काठमाडौं । विशेष अदालतले हदम्याद नाघेको भन्दै सफाई दिएका दुई पूर्व प्रहरी प्रमुखहरू अच्यूतकृष्ण खरेल र मोतिलाल बोहराको मुद्दा सर्वोच्च अदालतले उल्टाइदिएको छ । २०४९ देखि ५३ सम्म प्रहरी महानिरीक्षक रहेका बोहोरालाई २ करोड ३८ लाख २३ हजार भ्रष्टाचार गरेको अभियोगमा हद म्याद नाघेको र अकुत सम्पत्ति कमाएको भन्दै परेको मुद्दामा हद म्याद नाघेको भन्दै पूर्व प्रहरी महानिरीक्षक खरेललाई विशेष अदालतले सफाइ दिएको थियो । विशेष अदालतको आदेश विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।
प्रधानन्यायाधीश खिलराज रेग्मी र कल्याण श्रेष्ठको संयुक्त इजलासले हद म्याद गुज्रिएकै आधारमा खरेल र बोहारोलाई सफाई दिन नमिल्ने भन्दै पुनः सुनुवाई गर्न विशेष अदालतमा पठाउने आदेश दिएको हो ।
बैंक तथा वित्तीय क्षेत्रको अध्ययन तीब्र
काठमाडौं । सार्वजनिक लेखा समिति अन्तर्गतको बैंक तथा वित्तीय संस्थाका समस्या समाधान विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न बनेको उपसमितिले बैंक तथा वित्तीय क्षेत्रको अध्ययनलाई तीब्रता दिएको समाचार छ । समितिले नेपाल राष्ट्र बैंकमार्फत नेपाल बैंक, नेपाल वाणिज्य बैंक, कृषि विकास बैंक र एनआइडिसी, क्यापिटल मार्केटलगायतका संस्थासंग छलफल गर्ने कार्यलाई तीब्रता दिएको हो ।
उपसमितिका संयोजक केशवप्रसाद नेपालका अनुसार केही दिन अगाडि नेपाल राष्ट्र बैंकको स्थलगत अध्ययन र अन्तक्रियापछि बैंक तथा वित्तीय संस्थाहरूसंग सम्बन्धित समस्याहरू र सुधारका लागि सुझावसहितको विवरण मागिएको थियो । संयोजक नेपालका अनुसार उपसमितिले ग्रामीण्ँ विकास बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई छलफलका लागि बोलाउने तयारी गरेको छ । बैंक तथा वित्तीय संस्थाको अवस्थाका सम्बन्धमा उपसमितिले निजी क्षेत्रबाट सञ्चालित ‘क’ वर्गका बैंकसंग पनि छलफल गर्ने छ ।
समितिले बैंकमा कार्यरत कर्मचारी संघ, संगठन, युनियनका साथै विभागीय प्रमुखसंग छलफल गरी बैंक तथा वित्तीय संस्थाबारे यथार्थ जानकारी समितिमा पठाउन निर्देशन दिएको थियो ।