| युगसम्बाद साप्ताहिक | ||||
|
कार्बाही गर्न समितिको निर्देशन Tuesday, 12.06.2011, 11:33am (GMT5.5) काठमाडौं । राष्ट्रिय ध्वजबाहक नेपाल वायुसेवा निगमभित्रको मनपरी र भ्रष्टाचार रोक्न व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । गत शुक्रबार पर्यटन मन्त्री लोकेन्द्र बिष्ट लगायतका अधिकारीहरूसंग छलफलपछि लेखा समितिले सामान चोरीमा संलग्नलाई कारवाही गरी समितिलाई जानकारी दिन निर्देशन दिएको हो । भ्रष्टाचार, कमिशन, राजनीतिकरण लगायत यावत समस्याले उठ्नै नसक्ने गरी थला परेको निगमको कराडौं मूल्यका सामान विमानभित्रैबाट हराउन थालेपछि यसप्रति सार्वजनिक लेखासमितिले चासो दिएको हो । समितिले नेपाल वायु सेवा निगमको सामान चोरीमा दोषी कर्मचारीलाई ७ दिनभित्र कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । निगमका कर्मचारी बाहेक अरुको प्रवेश असम्भव हुने जहाजभित्रैबाट सामान हराएको विषयमा निगम नेतृत्वले गम्भीरतापूर्वक नलिएपछि लेखा समितिले त्यस्तो निर्देशन दिएको हो । राष्ट्रिय ध्वजबाहक वायु सेवा निगमको बोइङ जहाजको जगेडा पांग्रा, ल्याण्डिङ गियर, फ्लाई एयर किट लगायतका करोडौं रुपैयाँ मूल्यका सामान हराएको थियो । बैठकमा मन्त्री विष्टले विगतका नेतृत्वले गरेको गल्ती आफूले भोग्नपरेको भन्दै छानविन समितिले दोषी पत्ता लगाउन नसकेकाले केन्द्रीय अपराध अनुसन्धान विभागलाई जिम्मेवारी दिइएको जानकारी दिनुभयो । उहाँले त्यसलाई सार्वजनिक गर्ने पनि बताउनु भयो । बैठकमा सभासदहरूले भने वायुसेवा निगममा लापरवाहीको चरण अवस्था देखिएको र नेतृत्वले एक अर्कालाई दोष लगाएर पन्छन खोजेको भन्दै आलोचना गरेका छन् । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||