युगसम्बाद साप्ताहिक

सरकार लोकतन्त्र कब्जा गर्न उद्यत
Wednesday, 10.02.2019, 05:07pm (GMT5.5)

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताउनुभएको छ । 
नेपाली काङ्ग्रेस भक्तपुर क्षेत्र नं १ ले आइतबार दुवाकोटमा आयोजना गरेको प्रजातन्त्र सेनानी स्व जानकीप्रसाद कुइँकेलको स्मृति दिवस एवं चियापान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै नेता पौडेलले दुई तिहाइको आडमा सरकार निरङ्कुश बन्दै जान लागेको छ भन्नुभयो । काङ्ग्रेस पार्टीलाई व्यक्तिवादी, चाटुकारी र भक्तिवादी प्रवृत्तिबाट माथि उठाएर एक ढिक्का बनाई जनताको आकर्षणको केन्द्र बनाउनुपर्नेमा  जोड दिँदै उहाँले भक्तपुरलगायत देशका विभिन्न भागमा हुने आगामी उपनिर्वाचनमा नेपाली काङ्ग्रेसलाई विजयी बनाउन पार्टीका कार्यकर्ता एक ढिक्का भएर लाग्नुपर्नेमा सुझाब दिनुभयो । वर्तमान सरकारका गलत कामको विरोध गर्नुपर्ने बेलामा काङ्ग्रेस आन्तरिक कलहबाट बाहिर निस्कन नसकेको उहाँको गुनासो थियो ।  
कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेलले पार्टीलाई एक ढिक्का पार्दै जनसमुदायमा घुलमिल गराउनुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा काङ्ग्रेस नेता कञ्चनचन्द्र बादे, लोकेश ढकाल, नेपाली काङ्ग्रेसका जिल्ला सभापति दुर्लभ थापा, तरुण दलका पूर्वध्यक्ष विनोद कायस्थ, तरुण दलका उपाध्यक्ष उत्तम चापागाईं, क्षेत्र नं १ का पार्टी सभापति जीवन खत्री, सचिव उद्धव खड्कालगायतले स्व कुइँकेलले पार्टी र देशका लागि पु¥याउनुभएको योगदानको चर्चा गर्दै काङ्ग्रेसले गुटउपगुट त्यागेर एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

नेकपाले चियापानमा एक लाखलाई कार्ड बाँडने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले यस वर्ष चियापान कार्यक्रमका लागि एक लाख कार्ड बाँड्ने भएको छ ।  पार्टीले यही असोज २९ गते दशैँतिहार, नेपाल संवत्, इद, ल्होसार र  छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्नका लागि प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पार्टीका कार्यकर्ता, सर्वसाधारण, राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोगका पदाधिकारी, संवैधानिक निकायका र उच्चपदस्थ कर्मचारीलाई निम्तो दिँदैछ । 
चियापानमा निम्ताका लागि  अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षर भएको निम्ताकार्ड बाँडिने नेकपा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । गत वर्ष पनि नेकपाले सोही ठाउँमा चियापान कार्यक्रम आयोजना गरेको थियो ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com