युगसम्बाद साप्ताहिक

ट्राफिक छैन भनेर आँखा छल्दैमा पाइँदैन सुख... आउँछ फोन
Tuesday, 06.18.2019, 02:42pm (GMT5.5)

काठमाडौं । राजधानीमा सवारी व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि ट्राफिक प्रहरीले प्रविधिको माध्यमबाट गलत काम गर्नेलाई सचेत पार्ने र जरिवाना तिराउने गर्न थालेको छ । सडकमा राखिएका सिसीटिभीको माध्यमबाट कसले कहाँ के गल्ती ग¥यो भन्ने हेर्दै चालकको रेकर्डबाट फोन गरी प्रहरीले कारबाही गर्न थालेको छ । पहिले सडकमा बसेका ट्राफिकको आँखा छलेपछि कारवाहीबाट पार पाइन्थ्यो तर अब आँखा छल्दैमा सुख पाइँदैन । हरेक व्यक्तिको सडकमै अभिलेख रहनेगरी अनुगमन भइरहेकाले काठमाडौँ उपत्यकाको मुख्य सडकमा प्रहरीको आँखा छलेर गरेको गल्तीमा समेत कारवाही भोग्नुपर्नेछ । प्रहरीको आँखा छल्दैमा प्रविधिको आँखा छल्न कहाँ सकिन्छ । उपत्यकाको मुख्यमुख्य क्षेत्रमा ५१४ सिसी क्यामरा सञ्चालनमा छ । क्यामराको नियन्त्रक कक्ष महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा राखिएको छ । जडान गरिएकामध्ये १५१ सिसी क्यामरा ट्राफिक प्रहरी महाशाखाले नै हेर्न सक्छ । 
शनिबार साँझ यस्तै एक घटना घट्यो एक व्यक्तिमाथि “हेल्लो ! ...... जी, बोल्नुभयो ?” एक प्रहरीको फोन आयो । “हजुर बोल्दै छु”, जवाफ फर्कियो । म महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट, तपाईं एक पटक यहाँ आएर कोठा नम्बर १० मा भेट्नुहोला ।” 
ट्राफिक प्रहरीको फोनले उनी झसङ्ग भए । कुनै सवारीलाई ठक्कर दिएको छैन । कुनै प्रहरीसँग सिफारिश छैन । कुनै ट्राफिकलाई चिनेको पनि छैन, तर एक्कासी भेट्न आउनुस् भनेर फोन आउँछ । उनी अच्चममा परे । “आ होइन होला ! कसैले झुक्याउन फोन ग¥या होला”, उनको मनमा यस्तैयस्तै विभिन्न विचार खेल्न थाल्यो ।
विषय बुझ्ने उनको छटपटी रोकिएन । साथीभाइलाई फोन गरेर सोधे । आफूलाई कल आएको नम्बरबारे चिनजानका प्रहरीलाई सोधे । त्यसपछि बल्ल ट्राफिक प्रहरीबाटै फोन आएको पक्का भयो । फोन चाहिँ किन आयो त ? बुझ्नका लागि काम छाडेर हस्याङ्फस्याङ गर्दै महाशाखा पुगे ।
अभिलेख हेरेर प्रहरीले भने, “ल तपाईंले लेन मिच्नुभएको छ”, “मैले कसरी लेन मिच्नु, घरमा काम गरिरहेको मान्छे”, उहाँले प्रतिवाद गर्नुभयो । “एक्कै छिन् पक्नुस् है”, सिसी टिभीको श्रव्यदृष्य खोल्दै खोजतलास तथा सिसीटिभी कारवाही शाखाका एक जना प्रहरीले भन्नुभयो ।
अघिल्लो दिन ठीक ६ बजेर १५ मिनेट १० सेकेण्डमा माइतीघरमा लेन मिचेको श्रव्यदृष्यबाट प्रष्ट देखियो । त्यसपछि उनी मलिन अनुहारमा रशिद लिएर ट्राफिक कक्षा लिनतिर लागे । यो प्रतिनिधि घटना हो । महाशाखामा अहिले दैनिक सयौँ यस्ता घटना आइरहेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट पठाइएको अभिलेख केलाउँदैमा सिसीटिभी शाखाका प्रहरीलाई भ्याइनभ्याइ छ ।
“होइन, गरेकै छैन भन्दै धेरै आउँछन्, झगडा गर्छन्, तर क्यामराको फुटेज देखेपछि चुप लाग्छन्”, नियन्त्रण कक्षका एक ट्राफिक प्रहरीले अनुभव सुनाउनुभयो । प्रहरीले त्यही सिसी क्यामराले खिचेको श्रव्यदृष्यबाट नियम मिच्ने सवारीको नम्बर लिएर यातायात व्यवस्था कार्यालयमार्फत गाडी धनीको विस्तृत विवरण लिन्छ । त्यसपछि प्रहरीले टेलिफोन गरी सम्बन्धित गाडी धनीलाई महाशाखामा बोलाउँछ । “तीन पटकसम्म उनीहरूलाई फोनमार्फत बोलाइन्छ, नआए पत्राचार गरिन्छ, त्यसपछि पनि नआए नियन्त्रणमा लिएर प्रमाणसहित कारवाही गर्छौं”, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले भन्नुभयो । पछिल्लो तीन महीनादेखि यो क्रमलाई तीव्रता दिइएको उहाँले बताउनुभयो । मानवीयरूपमा मात्रै ट्राफिक व्यवस्थापन चुस्त नहुने देखेर प्रविधियुक्त व्यवस्थापनमा प्रहरी लागेको छ । 
प्रहरीले फोन गरेर बोलाएकै आधारमा जेठ महीनामा मात्रै १५० लाई कारवाही गरेको छ । सिसी क्यामराको आधारमा तत्कालै पिछा गर्दा स्थलगतरुपमै भेटेर कारवाही गरेको सङ्ख्या ८५६ रहेको छ । सर्भिलेन्स भेइकलमा प्रयोग गरेको सिसी क्यामराबाट ३९ कारवाही परेका छन् । चालू आर्थिक वर्षमा सिसी क्यामराबाट प्राप्त दृश्यको आधारमा ट्राफिक नियम उल्लङ्घन गर्ने कूल सात हजार १०६ कारवाही परिसकेका छन् ।
अहिले ट्राफिक प्रहरीले ओभरहेड ब्रिज बनाउन र सिग्नल बनाइदिन सडक विभागलाई लेखेर पठाएको छ । साँच्चै नै काठमाडौँमा ट्राफिक व्यवस्थापन गर्ने नै हो भने ठूला सवारी साधन भित्र्याएर सानालाई मुख्य सडकमा रोक्नुपर्ने प्रहरीको निष्कर्ष छ । काठमाडौँ उपत्यकाको शान्तिसुरक्षा हेर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्य सडकमा ट्राफिक नदेखेपछि जथाभावी गाडी दौडाउँदा दुर्घटनाको जोखिम भएपछि सिसीटिभीको श्रव्यदृश्यका आधारमा कारवाही थालिएको बताउनुहुन्छ । 
नेपालमा प्रहरीको सङ्ख्या न्यून छ । हरेक ठाउँमा प्रहरीले निगरानी गर्न सक्दैन । त्यसैले प्रविधि प्रयोगमा प्रहरीले ध्यान केन्द्रित गरेको हो । जिल्लास्तरमा समेत सक्दो प्रविधिको प्रयोग गर्न सर्कुलर गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अगाडि प्रहरी देखे मात्रै सतर्क हुने तर प्रहरी नदेखे लापरवाहीपूर्ण तरिकाले गाडी चलाउँदा हुने दुर्घटना रोक्न यो अभियान महत्वपूर्ण हुने प्राध्यापक नरेन्द्र ठगुन्नाको भनाइ छ । यस्ता कार्यक्रम प्रभावकारीरुपमा लैजानुपर्नेमा उहाँको जोड छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com