सुप्रसिद्ध आख्यानकार डा. धु्रवचन्द्र गौतमलाई बिहिवार अमेरिकाको बोस्टनमा सम्मान गरिएको छ । नेपालबाट केही दिन अघि अमेरिका आउनुभएका साहित्यकार डा. गौतमलाई साहित्यकार भारती गौतमको संयोजकत्वमा आयोजित समारोहमा ग्रेटर वोस्टन नेपलिज कम्युनिटी, अन्तर्राीष्ट्रय नेपाली साहित्य समाज, न्युइंगल्याण्ड च्याप्टर, हिमालयन लायन्स क्लव, न्युइंगल्याड च्याप्टर र सिर्जना उत्सवले सामूहिक रुपमा सम्मान व्यक्त गरेको हो ।
सम्मानपछि संक्षिप्त मन्तव्य व्यक्त गर्दै डा. गौतमले यो सम्मानले आफू एकदमै प्रफुल्लित भएको जनाउँदै अहिलेको लेखन पहिलेको जस्तो नभएर बदलिएको समयसंग साक्षात्कार गरेर लेखिने गरेको बताउनुभयो । उहाँले नयाँ किसिमले लेखिनु नै उत्तर आधुनिक साहित्य हो भन्दै हामीले हाम्रो साहित्य र लेखनलाई हीन भावना पाल्न नहुने पनि बताउनुभयो ।
त्यस क्रममा डा. गौतमले नेपाली भाषाको आफ्नै महत्व छ भन्दै यस भूमिमा आएर पनि पीडा, आँसु र हाँसोका राम्रा राम्रा कविता सुन्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
यस अघि साहित्यकार शिवप्रकाशले डा. गौतमको व्यक्तित्व र कृतित्वका बारेमा प्रकाश पार्दै उहाँलाई वोस्टनवासीका तर्फबाट आख्याननिधिका रुपमा प्रस्तुत गरिएको जानकारी दिनुभयो । उहाँले डा. गौतमलाई अमेरिकन लेखिका डेनियल स्टिलसंग तुलना गर्र्र्दै २३ वटा उपन्यासका उपन्यासकारलाई यहाँ सम्मान गर्न पाउनु खुसीको कुरा हो भन्नुभयो ।
जीवीएनसीका अध्यक्ष मिलन गुरुंगको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा डा. शिव गौतम, लालगोपाल सुवेदी, हरिप्रसाद काफ्ले, शिव प्रकाश, महेश्वर पन्त, गोवर्धन पूजा, कृष्णराज खनाल, हरिबहादुर थापा, सुरेश वाग्ले, दीपा राई, अनु शाह, दिनेश राजभण्डारी र गौरव थपलियाले आआफ्नो रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा हिमालयन लायन्स क्लवका अध्यक्ष विष्णु कार्कीले साहित्यसाधकलाई यहाँ सम्मान गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो भने आइएनएलएस का अध्यक्षा डा. उषा शर्माले धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा डा. गौतमलाई सिर्जना उत्सवका तर्फबाट एक सय डलर पुरस्कार पनि प्रदान गरिएको थियो ।
संयोजक भारती गौतमले स्वागत मन्तव्य व्यक्त गर्र्दै उहाँलाई यो ठाउँमा ल्याएर सम्मान व्यक्त गर्न पाउँदा वोस्टनवासी खुसी भएका छन् भन्नुभयो । कार्यक्रम सञ्चालन आइएनएलएसका उपाध्यक्ष कवि हरि काफ्लेले गर्नुभएको थियो ।