युगसम्बाद साप्ताहिक

सजिवनका बिरुवा अलपत्र
Monday, 08.15.2011, 02:59pm (GMT5.5)

रौतहट । एकसय किलो दानाबाट ३७ लिटर डिजल उत्पादन हुने पिना बायोग्यासमा प्रयोग हुनुका साथै शृङ्गारका सामग्री बनाउन समेत उपयुक्त हुने बताइएको सजिवन रौतहटको विभिन्न नर्सरीमा स्थापना गरेको भए पनि अन्यत्र बिरुवा सार्न नसक्दा करोडाँैको लगानी खेर जाने सम्भावना बढेको छ ।

रौतहट, बारा, पर्सा र सर्लाही जिल्लामा रहेका नदी किनार, तथा पर्ती जमिनमा रोप्नका लागि रौतहटको पौराइ, डुमरिया, रङ्गपुरमा ठूलठूला नर्सरीमा राखिएको दुई वर्ष बित्न लाग्दा पनि बिरुवा सार्न सकिएको छैन ।

दुई वर्षदेखि रौतहटमा सामुदायिक वन क्षेत्रमा २५ टन र वनक्षेत्रको खाली जमिन तथा नदी किनारमा ५५ टन सजिवनको बीउ छरिएको परिर्वतन र विकास केन्द्र नेपालका अध्यक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।

अहिले रौतहटमा रु ७० करोड सजिवनको बिरुवा नर्सरीमा नै अलपत्र अवस्थामा रहेका छन् । रु ३७ प्रतिकिलोमा विदेशबाट बीउ सजिवनको बीउ झिकाएको र नर्सरी स्थापना गर्न रौतहटमा रु एक करोडभन्दा बढी खर्च भएको विकास केन्द्र नेपालका अध्यक्ष बस्नेतले बताउनुभयो ।

सजिवनलाई सजिवन, माझिवार र तराईमा बङ्ग्रेरा भन्ने गरिन्छ । क्रिष्टल बायोइनर्जी नेपाल लिमिटेडको आर्थिक तथा प्राविधिक सहयोगमा परिवर्तन र विकास केन्द्र नेपालले चार जिल्लामा ७५ करोड सजिवनको बिरुवा रोप्ने सम्झौता दुई वर्ष अघि गरेको थियो ।

रौतहटमा भएको सजिवनको नर्सरी नेपालको सबैभन्दा ठूलो भएको क्रिष्टल बायोइनर्जी नेपाल लिमिटेडले जनाएको छ । रौतहटमा करिब दुई हजार ५०० हेक्टर जमिनलाइ पुग्ने सजिवनको बिरुवा छ ।

रौतहटमा उत्पादन गरिएको बिरुवा सामुदायिक वन, रौतहट र सर्लाहीको सिमानामा रहेको बागमती नदि किनार, रौतहटको चाँदी नदि किनार र बाराको बकैया नदि किनार तथा गण्डक नहरको किनारमा सार्ने योजना भए पनि आर्थिक अभावका कारण नर्सरीमा नै बिरुवा अलपत्र परेको छ ।

बिरुवा निःशुल्क वितरण गर्ने भए पनि, ढुवानी खर्च, श्रमिकको ज्यालालगायतको रकम नहुँदा तीन वर्षभित्र सार्नुपर्ने बिरुवा नर्सरीमा नै रहेका छन् ।

सजिवन रोपेको तीन वर्षदेखि दाना फल्ने र एक वर्षमा एउटा रुखमा चारदेखि १८ किलोग्रामसम्म दाना लाग्ने बताइएको छ ।

एकपटक रोपेपछि ५० वर्षसम्म फल लाग्ने सजिवन बहुउपयोगी वनस्पति भएको क्रिष्टल बायोइनर्जी नेपाल लिमिटेडका फिल्ड डाइरेक्टर चित्र भट्टराइले बताउनुभयो ।

नेपालमा ४२ लाख हेक्टर खाली जमिन रहेको र त्यस जमिनको आधाभागमा मात्रै यो वनस्पति लगाउन सके नेपालले आफूलाई आवश्यक पर्ने डिजल उत्पादन गर्नसक्ने दाबी फिल्ड डाइरेक्टर भट्टराईको छ ।

डिजल उत्पादन हुने सजिवनको दाना क्रिष्टल बायोइनर्जी नेपाल लिमिटेडले नै खरिद गर्ने सम्फौता समेत भएको थियो । १५ रुपैयाँ प्रतिकिलोसम्ममा सजिवनको दाना खरिद गर्ने जनाएको छ ।

खालिरहेको जमिनमा सजिवन रोप्नका लागि सरकारले समुदायलाई प्रोत्साहन गर्नुपर्ने डुमरिया गाविसका समाजसेवी महेन्द्र चौलागाइले बताउनुभयो ।



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com