काठमाडौं । विद्यार्थीको संख्या यकिन नहुँदा जनक शिक्षा सामग्री केन्द्रले सामुदायिक विद्यालयहरूको पाठ्यपुस्तक हचुवाको भरमा छाप्ने गरेको बुझिएको छ । नयाँ शैक्षिक सत्रका लागि आवश्यक पर्ने पाठ्यपुस्तकको यकिन तथ्याङक शिक्षा विभागले जनक शिक्षा सामग्री केन्द्रलाई उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि विभागले हालसम्म पनि त्यस्तो तथ्याङक केन्द्रलाई उपलब्ध गराउने नगरेको केन्द्रले जनाएको छ ।
केन्द्रका प्रबन्ध सञ्चालक रामचन्द्र सिलवालले भन्नुभयो, “हामीहरूले सधैं अनुमानका आधारमा पाठ्यपुस्तक छाप्दै आएका छौं । यो वर्ष भने विभागबाट यकिन तथ्याङक प्राप्त नहुँदासम्म आवश्यक सम्पूर्ण पाठ्यपुस्तक नछाप्ने निर्णय गरेका छौं ।”
विभागले वर्षेनि हरेक विद्यालयको विद्यार्थी संख्या सङकलन गर्ने गरेको छ र त्यसलाई ल्यास रिपोर्टमा प्रकाशित गर्ने गरेको छ । ल्यास रिपोर्टमा भएको विद्यार्थी संख्या गलत हुने भन्दै केन्द्रले त्यसलाई स्वीकार गर्ने गरेको छैन ।
“विभिन्न आर्थिक अनुदान प्राप्त गर्न विद्यालयहरूले बढी विद्यार्थी देखाउने गरेका कारण त्यसलाई आधार मानेर पाठ्यपुस्तक छाप्ने हो भने केन्द्र डुब्ने हुँदा नयाँ शैक्षिक सत्रका लागि अघिल्लो वर्ष बिक्री भएको भन्दा १० प्रतिशत बढी पाठ्यपुस्तक छाप्ने गरिएको छ ।
गत वर्ष दुई करोड ११ लाख थान पाठ्यपुस्तक छापिएकोमा ४२ लाख थान बिक्री हुन नसकेको बताइएको छ । पाठ्यपुस्तक बिक्री हुन नसकेपछि ती सबै केन्द्रका गोदामहरूमा थन्किएका छन् । शैक्षिक सत्रका लागि दुई करोड १३ लाख थान पाठ्यपुस्तक आवश्यक पर्ने अनुमान केन्द्रले गरेको छ ।
उता शिक्षा विभाग भने “जनक शिक्षालाई प्रारम्भिक तथ्याङक दिइसकेको तथ्याङक नै पाएनौं भन्न नमिल्ने तर्क गरे पनि केन्द्रले भने प्रारम्भिक तथ्याङक नभई यकिन तथ्याङक चाहेको बताएको छ ।
इलाममा १ सय ४ मेगावाट विद्युत
ताप्लेजुङ । गैरआवासीय नेपालीहरूद्वारा सञ्चालित सानीमा हाईडोपावर प्रालि र सानीमा हाईडो एण्ड इन्जिनियरिङ् प्रालिले इलाममा १ सय ४ मेगावाटको विद्युत उत्पादन कार्य सुरु गरेको छ । इलामको चिसापानी गाविसबाट माई जलविद्युत आयोजना निर्माणको लागि २०५७ सालदेखि सर्वे गरी आर्थिक वर्ष २०६७÷६८ सालदेखि काम सुरु गरिसकेको सानिमा हाईड्रो एण्ड इन्जिनियरिङ् प्रालिका सर्भेयर विवशकुमार अमात्यले जानकारी दिनुभयो ।
२ हजार २ सय ८ मिटर लामो सुरुङ माध्यमबाट इलाम चिसापानी गाविसमा रहेको माईखोलाको पानी दनाबारी गाविसमा निकाल्ने कार्य भइरहेको छ । अहिलेसम्म चिसापानीबाट १ सय ८६ मिटर र दानाबारीबाट १ सय ६४ मिटर सुरुङ निर्माण भइसकेको छ । गैरआवासीय नेपालीहरूले २ अर्ब ७० करोडको लगानि रहेको यो योजना आगामी २ वर्षमा सम्पन्न हुने बताइएको छ । यता ताप्लेजुङमा पनि गैरआवासीय नेपालीहरूकै लगानीमा सानिमा हाईड्रोपावर प्रालि र सानिमा हाईड्«ो एण्ड इन्जिनियरिङ् प्रालिले कुल ४ सय ७२ मेगावाटको विद्युत उत्पादन गर्ने भएको छ ।
पर्यटक आगमनमा वृद्धि
काठमाडौं । नेपालमा हवाई मार्गबाट आउने पर्यटकको संख्या सन् २०१० को तुलनामा सन् २०११ को अक्टुबर महिनामा १६ दशमलव ८ प्रतिशतले वृद्धि भई ७३ हजार २६४ पुगेको छ । सन् २०११ को अक्टुबर महिनामा हवाई मार्गबाट ६२ हजार ७१२ पर्यटक नेपाल आएका थिए ।
यस वर्षको अक्टुबरमा सार्क राष्ट्रबाट आउने पर्यटक १९ दशमलव ४ प्रतिशतले बढेको र यसमा भारतबाट २६ दशमलव २, पाकिस्तानबाट ११ दशमलव २ ले पर्यटक आगमन बढेको नेपाल पर्यटन बोर्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागलाई उद्धृत गर्दै जनाएको छ ।
श्रीलङका र बङगलादेशबाट आउने पर्यटकको सङख्यामा भने क्रमशः १३ प्रतिशत र १० दशमलव २ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ ।
त्यसैगरी युरोपबाट आउने पर्यटकको संख्यामा १५ प्रतिशतले वृद्धि भएको छ भने अमेरिका र क्यानडाबाट आउने पर्यटकको आगमनमा चार प्रतिशतले वृद्धि भएको तथ्याङक उल्लेख गरिएको छ ।
नेपाल पर्यटक वर्ष २०११ मा हवाईमार्ग र स्थलमार्ग गरी १० लाख पर्यटक भित्रयाउने लक्ष्य राखिएकामा सन् २०११ को १० महिनामा हवाई मार्गबाट चार लाख ४४ हजार १०८ पर्यटक देशमा भित्रिएका छन् ।
पर्यटन वर्ष अन्तिमको प्रचारप्रसार र देशमा शान्ति प्रक्रिया सकारात्मक रुपमा अघि बढेको संकेत देखापरेकाले पर्यटक आगमन सकारात्मक रुपमा बढ्दै जानेमा पर्यटन व्यवसायीहरू विश्वस्त रहेका छन् ।