काठमाडौं । २००७ सालको प्रजातन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य भरतसमशेर राणाको निधन भएको छ । उहाँको निधनमा कांग्रेसले आइतबारदेखि आजसम्म तीन दिन झण्डा आधा झुकाउने भएको छ ।
केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आइतबार बसेको केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले राणाको निधनप्रति दुःख व्यक्त गर्दै यही साउन २७, २८ र २९ गते तीन दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
सोमवार केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द र १३ औँ दिन आगामी भदौ ६ गते केन्द्रीय कार्यालयमै शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ । राणाको शनिबार ९० वर्षको उमेरमा उहाँकै निवास कोलकातामा निधन भएको थियो ।
राणा २०१५ सालको चुनावपछि वीपी कोइराला प्रधानमन्त्री हुँदा गोरखा दलका तर्फबाट विपक्षी दलका नेता थिए । राणाले विसंं २००७ सालमा भने तत्कालीन गृहमन्त्री वीपी कोइरालाको हत्या गर्न खोजेको आरोपमा जेल सजायँ भोगेका थिए ।
स्वर्गीय राणाले लोकतन्त्र र गणतन्त्र मार्फत समाज परिवर्तन गर्न सकिन्छ भनेर र्पुयाएका योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।