युगसम्बाद साप्ताहिक

किङ्गफिसरको साधारणसभा
Monday, 11.21.2011, 03:52pm (GMT5.5)

काठमाडौं । नवगठित किङ्गफिसर वचत तथा ऋण सहकारी संस्था बौद्ध, काठमाडौंको प्रथम वार्षिक साधारणसभा गत शनिवार सम्पन्न भयो । संस्थाका अध्यक्ष रामकुमार राई तथा संस्थापक सदस्य यादब देवकोटाको सभापतित्वमा समपन्न साधारण सभामा संस्थाको भावी रणनीति, कार्यनीति तथा कार्यक्रमहरूका बारेमा बृहद् छलफल भएको थियो ।
साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्षका तर्फबाट उपाध्यक्ष कपिल तिमिल्सिनाले लेखा परीक्षकको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । स्थापनाको छोटै समयमा बचत र ऋण परिचालको सन्तोषजनक स्थिति रहेको जानकारी दिइएको थियो । सो सहकारी गत असार महिनादेखि संचालनमा आएको थियो ।
डोल्मा तामाङबाट

समवेदना संग्रह सार्वजनिक
काठमाडौं । स्याङ्जा साहित्य परिषद्का आजीवन सदस्य त्रिलोचन ढकालद्वारा लिखित ‘शहीद’ (समवेदना संग्रह) गत शनिवार एक समारोहका बीच सार्वजनिक गरिएको छ । पुस्तक सार्वजनिक कार्यक्रम स्याङ्जा साहित्य परिषद्को आयोजनामा भएको थियो ।
वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितको प्रमुख आतिथ्यमा सम्पन्न पुस्तक विमोचन समारोहमा उपप्राध्यापक रजनी ढकाल र घनश्याम ढकालले पुस्तकको विस्तृत समीक्षा गर्नुभएको थियो भने प्रमुख अतिथि प्रश्रितले मन्तव्यका क्रममा पुस्तकको उपयोगिता दर्शाउँदै पुस्तकका लेखक, समीक्षकद्वय, आयोजकका साथै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिनुभएको थियो । त्यसै क्रममा पुस्तक लेखक ढकालले कुन परिस्थितिमा कसरी पुस्तक लेखियो भन्नेबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा संविधानसभा सदस्य गोपाल ठाकुल, वरिष्ठ चलचित्र लेखक तथा निर्देशक चेतन कार्की, चर्चित साहित्यकार शारदा शर्मा, परिषद्का पूर्व अध्यक्ष प्रा. फणिन्द्र काफ्ले, गण्डकी सामाजिक गुठीका अध्यक्ष कलाधर काफ्ले, स्याङ्जा साहित्य प्रतिष्ठानकी प्रतिनिधि गंगा पौडेल लगायत तीन सयभन्दा बढी साहित्यकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रम मुकुन्द अर्यालले संचालन गर्नुभएको थियो भने मित्रलाल पंगेनीले स्वागत मन्तव्य तथा मेघराज ढकालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com