युगसम्बाद साप्ताहिक

प्रधानसेनापति र सशस्त्र प्रहरी महानिरीक्षकलाई ‘हल अफ फेम’
Tuesday, 10.22.2019, 01:26pm (GMT5.5)

काठमाडौं । नेपाली सेनाले तीन जना विशिष्ट व्यक्तित्वलाई ‘हल अफ फेम’ उपाधिबाट सम्मानित गरेको छ । नेपाली सेनाको आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरीमा सञ्चालित कमान्ड तालीम  पूरा गरी सुरक्षा निकायको उच्च नेतृत्वमा पुग्न सफल हुनुभएका व्यक्तित्वलाई पहिलो पटक सो उपाधिले सम्मानित  गरिएको हो ।
यसरी सम्मानित हुनुहुनेमा प्रधान सेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र  सोही बलका पूर्वमहानिरीक्षक शैलेन्द्र श्रेष्ठ हुनुहुन्छ ।  स्वदेशभित्र नै उच्च कमाण्ड तालीम पूरा गरी राष्ट्रका लागि उत्कृष्ट सेवा पु¥याउँदै सुरक्षा निकायको उच्च नेतृत्वमा पुग्न सफल व्यक्तित्वलाई ‘हल अफ फेम’बाट सम्मान गर्ने प्रचलन रहेको छ ।
आफ्नै स्टाफ कलेजबाट कमान्ड तालीम लिई प्रधानसेनापति पदमा पुग्नु सफल हुुनुभएका प्रधानसेनापति थापा पहिलो प्रधानसेनापति हुुनुहुन्छ । विशेष गरी सेनाभित्र ‘कमान्ड तालीम’लाई विशेष महत्वका रूपमा लिइन्छ । कमान्ड तालीम पूरा भएपछि मात्र वृत्ति विकासका थप ढोकाहरू खोलिने गर्दछ । 
पूर्व प्रधानसेनापति राजेन्द्र क्षत्रिले अमेरिकाबाट कमान्ड तालीम लिनुभएको थियो । शिवपुरीमा रहेको सो कमान्ड कलेज विश्वको उत्कृष्ट तालीम केन्द्रभित्र पर्दछ । सन् १९९२ मा स्थापना भएको सो कलेजमा हाल २६औँ व्याँजको कमान्ड तालीम जारी रहेको छ । कमान्ड तालीमका साथमा पछिल्लो सयम कलेजले  सेना, सुरक्षा र सामरिक महत्वका विषयमा अनुसन्धान तथा तालीम पनि सञ्चालन गर्र्दै आएको छ ।  
साथै सोही कलेजबाट कमान्ड तालीम लिई सशस्त्र प्रहरी बलको महानिरीक्षक पदमा  खनाल र श्रेष्ठले पुग्नुभएको छ । महानिरीक्षक खनाल र पूर्वमहानिरीक्षक श्रेष्ठले आफ्नो सेवा नेपाली सेनाको सेकेन्ड लेफ्निटेन्टबाट शुरुआत गरीपछि  सशस्त्र प्रहरी बलमा जानुभएको थियो ।
प्रधानसेनापति थापा र पूर्वमहानिरीक्षक श्रेष्ठले सो कलेजको चौथो व्याँच तथा महानिरीक्षक खनालले १३आँै व्याँचमा कमान्ड तालीम पूरा गर्नुभएको थियो । कलेजद्वारा आज शिवपुरीमा आयोजित कार्यक्रमका ती विशिष्ट व्यक्तित्वलाई कलेजका शिक्षाध्यक्ष एवं उपरथी ईश्वर हमालले सो सम्मान तथा कलेजबाट प्रदान गरिने प्रमाणपत्र समेत प्रदान गर्नुभयो । 
सो अवसरमा प्रधानसेनापति थापाले आगामी दिनमा आर्मी कमान्ड एन्ड स्टाफ कलेजको तालीमलाई समयानुकूल बनाउँदै जाने जानकारी दिँदै आफूले कलेजबाट तत्कालीन समयमा तालीम लिने अवसर पाएकोमा खुसी व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले कलेज परिसरमा स्थापना गरिएको तालीमे सैनिकको मूर्ती अनावरण समेत गर्नुभएको थियो ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक खनाल र पूर्वमहानिरीक्षक श्रेष्ठले आफ्नो जीवनमा व्यावसायिक र दक्ष सुरक्षाकर्मी बनाउन तालीमले कोशेढुङ्गाको रूपमा काम गरेको स्मरण गर्दै सिकेका सीप देशका लागि उपयोग भएको बताउनुभयो । शिक्षाध्यक्ष हमालले कलेजको गतिविधिका बारेमा जानकारी दिँदै विशिष्ट व्यक्तित्वलाई हल अफ फेमबाट सम्मानित गर्नु कलेजका लागि गौरवको विषय रहेको बताउनुभएको थियो ।
कार्यक्रममा रक्षा सचिव रेश्मीराज पाण्डे, नेपाली सेना र सशस्त्र प्रहरी बलका उच्च नेतृत्वको सहभागीता रहेको थियो ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com