ने मात्र होइन यो क्षेत्रमा क्रान्ति नै हुने विश्लेषण पनि भैरहेको छ । काम गर्ने हो भने लगानी स्रोत जुटाउन सकिन्छ भन्ने मान्यता पनि माथिल्लो तामाकोशीले स्थापित गरिदिएको छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com