युगसम्बाद साप्ताहिक

स्थानीय पाठ्यक्रम लागू गर्ने गोकर्णेश्वर नगरपालिको देशकै पहिलो
Wednesday, 10.02.2019, 05:10pm (GMT5.5)

काठमाडौं । संघीयता कार्यान्वयन गर्ने सवालमा देशका नगरपालिकामध्ये काठमाडौंको गोकर्णेश्वर नगरपालिका देशकै नम्बर एक नगरपालिकाका रुपमा स्थापित भएको सो नगरपालिकाका मेयर सन्तोष चालिसेले बताउनुभएको छ । 
गत शनिबार काठमाडौंको आरुबारीमा आयोजित एक कार्यक्रममा सो बताउनुभएको हो । पूर्वी क्षेत्रीय युवा तथा खेलकूद सञ्जाल आरुबारीले विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा मेयर चालिसेले सो दावी गर्नुभएको हो ।
सञ्जालका अध्यक्ष राजकुमार लामाको  सभापतित्वमा सम्पन्न कार्यक्रममा मेयर चालिसेले देशभरमै स्थानीय पाठ्यक्रम लागू गर्ने गोकर्णेश्वर नगरपालिका पहिलो भएको, वार्षिक आधा अर्बको हाराहारीमा कर संकलन गर्न सफल भएको तथा धार्मिक–सांस्कृतिक र प्राकृतिक स्रोत सम्पदाहरुको संरक्षण र प्रबद्र्धनमा नगरपालिकाको अग्रसरताले नम्बर एक नगरपालिका भएको बताउनुभएको हो ।
कार्यक्रममा मेयर चालिसेले आफूले युवाहरुको भावनाको कदर गर्दै कार्यक्रम तथा बजेट विनियोजन गरेको बताउँदै पूर्वी क्षेत्रीय युवा तथा खेलकूद सञ्जालको योजना र उद्देश्य अनुसार सो नपाको वडा नं. ९ को सिरानमा पर्ने ‘पानीखोल्सा’को ४२ रोपनी जग्गामा खुला खेलमैदान बनाउने प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा बिपी प्रतिष्ठानका अध्यक्ष परशुराम पोख्रेलले सामाजिक काममा राजनीतिक सौदावाजी गर्न नहुने बताउँदै सञ्जालले अघिसारेको अभियानमा आफ्नो साथ रहने बतानुभयो । त्यस्तै नेकपा केन्द्रीय सदस्य, समाजसेवी तथा नेपाल पर्यटन मण्डलका विचारक कृष्ण केसीले गोकणेश्वर नगरपालिकाभित्रका पर्यटकीय स्थलको विकासमा नगरपालिका लागिपर्नुपर्ने सुझाव दिनुभयो ।
नेपाली कांग्रेसका युवा नेता विमल ठकुरीले सञ्जालले संचालन गरेको सामाजिक काममा आफ्नो पूर्ण साथ र समर्थन रहने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै सामाजिक अभियान्ता तथा नेपाल भलिबल संघका उपाध्यक्ष कुमारराज सुवेदीले खेलकूद र युवावर्गलाई परिचालित गर्ने गरी काम गर्न सुझाव दिनुभयो । उहाँले सामाजिक काममा स्वार्थको द्वन्द्वले प्राथमिकता पाउने गरेको सन्दर्भ उठाउँदै यसलाई चिर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रममा वरिष्ठ हाँस्य कलाकार श्रीकृष्ण सिम्खडाले सामाजिक कार्यमा राजनीति गर्न नहुने बताउँदै प्रतिष्ठा बचाएर काम गर्न सुझाव दिनुभयो । उहाँले छोराछारीका लागि धन थुपार्ने प्रवृत्तिमा लाग्दा भ्रष्टाचार बढेको भन्दै सरल जीवनशैली अपनाए देशले चाँडै उन्नतिको शिखर चुम्ने बताउनुभयो । उहाँले अब सरसफाईमा ध्यान दिनुपर्ने र यसको सुरुवात सामुदायिक विद्यालयहरुको शौचालयबाट सुरु गर्नुपर्ने भन्दै मेयर चालिसेलाई यो अभियानमा साथ दिन आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य लालबहादर लामा, नेकपा जिल्ला सचिवालय सदस्य टी.आर. नेपाल, पत्रकार अमित लामा, नेकपा गोनपा अध्यक्ष उद्धब विष्ट लगायतका वक्ताहरुले आआफ्नो धारणा राखेका थिए ।
सभातिको आशनबाट सञ्जालका अध्यक्ष राजकुमार लामाले लामो समयदेखिको सामाजिक अभियानका क्रममा आइपरेका चुनौति र अबरोधहरुको कसरी सामना गर्नु परिरहेको दृष्टान्त पेश गर्दै राजनीतिक सौदावाजी आफूहरु एक्लो वृहस्पति बन्न पुगे पनि निरन्तर सामाजिक कार्यमा लागिरहने प्रतिबद्धता जनाउनुभयो ।
सामाजिक अभियन्ता राजेशकुमार सिजापतीले संचालन गरेको कार्यक्रमको सुरुमा स्वागत मन्तव्य व्यक्त गर्दै पत्रकार तथा सञ्जालका कार्यसमिति सदस्य यादब देवकोटाले पूर्वी क्षेत्रीय युवा तथा तथा खेलकूद सञ्जाल गठनको उद्देश्य र हालसम्म भएका उपलब्धि तथा संस्थाको लक्ष्य प्राप्तिमा भैरहेका अबरोधहरुका बारेमा जानकारी गराउनुभएको थियो ।
देवकोटाले आफ्नो मन्तव्यका क्रममा सामाजिक काममा तेरो र मेरो भन्ने परिपाटी अन्त्य नहुने हो भने राजनीतिकर्मीसंगै समाज पनि भास्सिने चेतावनी दिंदै अहिलेको कार्यशैलीलाई नसुधारे हामी अगाडि पुग्ने त कुरै छाडौं यथास्थितिमा पनि रहन नसक्ने र खाल्डोमा पर्ने थप चेतावनी दिनुभयो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकामा रहेका सार्वजनिक तथा पर्ती जग्गा संरक्षण गरी खेलमैदान सहितको पार्कहरु बनाउन निरन्तर दवाव सिर्जना गर्दैआएको सञ्जालले उठाएका विषयहरुलाई कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका नेता तथा अभियन्ताहरुले मुक्त कण्ठले प्रशंसा गर्दै सहयोगको प्रतिबद्धतना जनाएका थिए ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com