युगसम्बाद साप्ताहिक

मिडिया काउन्सिल विधेयक सच्याउनुपर्छ
Tuesday, 05.28.2019, 11:02am (GMT5.5)

काठमाडौं । विवादास्पद मिडिया काउन्स्लि विधेयकप्रति सत्तारुढ दलकै नेताहरु असन्तुष्ट रहेका छन् । यसै क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले प्रस्तावित मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याएर मात्र पारित गर्नुपर्ने बताउनुभएको छ । 
नेता गौतमले हालै एक विज्ञप्ति जारी गरी राष्ट्रियसभा सचिवालयमा दर्ता रहेको विधेयकका कतिपय विवादास्पद प्रावधानप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै विधेयकका केही प्रावधान नेपालको संविधानको अक्षर र भावनाअनुरुप बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । 
उहाँले विधेयकका विवादास्पद प्रावधान सञ्चार क्षेत्रका जिम्मेवार एवं सरोकारवालासँग छलफल गरी टुङ्गो लगाउन र अहिलेकै अवस्थामा अघि नबढाउनसमेत सरकारसँग आग्रह गर्नुभएको छ । 
“सरकार, राजनीतिक पार्टी र प्रेस सबै मर्यादित र अनुशासित हुनुपर्दछ भन्ने विचारसँग म पूर्ण सहमत छु तर समाचार लेखेकै आधारमा पत्रकारलाई रु दश–दश लाखसम्म जरिवाना गर्नेजस्ता कठोर प्रावधान उचित लाग्दैन”, उहाँले विज्ञप्तिमा भन्नुभएको छ । 
स्वतन्त्र प्रेस र व्यावसायिक पत्रकारिता लोकतन्त्रका खम्बा भएको बताउँदै उहाँले प्रेस, व्यावसायिक पत्रकार र सञ्चारकर्मीलाई स्वतन्त्र, निष्पक्ष, निर्भिक एवं सुरक्षित वातावरणमा काम गर्ने अवस्था राज्यले निर्माण गर्न उहाँले आग्रह गर्नुभयो ।
नेता गौतमले कुनै पनि व्यक्तिको चरित्र हत्या हुने, बदलाको भावनाले परिचालित हुने र राष्ट्रिय हितलाई बेवास्ता गर्ने क्रियाकलाप सञ्चार क्षेत्रमा प्रकट हुन नदिन सबै सञ्चारकर्मीलाई समेत अनुरोध गर्नुभएको छ । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com