युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 09.20.2018, 07:04pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
नारायणगढ–मुग्लिन सडक राति बन्द दिउँसो चल्ने
Wednesday, 06.28.2017, 11:52am (GMT+5.5)

काठमाडौं । दिउँसो बन्द गरेर राति संचालनमा आइहेको नारायणगढ–मुग्लिन सडक खण्डमा वर्षासँगै पहिरो खस्ने क्रम बढेपछि सोमबारबाट दिउँसोमा पनि यातायात नरोकिने भएको छ । 
विस्तारका क्रममा रहेको सडकको भित्तो काट्न सहज होस् भन्नका लागि गत चैत १४ गतेबाट बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो । त्यस अघि दिउँसो ११ बजेबाट ३ बजेसम्म सडक रोकिने गरेको थियो । 
गत शुक्रबार बिहान पहिरो पन्छाउन गएको प्रहरीको भ्यानसहित चारजना पहिरोमा पुरिएपछि रातको समयमा पहिरो खसेर जनधनको क्षति बढेकाले नारायणगढ–मुग्लिन सडकमा रातको समयमा आवागमन रोक्ने तयारी भएको हो । रातको समयमा खस्दै गरेको पहिरो नदेखिने, अगाडिको भाग सफा भए नभएको थाहा नहुने र पहिरो खसेमा पन्छाउन कठिन हुने हुँदा रातिको समयमा सवारी रोक्नुको विकल्प नभएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो । 
रातभर सडकमा लाममा बसेका यात्रु अत्तालिने र पहिरोको जोखिम उच्च हुने भएकाले पनि रातिको समयमा सवारी आवागमन रोक्ने तयारी गरिएको उहाँले बताउनुभयो । हाल दिनको समयमा सवारी रोकेर काम गरिँदै आएको छ । प्रजिअ भट्टले भन्नुभया,े “अव रातिको समयमा सडक रोकेर काम गर्नुपर्ने देखिएकाले साँझ ६ बजेबाट बिहान ४ बजेसम्म सडक आवागमन रोक्ने तयारी गरेको थियो ।
सो मार्गमा गतवर्ष असार १ गतेबाट दिउँसो पनि सवारी सञ्चालन गर्न दिइएको थियो । गतवर्षको हिउँदमा बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिएको थियो । भित्तो काट्न असहज बनेपछि यस वर्षको हिउँदमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको छ । 
गत शुक्रबारबाट दिउँसोमा पनि सवारी सञ्चालन हुँदै आएको छ । पहिरोले सडक अवरुद्ध भएपछि सवारी चाप बढ्दा दिउँसो पनि सञ्चालन गर्न दिइएको हो । जसका कारण पहाड फोर्ने काम भने प्रभावित भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले रातको समयमा पहाड फोर्न र पर्खाल लगाउन कठिन भए पनि कालोपत्रे गर्न सकिने बताउनुभयो । 
सो सडकको मुग्लिनतर्फको क्षेत्रमा ६० मिटरसम्म अग्ला पहाड काटेर सडक चौडा गर्नुपर्ने भएपछि सवारी आवागमन रोक्नु परेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले बताउनुभयो । उहाँका अनुसार अझै ८०० मिटर क्षेत्रमा सडक चौडा गर्न भित्तो काट्नुपर्ने काम बाँकी छ । 
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले यात्रुले बढी दुःख पाएपछि दिउँसोमा सडक सुचारु गर्न लागिएको बताउनुभयो । रातको समयमा सडक बन्द गरेर दिउँसो मात्रै सञ्चालन गर्ने तयारी स्थानीय प्रशासनले गरेको छ । रातको समयमा सडकको काम गर्न सकिने बताउँदै उहाँले केही दिनमा रातमा सवारी आवागमन रोकिने बताउनुभयो । 
मुलुककको पूर्व र पश्चिमका जिल्लामा निर्वाचन नजिकिएकाले मतदातालाई सहज होस् भन्नका लागि केही दिन सडक चौबीसै घण्टा खुल्ला राख्ने उहाँले बताउनुभयो । प्रजिअ भट्टले आज राख्नु भएको सरोकारवालाको बैठकमा विकल्पका खोजीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय र सडक निर्माण आयोजनालाई जिम्मेवारीसमेत दिइएको छ । 
ट्राफिक प्रहरीले रातको समयमा सवारी साधन सञ्चालन गर्न सकिन्छ वा सकिँदैन भन्ने बारेमा तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ भने सडक सञ्चालन गरेर काम गर्न सकिन्छ वा सकिँदैन भन्ने बारेमा सोही अवधिमा आयोजनालाई प्रतिवेदन बुझाउन भनिएको छ । 
सो सडक आयोजना सम्पन्न हुने समयमा समेत आधामात्रै काम भएपछि सबैको ध्यान आयोजनातर्फ गएको छ । सो सडक हुँदै दैनिक ११ हजार सवारीसाधन आवातजावत गर्ने गर्दछन् ।
२९ स्थान जोखिमपूर्ण
एकातर्फ त्रिशूली नदी र अर्काेतर्फ अग्लो पहाड भएको नारायणगढ–मुग्लिन सडक खण्डका २९ ठाउँलाई भूगर्भविद्ले पहिरोको दृष्टिकोणले उच्च जोखिमको रुपमा औँल्याएका छन् ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता बिएन सिंहको नेतृत्वको पाँच सदस्सीय टोली र भूगर्वविद् टुकलाल अधिकारीले गरेको छुट्टाछुट्टै अध्ययनले ती ठाउँलाई जोखिमपूर्ण भनी सावधानी अपनाउन सुझाव दिएका छन् । 
आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार जलवीरेदेखि मुग्लिनसम्मका स्थान जोखिमपूर्ण रहेका छन् । 
उक्त क्षेत्र सात किलोमिटरभित्र पर्दछ । अन्य क्षेत्र जलवीरेबाट नारायणगढतर्फ पर्दछन् । खनालका अनुसार अध्ययनमा तत्काल र दीर्घकालीन रुपमा जोखिम हुन सक्ने क्षेत्रलाई छुट्याइएको छ । 
भूगर्वविद् अधिकारीले मुख्यरुपमा कालीखोला आसपासको मात्र अध्ययन गरी प्रतिवेदन बुझाउनुभएको छ भने सिंहको टोलीले समग्र नारायणगढ–मुग्लिन सडकखण्डको प्रतिवेदन पेस गर्नुभएको छ । ती प्रतिवेदनमा जोखिमबाट बच्नका लागि अल्पकालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कामको पनि सुझाव दिइएको छ । वायो इञ्जिनियरिङ गर्ने, जाली लगाएर चट्टानलाई रोक्ने, भित्तामा पर्खाल लगाउने, खस्न लागेका ढिस्का झार्ने, भिरालो भागमा जालीले भूस्खलन रोक्ने, पहाडमाथिका जोखिमयुक्त वस्ती हटाउनेलगायत सुझाव दिइएको छ । 
सो सडक खण्ड विस्तारका क्रममा भित्तो काट्ने काम भइरहेको छ । कतिपय ठाउँमा हाल पाँच दशमलव पाँच मिटर मात्रै फराकिलो सडक रहेको छ । ती ठाउँमा ९ मिटरदेखि ११ मिटर फराकिलो सडक बनाउनुपर्ने हुन्छ । ती ठाउँमा ६० मिटरसम्म अग्ला पहाड छन् । गत वर्षको भूकम्प र हाल ब्रेकरले पहाड फोर्दा अन्य भाग पनि हल्लिएर कमजोर भएकाले कुनै पनि समय पहिरो जान सक्ने भूगर्वविद्ले बताएका छन् । 
यसअघि ठेकेदार कम्पनीले विष्फोट गराउन माग गरेको भए पनि परामर्श कम्पनीले भूगर्वका हिसाबले विस्फोट गराउन उपयुक्त नहुने सुझाव दिएको थियो । गत वर्ष जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले समेत विभिन्न दुर्घटनाग्रस्त क्षेत्रको पहिचान गरेको थियो । उक्त सडक हुँदै दैनिक ११ हजार सवारीसाधन आवतजावत गर्ने गर्दछन् ।
अहिले राजधानी काठमाडौँ भित्रिन र बाहिरिनका लागि केही लामो यात्रा गरेमा नारायणगढ–मुग्लिन सडक खण्डको जोखिम मोल्नुपर्दैन । तर पनि यो कष्टकर यात्रा छाडेर केही लामो यात्रा गर्न धेरैले चाहेको देखिदैन । जसका कारण घन्टौँ सडकमा खतरा बेहोरेर भोकभोकै बस्न यात्रु बाध्य हुनुपरेको छ । 
धादिङको सीमा मौवाखोलादेखि दासढुङ्गासम्म त्रिशूलीको किनारमा गएको चालु आर्थिक वर्षको हालसम्म २७ वटा दुर्घटना भएका छन् । जसबाट ४४ जनाले ज्यान गुमाएका छन् भने १९ जना त्रिशूली नदीमा बेपत्ता छन् । यतिमात्रै होइन, बाँच्नेले पनि २० घन्टासम्म खतरा मोलेरै भोकभोकै सडकमा बस्नुपरेको छ । यो जोखिमबाट बच्नका लागि केही लामो यात्रा गरे पुग्छ ।  
नारायणगढबाट मुग्लिनसम्मको दुरी ३६ किलोमिटर हो । सामान्य अवस्थामा यो दुरी पार गर्न एक घन्टाको समय लाग्ने गर्दछ । तर पहिरोका कारण सडक अवरुद्ध हुँदा २० घन्टासम्म सडकमा अलपत्र पर्नुपर्ने अवस्था यहाँ सिर्जना हुने गरेको छ । पश्चिम नेपालबाट काठमाडौँ जानआउने सवारीका साधन बुटवलबाट पाल्पा, स्याङजा, पोखरा हुँदै मुग्लिन निस्किएर काठमाडौँ जानसक्ने नारायणगढ– मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताउनुभयो । 
बुटवलबाट पोखरा सिदार्थ राजपथ पर्दछ भने पोखराबाट मुग्लिन पृथ्वी राजमार्ग हो । बुटवलबाट नारायणगढ हुँदै मुग्लिनसम्मको दुरी १५० किलोमिटर हो भने बुटवलबाट पोखरा हुँदै मुग्लिनको दुरी २३३ किलोमिटर पर्दछ । ८३ किलोमिटर लामो यात्रा गर्नुपरे पनि जोखिम कम हुने भएपछि यात्रु र सवारी चालकले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने उहाँको सुझाव छ । करिब एक घन्टा ३० मिनेट बढी यात्रा गरेपछि यो जोखिम छल्न सकिन्छ ।  
त्यसैगरी पूर्वी नेपालबाट काठमाडौँ जाने सवारीले त्रिभुवन राजपथ हुँदै हेटौँडाबाट नौबिसेको बाटो प्रयोग गर्न सक्छन् । नारायणगढबाट मुग्लिन हुँदै काठमाडौँ जाँदा १४६ किलोमिटर दुरी पर्दछ भने नारायणगढबाट हेटौँडा–नौबिसे हुँदै काठमाडौँ जाँदा १८७ किलोमिटर दुरीपर्ने खनालले बताउनुभयो । 
यो दुरी ४१ किलोमिटर मात्रै बढी हो । जुन एक घन्टाको थप यात्राले सहज पार गर्न सकिन्छ । तर पूर्वी नेपालबाट आएका सवारीलाई हेटौँडाबाट सोझै काठमाडौँ जाँदा ११५ किलोमिटर मात्रै पर्दछ । हेटौँडा– नारायणगढ– मुग्लिन हुँदै काठमाडौँ जाँदा भने २१८ किलोमिटर पर्दछ । यो सडक प्रयोग गरेमा १०३ किलोमिटर दुरी कम हुन्छ ।
नारायणगढबाट काठमाडौँ जाने यात्रुका लागि पनि यो सडक सहज छ । तर त्रिभुवन राजपथ सडक साँघुरो भएकाले ठूला सवारी सञ्चालन कठिन छ भने साना सवारीलाई दूरी छोटो पर्दछ । यद्यपि यी सडक कम प्रयोग भई सवारीको चाप नारायणगढ–मुग्लिन सडक खण्डमा बढिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्त बताउनुहुन्छ । साना सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गर्ने काम भइरहेको उहाँले बताउनुभयो । यसोगर्दा ओभरटेकको समस्या कम हुने र जोखिम मोल्न पनि नपर्ने उहाँले बताउनुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
मनोनयका दिन ठूला दलहरूबी झडप (06.22.2017)
एक वर्षमा झण्डै छ लाखजना कारबाहीमा (06.15.2017)
जनप्रतिनिधिलाई अधिकार कार्यान्वयनको चुनौति (06.15.2017)
जेठ ३१ को निर्वाचनमा सुरक्षा चुनौति बढी (05.24.2017)
प्रजातान्त्रिक योद्धा पूर्वमन्त्री शाक्यको निधन (05.11.2017)
नेपालको संविधानबाट अमेरिकाले सिक्ने (05.11.2017)
चार दलित महिला सदस्य निर्विरोध (05.11.2017)
मल्लिक आयोगको प्रतिवेदन खोज्दै गृह मन्त्रालय (05.02.2017)
आयोगले निर्वाचन अनुगमन गर्ने (05.02.2017)
मतदाता शिक्षा कार्यकर्ता मतदाताको घरदैलोमा (04.18.2017)
निर्वाचनको ८० प्रतिशत तयारी पूरा (04.18.2017)
वैदेशिक रोजगारी : समस्याको समाधान के ? (04.11.2017)
फेरि रोकियो भैरहवा विमानस्थल निर्माण (04.11.2017)
बटो बढाउने कि ? (03.22.2017)
ठूला दलले मानेनन् आचारसंहिता (03.22.2017)
एक दुई क्याम्पसमा तालाबन्दी हुँदैमा निर्वाचन रोक्न मिल्दैन (02.28.2017)
पुनःनिर्माणमा राजनीति घुस्यो ः सभापति अधिकारी (02.28.2017)
संशोधन विधेयकमाथि पन्ध्र वटा संशोधन (02.28.2017)
तिवारी हत्याका मुख्य योजनाकार मनोज (02.28.2017)
चमेलियाको भौतिक प्रगति ९८ प्रतिशत (02.15.2017)



 
::| Latest News

 
[Page Top]