युगसम्बाद साप्ताहिक

गुठी विधेयकका बारेमा सरकारी प्रवक्ताको यस्तो भनाई
Tuesday, 06.18.2019, 02:38pm (GMT5.5)

काठमाडौं । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूले खाइपाइ आएको खोसिन्छ भनेर गुठी विधेयकको बिरोध गरेको दावी गर्दै सरकार वैज्ञानिक र व्यवस्थित ढङ्गले गुठी विधेयक समाधान गर्ने प्रयत्न गरिरहेको बताउनुभयो । काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ सिपाघाटमा टेलिफोन (पीएसटीएन) एक्सचेञ्ज उद्घाटन गर्दै मन्त्री बास्कोटाले जमीनमा हरेक जनातको पहुँच पु¥याइने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “संविधानमा नागरिकको मौलिक हक स्थापित छ, भूमिहीनलाई घरबासका लागि जमीन दिने भन्ने संविधान भने बनाउने, अनि भएको सम्पत्ति रोकेर उनीहरूलाई बास नबसाउने” भन्ने प्रश्न समेत गर्नुभयो ।
मन्त्री बाँस्कोटाले स्वर्गद्वारीमा जनताले कमाएको झण्डै एक हजार २०० रोपनी जमीन कि जनताको हुनुपर्ने नभए त्यसको हिसाबकिताब सरकारलाई बुझाउनुपर्ने दाबी गर्नभयो । “आफूले गर्न पाइयो भने मज्जाको ‘हाइहाई डेमोक्रेसी’ रे अर्काले गर्दा कम्युनिष्ट सरकारले खाने भो भन्ने, यो कदापि हुन्न”, उहाँले भन्नुभयो । गुठीको समस्या समाधान हुँदा सबैको समस्या समाधान हुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “विकास एउटै र एकै खालको हुने हो, बाटो बनाउँदा कम्युनिष्ट र काङ्ग्रेस हिँड्ने छुट्टाछुट्टै लेन हुन्न, संसारमा कही यस्तो उदाहरण छैन ।” 
मन्त्री बाँस्कोटाले जनालाई गुठीको समस्यामा अल्झाइरहनु नहुने बताउनुभयो । “जनतालाई सधैँ यथास्थितिमा रिङ्ग्याइरहनु हुँदैन, गुठीलाई व्यवस्थित गरी हाम्रो भावी पुस्तालाई सुरक्षित गर्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले तार जोड्न, टेलिफोन, ऋण झिक्न, खानेपानी जोड्न नक्सापास नभएकालाई सेवा नदिने सरकारी नीतिअनुसार नागरिकलाई सधैँ तनावमा राख्ने नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “हजुरबाउले, कुप्राबाउले सधैँ तनावै तनाव व्यहोर्दै आए, अब हामी छोराछोरी, नातिनातिनी, पनाती पनातिनीलाई तनावमा पु¥याउनुहुन्न ।”
मन्त्री बाँस्कोटाले गुठी विधेयक ल्याउनै नपर्ने, छलफल नै हुनुनपर्ने भन्नेहरू विषयप्रति प्रष्ट नभएकाले एकोहोरो विरोध गरेको दाबी गर्नुभयो । “न्यून कर तिरेर खाइरहेकाको टाउको दुखेको हुनुपर्छ, आफूले खाएको भाग खोसिएला भनेर अत्तालिएका हुन्” । उहाँले नेपालमा कति गुठी छन् भन्नेबारे गुठी संस्थानलाई नै थाहा नभएको दाबी गर्नुभयो । “देशभरि झण्डै पाँच हजार सङ्ख्यामा गुठी रहेको रेकर्ड छ, हजारौँ वर्षदेखि जोतपोत गर्दै आएकालाई व्यवस्थित गर्नुपर्छ ।”


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com