युगसम्बाद साप्ताहिक

अछाममा एचआइभीको डरलाग्दो चित्र
Monday, 10.24.2011, 02:55pm (GMT5.5)

काठमाडौं । अछाममा हालसम्ममा एचआइभी संक्रमितको संख्या एक हजार १७३ पुगेको बताइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय अछामले दिएको तथ्याङक अनुसार जिल्लाभर रगत परीक्षण गराउने ३८ हजार पाँच सय १२ मध्ये सात सय ३४ जना महिला र चार सय ३९ पुरुषमा एचआइभी पोजेटिभ देखिएको छ ।
एचआइभी पोजेटिभ देखिएकामध्ये ३० देखि ३९ उमेर समूहका बढी छन् । यो उमेर समूहमा मात्रै एचआइभी संक्रमितको संख्या चार सय ९० छ । जम्मा संक्रमितको संख्या जिल्लाको जम्मा जनसंख्याको शून्य दशमलब १३ प्रतिशत हुन आउँछ ।
जिल्लामा बालबालिकामा समेत एचआइभी÷एड्सले डरलाग्दो रुप देखाएको छ । जम्मा संक्रमितमध्ये ७८ जना बालबालिका हुन् । यसमध्ये ४७ जना बालक र ३१ जना बालिका रहेका छन् ।
विसं. २०६२ मा पहिलो चोटि रगत परीक्षण गरिंदा अछाममा त्यो वर्ष ४३ जना, २०६३ सालमा एक सय १७ जना, २०६४ सालमा तीन सय ४३ जना, २०६५ सालमा दुई सय २२ जना, २०६६ सालमा दुई सय ३८ जना, २०६७ सालमा एक सय ६६ जना र २०६८ सालमा ३६ जनामा एचआइभी देखिएको थियो ।
संमितमध्ये अधिकांश ग्रामीण क्षेत्रबाट रोजगारीका लागि विदेश जाने र दलित समुदायका छन् ।  विगतका वर्षमा पैसा कमाउन भारत जानेहरूमा मात्रै एचआइभी देखिएको भए पनि गत वर्ष र यस वर्ष पुराना संक्रमितका परिवारमा र अन्य व्यक्तिमा पनि एचआइभी संक्रमण देखिएको छ । संक्रमितमध्ये तीन सय ७४ जनाले एन्टिरेट्रोभाइरल थेरापी सेवा लिइरहेको समाचारमा जनाइएको छ ।



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com